छोरी, नियति र पारिजात 

लिला निशा
ओहायो,अमेरिका

छोरी !
सुन्दैछु,
अचेल तिमी
सङ्कुचित मानसिकताको
च्याम्बरभित्र
गुम्सिएर
कमलपित्ते भएकी छौ रे।
त्यहाँ तिम्रा
हरेक इच्छा/लक्ष्यहरूलाई
टुसाउन नपाउँदै
कुल्चिदिन्छन् रे
तिम्रो कलिला मस्तिष्कमा
आफ्नै विचारका
बार बारिदिन्छन् रे
अनि आफूलाई विश्वकै
असल नागरिक ठान्छन् रे
अनि तिमी
मेरो नियति नै भनेर
आफ्नै भाग्यलाई कोस्दै
आफूलाई निरीह ठानी
दिनरात सुक्सुकाउँछौ रे !
छोरी ,
रुनु तिम्रो नियति होइन  !
यी बेमौसमी वर्षातका खहरेलाई
किन उराल्छौ
स्वयम्भूको आँखाबाट
बरु,
रोकिदेऊ
थुनिदेऊ
धैर्य र साहसका बाँधहरूले।
उठाऊ तिम्रा पाइलाहरू
सुकीको गोरेटोमा
पक्कै
ती गोरेटोहरू
बाङ्गाटिङ्गा होलान्
कंकड़, गेगर
बिछ्याएका होलान्।
हिँड तिमी
आत्मविश्वासका
पर्खालहरू ठड्याएर।
मग्मगाऊ विश्वमा
पारिजात भएर।

Leave a Reply

Your email address will not be published. Required fields are marked *