जापान सरकारको नाममा
एक्जायड भूट्नीज
बेलडाँगी
म हिरोसिमा हुँ मेरो देशको
म नागासाकी हुँ मेरो देशको
म कसरी भुल्न सक्छु
दागोहरुलाई !
विगत सम्झना नगरी
कुनै कु’मानवलाई अवार्ड दिन सकिन्छ
निहत्था जनताका लास मातिबाट गुज्रिरहेको
कुनै रक्तपिपासुलाई सम्मान गर्न सकिन्छ
भने
अवैध वीर्य लतपतिएका
रक्तमुछेल महिलाका क्षतविक्षत यौनाङ्ग हरूले
सायदै महत्त्व राख्लान्
बमले उडाएका
बालबच्चाका कलिला मुटुहरू
तिम्रो मनस्पटलमा सायदै आएका होलान्
अनि, धुवाँसँगै बिलाइगएका मानव क्रन्दनहरू
तिमीलाई कति अर्थहीन लाग्ला, हगि ?
तर
जसले आदेश दिएको थियो
‘फ्याट मेन’ खसाल्न, त्यसलाई
कुनै दिन यसरी नै अवार्ड बाड्यौ भने
जसले खसालेको थियो ‘लिटिल ब्वई’, त्यसलाई
यसरी नै कदर पत्र थमायौ भने
तिम्रो देशको हिरोसिमाले
स्वीकृतिको भावमा टाउको हल्लाई देला ?
तिम्रो देशको नागासाकीले यसमा
सहमतिको ल्याप्चे लगाउन सक्ला ?
सरकार, मलाई माफ गर !
तिमीलाई बेस्कन सम्झाइरहेको छु
पुरै मानव सभ्यता लज्जित हुनु परेको त्यो दिन,
किन कि
म हिरोसिमा हुँ मेरो देशको
म नागासाकी हुँ मेरो देशको
म
तिम्रो हिरो, तिम्रो ल्यम्पो
तिम्रो दागोहरुले बमबाडी गरेको बर्षौ पछि पनि
एउटा स्वच्छ हावामा श्वास लिने सपना देखिरहेको छु ||