जिउँदै मृत्यु जितेका कवि
भक्त घिमिरे
पेन्सिलभेनिया, अमेरिका
मृत्युचेतनाका अग्रदूत कवि घिमिरे
मृत्युका कुरामा उनी रमाउने घटनाहरुमध्ये एउटा नमूना यहाँ प्रस्तुत गर्ने अनुमति मागें । सन् २०१७ को मई २८ तारिख, आइतवार उता नेपालमा २०७४ जेठ १४ गतेको राति थियो, यता अमेरिकातिर दिन । फेसबुक र अन्य केही सामाजिक सञ्जालहरुमा छ्याप-छ्याप्ति प्रचार फैलियो, “कवि माधव घिमिरेको निधन”, र “श्रद्धाञ्जली !” यतिसम्म कि नेपालका तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिले समेत कविवर घिमिरेलाई श्रद्धाञ्जली दिए । तर, उता जीवितै रहेका कवि स्वयं भने त्यो हल्लाबारे बेखबर रहेछन् । सोमवार बिहान उठेपछि मात्र घिमिरेले त्यो हल्लाको जानकारी पाएछन् । सोमवार बिहानैदेखि अवस्था बुझ्न लैनचौरस्थित उनको निवासमा शुभचिन्तकहरुको घुइँचो लाग्यो । घिमिरेले शुभचिन्तकहरूसँग भलाकुसारी गर्दै आफ्नो मृत्युको हल्लामा दुःखी नभएर आफू रमाएको अभिव्यक्ति दिएका थिए ।
विसं १९७६ असोज ७ गतेका दिन लम्जुङको पुस्तुनमा जन्मिएर, बढेर, पढेर, पढाएर, लेखेर संसारका सबै नेपालीहरुको मनमा भिजेका तोपप्रसाद घिमिरे संसारबाट विदा लिएर गएको आज ठ्याक्क तेह्रौं तिथि । संस्कारको हिसाबले विदाइको अन्तिम दिन ! तर, मेरो मन-मस्तिष्कमा उनी अहिले पनि खेलिरहेकै छन् । मन्त्रमुग्ध भएर म उनलाई सुनिरहेकै छु ।
आश्चर्य नमान्नु होला ! म सबै नेपालीका मनमा बसेका कवि तथा गीतकार माधवप्रसाद घिमिरेलाई तोपप्रसाद भनेर सम्बोधन गरिरहेको छु । विसं २०७४ फाल्गुनमा उनले पाएको मानार्थ सहायक रथीको सैनिक उपाधिलाई जोडेर मैले सैनिक र तोपको समायोजन गराउन खोजेको होइन । त्यो उपाधि उनका लागि कतिको सुहाउँदिलो दर्जा थियो मलाई थाहा छैन; तर, उनको तोपप्रसाद नाम र बुढेसकालमा पाएको सैनिक दर्जाको संयोगले मलाई एकचोटि मनमनै बेस्सरी हँसाएको चाहिं पक्कै थियो । विसं २०७४, फाल्गुन २ मा राष्ट्रपति विद्यादेवी भण्डारीले कविराजलाई सो सैन्य दर्जाले सुशोभित गरेकी थिइन् ! त्यतिबेला कोमल कविलाई खरो सेना चाहिएको थियो कि खरो सेनालाई कोमल कवि चाहिएको भनेर लेखन्तेहरुमा निक्कै बहस पनि चलेको थियो ।
कुरो जे होस्, यहाँ नामको मात्र प्रसंग छ । हो, उनको न्वारनको नाम तोपप्रसाद नै थियो । पछि उनकै गाउँका एकजना संस्कृत जान्ने तर पण्डित बन्न बाँकी; पुण्यशील घिमिरे नाम गरेका मान्छेले उपहार दिएको नाम थियो माधवप्रसाद । कविराजको बाल्यकालीन कथा अनुसार उनको बोलाउने नाम सेतु थियो । एक बिहान पूण्य घिमिरे आए र सेतुले पढिरहेको एउटा किताब मागे ! त्यसको खोलमा सुन्दर अक्षरले लेखिदिए-माधव प्रसाद । यही नामलाई कविराजले दोस्रो न्वारनका रूपमा लिए र सधैं यही नामको औपचारिक पहिचान बनाएर अघि बढे ।
सरस, सरल, सुललित, मर्मभेदी कविता, काव्य, गीत लेखेर सबै नेपालीका हृदयमा बस्न पुगेका कविको चेतनामा एकोहोरो उमंग र रुमानी कल्पनामात्र थिएन- जीवनदर्शन पनि थियो । उनी बेलाबेलै भन्थे-“विरह पनि जीवनको सुन्दर पक्ष हो । सुखै सुख भएर पनि मानिसलाई पुग्दैन । विरह पनि चाहिन्छ ।” उनको यही चेतनाका कारण उनलाई जिउँदै मृत्यु जितेका कवि भनेर विशेषणको उपमा दिइएको छ ।
हो, म भनिरहेको छु उनले जीवितै मृत्युलाई जितेका थिए । किनभने मृत्युको परिकल्पनामा उनी रमाउँथे । मृत्युकै झझल्कोमा उनी कविता र गीती रचना गर्दथे ।
मृत्युका कुरामा उनी रमाउने घटनाहरुमध्ये एउटा नमूना यहाँ प्रस्तुत गर्ने अनुमति मागें । सन् २०१७ को मई २८ तारिख, आइतवार उता नेपालमा २०७४ जेठ १४ गतेको राति थियो, यता अमेरिकातिर दिन । फेसबुक र अन्य केही सामाजिक सञ्जालहरुमा छ्याप-छ्याप्ति प्रचार फैलियो, “कवि माधव घिमिरेको निधन”, र “श्रद्धाञ्जली !” यतिसम्म कि नेपालका तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिले समेत कविवर घिमिरेलाई श्रद्धाञ्जली दिए । तर, उता जीवितै रहेका कवि स्वयं भने त्यो हल्लाबारे बेखबर रहेछन् । सोमवार बिहान उठेपछि मात्र घिमिरेले त्यो हल्लाको जानकारी पाएछन् । सोमवार बिहानैदेखि अवस्था बुझ्न लैनचौरस्थित उनको निवासमा शुभचिन्तकहरुको घुइँचो लाग्यो । घिमिरेले शुभचिन्तकहरूसँग भलाकुसारी गर्दै आफ्नो मृत्युको हल्लामा दुःखी नभएर आफू रमाएको अभिव्यक्ति दिएका थिए ।
“आम नेपालीहरूले मप्रति कस्तो सद्भाव राख्दा रहेछन् भन्ने कुरा नजिकबाट नियाल्न पाएँ; यो सुखद घटना हो ।” आफ्नै मृत्युको समाचार सुनिरहेका जीवित कविको भनाइ थियो यो !
जीवनका अनेकन अवयव र प्रबल दार्शनिक चेतनाका धनी कवि घिमिरेलाई मृत्यु खुबै मन परेको त कसरी भनौं तर, चिन्तितचाहिं बनाउन्न’थ्यो भन्नैपर्छ । सानै उमेरमा ‘फूलको थुँगा बहेर गयो, गंगाको पानीमा…’ बोलको गीत लेखेका कविले एक दिन श्रीमतीले- आफैं मरेको सपना देखें- भनेर सुनाएपछि अर्को कालजयी गीत लेखेका थिए । नारायण गोपालको स्वर तथा नातिकाजीको संगीतमा बज्ने उनको त्यो गीतमा घिमिरेका शब्दहारहरु यस्ता थिए-
“आजै र राती
के देखें सपना ?
मै मरी गएको, मै मरी गएको
बतास बिना हाँगाको फूल
भुइँ झरी गएको, भुइँ झरी गएको,
मर्स्याङ्दी नदी नरमाईलो सुसाइरहेको (२)
कहाँ, हो, कहाँ बादल भित्र
म रोइरहेको, म रोइरहेको … !”
नेपाली भाषा बुझ्ने, बोल्ने र नेपाली संस्कृतिसित सम्बन्ध जोडिएका कोही पनि यो गीत सुन्न शायदै बाँकी होलान् !
अझ उनले ‘मेरो मृत्युपछि मात्र सार्वजनिक गर्नु है’ भनी छोडेको गीतका हरफहरुले त उनलाई युवाकालमै मृत्युसित साक्षात्कार भएका कविका रुपमा चिनाउँछन् ।
“…सुन्दर सृष्टि निहारी, सुखैले चिम्लुँ नयन
बिहानीपख रातको, कुसुम पारिजातको
जसरी जान्छ झरेर, भूईँमा बिना पवन
त्यसरी होस् मरण …”
कविजीका शब्द, आशीष अविरलको संगीत र गायक कर्णदासको स्वरसंगममा रहेको भर्खरै सार्वजनिक गीतका पंक्ति हुन् यी ।
अहिले कविवरको निधनसँगै सार्वजनिक भएको यो गीत आजभन्दा ६१ वर्ष अघि लेखिएको थियो, जतिबेला कविवर केवल ४१ वर्षका थिए । पारिजातको फूलझैं ठूलो हावाको झोंकाबिनै झरेर जावस् यो जीवन, मर्नेबेला कुनै दुःख, कष्ट सहन नपरोस् भन्ने परिकल्पनाको यस्तो गीत त्यसबेला केले लेखायो होला उनलाई ?
गीत नै मृत्युपश्चात बाहिर आएकोले उनलाई त्यो गीतबारे सोध्ने अवसर हामीले पाएनौं । तर, अनुमान अहिले पनि गर्न सकिन्छ; केही लेखकहरुले इमानदारीपूर्वक अनुमान गरिसकेका पनि छन् कि ‘महाकवि लक्ष्मीप्रसाद देवकोटाको कष्टप्रद मृत्युले नै कविवर घिमिरेलाई यो गीती कविता लेख्न उत्प्रेरित गरेको थियो ।’
कविराज घिमिरेले विसं २०१६ असोज २१ गते यो गीतको सृजना गरेका थिए भने त्यसको ठ्याक्क २४ दिन पहिले मात्र महाकविको दर्दनाक निधन भएको थियो । देवकोटाले आफू उपाचारार्थ भर्ना भएको शान्तभवन (अहिलेको पाटन अस्पताल) मा रहँदा हेर्न आउने शुभचिन्तकहरुसित २ रुपियाँको पोटासियम साइनाड ल्याइदिन आग्रह गरेको घटनाले मर्माहत भएर कवि घिमिरेले यो भावुक गीत लेखेका भन्ने अनुमान थुप्रैले गरेका छन् । आफूभन्दा १० वर्षले ठूला महाकविको यो गतिको मरणले भावविह्वल बनेका कवि घिमिरे त्यस दौरान भर्खरै ४० पुगेर ४१ मा टेक्तै थिए । त्योबेलाको समय, नेपालीहरुको औसत आयु ३५/४० कै हाराहारी भएको यथार्थले पनि ४१ वर्ष लागेका कवि घिमिरेलाई मृत्युसंवेदनाले घच्घचाएको हुनसक्छ ।
विसं २०७७ भदौ १५, सोमबारको हिमाल खबर-पत्रिकामा ‘मृत्यु नचिनी जीवन चिनिन्छ र ? शीर्षकीय लेखमार्फत केदार शर्मा लेख्छन्, “…. केही दिनअघि मात्र, अर्थात् २९ भदौमा महाकवि देवकोटाको निधनले उहाँभित्रको मृत्युचेत जगाएको थियो । आफूभन्दा १० वर्ष मात्र जेठा र साह्रै मानेका महाकविले दुखाइ सहन नसकेर सायोनाइड (पोटासियम साइनाड) मागेको सुनेर नै उहाँले (घिमिरेले) ‘मुटुमा चोट नपरी टुटेर जाओस् बन्धन’ भन्नुभएको हुनुपर्छ ।”
कविराज घिमिरेका बारम्बार मृत्यु सम्झाउने शब्दहरुमा म बेलाबेला घोरिँदै सोच्ने गर्छु-यस्तो उच्छवासमा रमाएर मृत्युलाई सहजरुपमा लिने, विरहलाई पनि उपयोगी जीवनानुभूतिकै रूपमा लिनुपर्छ भनेर ज्ञान बाँड्ने शक्तिचेत समाजको आमचेतनामा सिञ्चित भइदिए कस्तो शान्ति र आनन्द हुन्थ्यो होला !
यद्यपि, कविराज घिमिरेको जीवनकालका अन्तिम चरणसम्म आउँदा एउटा कुरामा म औधि हर्षित बनिरहेको छु । किनकि बारम्बार मृत्युचेतका कुरा उठाइरहँदा पनि महाकवि देवकोटालाई झैं आम-नेपालीहरुले उनलाई ‘पागल’ उपना दिन भ्याएनन् ।
हामी अघिको सिंगो युग हाँक्ने कवि घिमिरेको स्मरण गर्दा म घरी घरी लैनचौरस्थित अलकाबस्तीको उनकै निवासमा पुगिरहन्छु ।
सन् २००२- जुलाई महिनाको शुरुवाती समय । तापक्रम बढेर गुम्सिहेको काठमाडौं शहर ! लाजिमपथबाट अलिकति कुइनेटो घुमेपछि कपूरधारामार्गस्थित भारतीय राजदुतावासको छेउबाट गए अथवा अर्कोतर्फ लैनचौर मार्गस्थि बेलायती राजदूतावासको छेउबाट गए पनि पुगिने अलकाबस्ती मार्गमा रहेको कविकुञ्ज उनको निवास ! म एउटा थोत्रे साइकल हल्लाउँदै कविराजको साक्षात्कारमा पुगेको थिएँ । बेतको हल्लिने मेचमा बसेका ८३ वर्षका ‘लक्का जवान’ कविले हँसिलो मुद्रामा मलाई स्वागत गरे ।
त्यसपछि कुराकानीको प्रारम्भमा सबैभन्दा पहिले उनले मलाई घिमिरे वंशको इतिवृत्त नै सोधिदिए जसको उत्तर मसित थिँदै थिएन । मबाट कुनै उत्तर नपाएपछि विस्तारै उनले नै घिमिरे वंशको इतिहास खोल्न थाले ।
इतिहासको बुनोट अनुसार आजभन्दा करीब सात/आठ सय वर्षअघि, गंगा किनारतिर अवस्थित उज्जैन नाम गरेको देशबाट एउटा पुरोहित परिवार वर्तमान नेपालमा गुल्मीको घामिर भन्ने ठाउँमा आएर बस्यो । तत्कालीन राज्यव्यव्था अनुसार घामिरमा पुरोहितलाई वंशबिर्ता प्रदान गरिएको थियो । घामिरमा दुइसय वर्षभन्दा बढी बिताएपछि त्यो पुरोहितवंशका केही सदस्यहरु वर्तमान रुकुमको मुसीकोटतिर बसाईं सरे । मुसीकोटेहरुले त्यसरी बसाईं सर्नेहरुलाई घामिरबाट आएका भन्ने बुझाउन ‘घामिरे’ नाम दिएका थिए । पछि यो शब्दसम्बोधन अपभ्रंश हुँदै हाम्रा पुर्खाहरु घिमिरे भए । घिमिरे बन्नभन्दा पहिले हाम्रो पुर्खालाई ‘व्यासा’ भनिन्थ्यो; व्यासा भनेको व्यासमा बसेर शास्त्रार्थ गर्न जान्ने/सक्ने व्यक्ति ! राजा विक्रमादित्यको दरवारमा पुरोत्याइँ/शास्त्रार्थ गर्ने हुनाले उनीहरुले ‘व्यास’ वा ‘व्यासा’ नाम पाएका थिए रे ! अहिले व्यासाका सन्तान पुस्ताहरु भारतबाहेक कतै छन्-छैनन् कसैलाई जानकारी छैन ।
आफ्नो वंशले घिमिरे उपनाम पाईकन घामिरबाट फेरि गजाधर घिमिरेको परिवार लम्जुङको पुस्तुनमा आएर बस्यो । त्यसपछि क्रमशः उनका छोरा, नातिहरुको एउटा वंश गोर्खाको मकैसिङमा अड्डा जमाइबस्यो भने अर्को डोल्पाको नाम्दुमा पुग्यो । अझ अर्को भोजपुरको प्वाँला भन्ने ठाउँमा पुगेर अडियो । यही कारण पूर्वका घिमिरेहरु अहिले पनि आफ्नो वंश चिन्न ‘तिमी नाम्दुले कि प्वाँले’ भनेर सोध्छन् ! यसरी नै घिमिरेहरु नेपालका पूर्वी भेग, सिक्किम, भारत हुँदै बर्मासम्म पुगे । यति भनिसकेर लामो स्वास तान्दै कविजीले फेरि उद्गार पोखे,“तर, मचाहिं कुवाको ब्याङझैं पुस्तुनमै टाक्सिएको घिमिरेको सन्तान हुँ !” त्यसपछि फिस्स मुस्काउँदै कविराजले आफ्ना साना साना लाम्चा आँखाहरु मतिर केन्द्रिभूत गराए !
उनको लगातारको बयानमा एकुन्द्रो मार्नलाई मैले भनें, ‘म पनि तिनै घामिरबाट लम्जुङ आएका गजाधर घिमिरेको दशौं पुस्ता हुँ ।’ उनले प्रत्युत्तरमा भने,‘ए, मचाहिं नवौं पुस्तामा छु, त्यसो हुँदा काका-भतिजाको साइनु राखे काइदा पर्ने भो !’ यति भनेर मज्जाले खित्का छोडेर हाँसे उनी !
बोल्नलाई अलिकति शब्दको छेस्को पाए घण्टौंसम्म रमाइला कुरा गर्न रुचाउने कविजीका लागि म कतिको उपयोगी पात्र थिएँ-सोध्न र बुझ्न त पाइएन नै । तर, एकाग्र चित्तले सुन्नका लागि भने म योग्य नै थिएँ । उनलाई बेलाबेला बोल्नलाई हौस्याउँदै विषयबाट पोखिँदा प्रसंगमा तान्न म पनि ‘माहिर’ नै रहेछु; उनले यसै भनेर मेरो प्रसंशा गरिरहन्थे ।
घण्टौं कुरा भइसकता पनि घिमिरेको इतिहास सकिएन । घरकै को को आएर खाना खाने आग्रह गरेपछि भान्सामा गइयो । खाने, सुत्ने, पढ्ने, संगत गर्ने, सिर्जना गर्ने सबै विषयमा कुनै न कुनै उपयोगी ज्ञानका कुरा ठ्याक्क पस्किहाल्ने बानी परेका कविजीले उल्लासित मुस्कानको छटामा एउटा जटिल कुरा सोध्न लागे; उनको प्रश्न अव्यक्त छँदै मैले लक्षण बुझें र ड्याम्मै भन्दिएँ, “संस्कारको आधारमा तपाईं घिउ पोल्ने घिमिरे मचाहिं घिउ खानेमात्र परें !” अरु कसैले बुझेनन् तर, उनले चट्ट कुरो बुझिहाले ! रमितै हाँसो भो; “त्यही प्रश्न सोध्न लाग्या भनेर कसरी चाहिं ठ्याक्क उत्तर वर्षिएको ?”, मेरो प्रसंशा गर्दै आश्चर्यचकित मुद्रामा उनले प्रतिप्रश्न राखे । फेरि हाँसोको फोहोरा छुट्यो, मैले उत्तर दिनै परेन !
श्रष्टा-जगतमा कवि घिमिरे
कृतिशेष घिमिरेले ‘ऋतम्भरा’ महाकाव्य आफ्नो जीवनको अन्तिम कृतिका रूपमा हामीलाई उपहार दिएर गएका छन् । यो महाकाव्य बजारमा आएपछि घिमिरे नेपाली साहित्यका अर्का महाकविका रूपमा दर्तिने छन् । यसै पनि कविराज घिमिरे महाकवि देवकोटापछिका विशिष्ट खण्डकाव्यकार थिए । ‘पापिनी आमा’, ‘नयाँ नेपाल’, ‘गौरी’, ‘राज-राजेश्वरी’, ‘राष्ट्रनिर्माता’, ‘धर्तीमाता’, ‘गौंथली र गजधम्मे’, ‘बोराको परदा’ र ‘इन्द्रकुमारी’ जस्ता उनका शास्त्रीय र लोकछन्दमा रचित नौवटा खण्डकाव्यहरुमध्ये पत्नीशोकमा रचित ‘गौरी’ सर्वाधिक लोकप्रिय छ । ऐतिहासिक पृष्ठभूमिका ‘…राजेश्वरी’ र ‘राष्ट्रनिर्माता’ले मानवीय मूल्य र जीवनबोध तथा नेपाली राष्ट्रिय अखण्डताको मूल्यबोधलाई शैलीबद्ध प्रस्तुत गरेका छन् । समालोचकहरुले उनलाई ‘परिष्कारवादी’ भावधाराका कवि भने पनि घिमिरेको गीतकार व्यक्तित्व नै सर्वाधिक लोकप्रिय र सर्वोपरी छ ।
लेखनको शुरुवातदेखि नै प्रकृति, समाज, नेपाली संस्कृति र मानवीय संवेदनालाई सहज, सरल शब्दशैलीमा उनेर प्रस्तुत गर्ने कलामा घिमिरेको अग्र भूमिका रह्यो । नेपाली लोकलयलाई साहित्यिक उचाइ प्रदान गर्ने कार्यको प्रारम्भ मुनामदनमार्फत् महाकवि देवकोटाले गरेका थिए । तर, कवि घिमिरेले त्यसलाई सूक्ष्म र व्यापक दुवै ध्रुवीय चेतनाबाट उच्चता प्रदान गरे । त्यसैले घिमिरेका कविता र गीतहरु सबै नेपालीका धुक्धुकीमा बस्न सफल भएका हुन् ।
मञ्चमा उभिएपछि एउटै कविताका हजार व्याख्या गरे पनि सधैं नवीनता बुझाउन सक्ने खूबी उनमा विद्यमान थियो । अति मधुर, मुलायम शैलीमा भाषण गर्ने क्षमता बोकेका घिमिरे मञ्चमा उभिएपछि घण्टौं कटेको स्रोताहरुले पत्तै नपाउने । उनले भूपि शेरचनले झैं गद्यशैलीमा कविता लेखेनन् । सधैं लोकलय र छन्द लेखनमै उनी रमाइरहे । तर, ‘चारुचर्चा’ र ‘ आफ्नो बाँसुरी आफ्नै गीत’ जस्ता सङ्ग्रहले उनलाई निवन्धलेखनको चातुर्यशिखरमा पनि नचढाएका होइनन् ।
घिमिरे महान् गीति-नाटककार पनि हुन् । नेपाली गीतिनाटक लेखन र प्रदर्शनमा घिमिरेको सर्वोपरी स्थानलाई छोटो समयमा कसैले उछिन्ला भन्ने लाग्दैन । ‘शकुन्तला’, ‘विषकन्या’, ‘मालती मंगले’, ‘हिमालपारि हिमालवारि’, ‘अश्वत्थामा’, ‘देउकी’, ‘बालकुमारी’, उनका सातवटा गीतिनाटक प्रकाशित छन् । प्रदर्शनको कीर्तिमान कायम गरेको मालती मंगले म अकिञ्चनले पनि हेर्न भ्याएको छु ।
त्यसबाहेक बालसाहित्यमा पनि घिमिरेको भूमिका विशिष्ट थियो । ‘घामपानी’, ‘बाला-लहरी’, ‘सुन-पंखचरी’ र ‘बिजुले-बिजुला’-लगायतका बालकविता गीत-संग्रहमा उनका अतिप्रिय बालसामग्री संकलित छन् । बालरुचि, स्तर र मनोभावलाई समेट्न सिपालु कविका बालसुलभ रचनाहरुले कीर्तिमानी उच्चता कायम गरेका छन् ।
नेपाली कविता, गीत, गीतिनाटक, निवन्ध र बालसाहित्यमा कीर्तिमान कायम गरेका कवि घिमिरेको नेपाली काव्यजगतप्रति अतुलनीय योगदानको मूल्यांकन गरी विसं २०६० मा राष्ट्रिय तहमा उनलाई अभिनन्दन गरियो । राष्ट्रकविको उपाधि उनलाई प्रदान गरियो ।
कविराज घिमिरेले विसं २०१६ असोज २१ गते यो गीतको सृजना गरेका थिए भने त्यसको ठ्याक्क २४ दिन पहिले मात्र महाकविको दर्दनाक निधन भएको थियो । देवकोटाले आफू उपाचारार्थ भर्ना भएको शान्तभवन (अहिलेको पाटन अस्पताल) मा रहँदा हेर्न आउने शुभचिन्तकहरुसित २ रुपियाँको पोटासियम साइनाड ल्याइदिन आग्रह गरेको घटनाले मर्माहत भएर कवि घिमिरेले यो भावुक गीत लेखेका भन्ने अनुमान थुप्रैले गरेका छन् । आफूभन्दा १० वर्षले ठूला महाकविको यो गतिको मरणले भावविह्वल बनेका कवि घिमिरे त्यस दौरान भर्खरै ४० पुगेर ४१ मा टेक्तै थिए । त्योबेलाको समय, नेपालीहरुको औसत आयु ३५/४० कै हाराहारी भएको यथार्थले पनि ४१ वर्ष लागेका कवि घिमिरेलाई मृत्युसंवेदनाले घच्घचाएको हुनसक्छ ।
वास्तवमा कवि घिमिरेलाई यो उपाधि दिलाउन नरेन्द्रराज प्रसाई, इन्दिरा प्रसाईजस्ता नइ प्रकाशनका हस्तीहरु अग्रसर भएका थिए । कुरा कस्तो भएको थियो भने विसं २०५२ साल माघ १५ गते नइ प्रकाशनको उदघाटन कवि घिमिरेद्वारा गराइएको थियो । त्यही बेला नइका प्रमुख नरेन्द्रराज प्रसाई र कवि घिमिरेबीचमा यो सम्मान-उपाधिबारे आंसिक चर्चा शुरु भएको थियो । शुरुमा कवि घिमिरेको इच्छाचाहिं ‘कवि शिरोमणि’ पाउने नै थियो भनेर नइका प्रमुख नरेन्द्रराज प्रसाईले स्वीकारोक्ति व्यक्त गरेका छन् । “त्यही क्रममा मैले व्यथित र घिमिरेलाई भनेको थिएँ ‘हामी राजालाई जाहेर गरेर पनि राजकीय स्तरबाट तपाईहरूलाई राजकवि र राष्ट्रकवि घोषणा गराउछौं”, कात्तिक २, २०७५ को रातोपाटी अनलाइन अंकमा प्रकाशित नरेन्द्रराज प्रसाईको लेखमा उल्लेख छ,“माधव घिमिरेले हामीमाझ आफ्नो मन खोलेका थिए— ‘मलाई मन परेको उपाधि चाहिं कविशिरोमणि हो । ‘न’को साथमा ‘इ’ छ । ‘न’ले जाहेर गरेपछि फेल खाँदैन । तपाईं भनेको चमत्कारी पुरुष हो ।’ इन्दिरा र मेरा वीच सल्लाह भयो— लेखनाथ पौड्यालको उपाधि नै किन फेरि प्रयोग गर्ने ! ‘कविशिरोमणि’को उपाधि लेखनाथ पौड्यालकै नाउँमा रहोस् । माधव घिमिरेलाई ‘राष्ट्रकवि’को उपाधि नै दिलाउनु पर्छ ।”
यसरी एकान-दोकान कुरा शुरु भइसकेपछि लेखक तथा नेपाली साहित्यको अनुसन्धाताका रूपमा परिचित नरेन्द्रराज प्रसाईले यो कुरालाई दर्बिलो ढंगले अघि बढाउने अठोट लिएछन् । विसं २०५४ मा सूर्यबहादुर थापा प्रधानमन्त्री भएको अवसर पारेर साहित्यमा चासो राख्ने सूर्यबहादुरका भाइ नगेन्द्र थापासित सम्पर्क साधी प्रसाईले प्रधानमन्त्री थापासमक्ष प्रस्तावको रूपमा सो कुरा राखेछन् । त्यसबेला माओवादी आन्दोलन र अन्य सातदलद्वारा सञ्चालित विभिन्न राजनीतिक अभियानहरु व्यापक तहमा थिए । सूर्यबहादुर थापाको प्रधानमन्त्रित्व धेरै टिक्न सकेन । पछि २०६० मा राजा ज्ञानेन्द्रले संसदीय व्यवस्थालाई खारेज गर्दै आफूले कार्यकारी अधिकारसहितको सरकार बनाए र सूर्यबहादुर थापालाई नै प्रधानमन्त्री नियुक्त गरे । नरेन्द्रराज प्रसाईले यो अवसर गुमाएनन्; फेरि पनि थापासमक्ष प्रस्ताव लगे र कवि घिमिरेलाई ‘राष्ट्रकवि’ उपाधि दिलाउने सिफारिश गराए । त्यसबेला अर्का कविलाई पनि यस्तै सम्मानको उपाधि प्रदान गरिएको थियो । कवि केदारमान व्यथित जो वीपी कोइरालाकै पालादेखि नेपाली कंग्रेसको राजनीतिमा निकै सक्रिय थिए । घिमिरेलाई ‘राष्ट्रकवि’ बनाएर व्यथितलाई चाहिं ‘राजकवि’ उपाधि दिइएको थियो ।
जसरी, जुनसुकै विधिले पाएका भए पनि यसरी सरकारी तहको उपाधिद्वारा विभूषित हुने अवसर पाएका घिमिरे कवि ‘शिरोमणि’ लेखनाथ पौडेलपछिका ‘भाग्यमानी’ स्रष्टा थिए । तर, उनको यो उपाधिलाई ‘कमल थापा, सूर्यबहादुर थापाजस्ता ‘लोकतन्त्रविरोधी’ हरुको उक्साहटमा निरंकुश राजा ज्ञानेन्द्रले प्रदान गरेको’ भनेर पछि आएका दलीय सरकारहरुले फिक्का बनाइदिए । यहाँ राजा, पञ्चायतकालीन अलोकतान्त्रिक हस्तीहरुसँगै नरेन्द्रराज प्रसाई पनि उहिलेदेखि ‘रानी ऐश्वर्या निकट’ व्यक्तित्व भएकाले त्यो यथार्थप्रति लोकतन्त्रवादीहरु भित्रभित्रै कुँडिएका थिए । तर, कवि घिमिरेचाहिं राजा, दल वा नेताको कुरामा अल्झिन छोडेर समग्र नेपालीहरुको एकमुष्ट भावधारामा केन्द्रित थिए भन्ने उनीहरु बुझ्दैन’थे/ बुझ्न चाहँदैन’थे । हुन त यस सरोकारमा घिमिरेको काव्यात्मक क्षमताका अगाडि त्यस्ता उपाधिहरु नगण्य छन् भन्ने लेखकहरु पनि छन् । उनी राष्ट्रकवि नभएर ‘विश्वकवि’ बन्न लायकका सर्जक हुन् भन्नेहरुको जमात पनि छ । र, नेपालको सरकारी तहबाट भिराइएको उनको राष्ट्रकवि उपाधिलाई तिरष्कार गर्ने लेखकहरु पनि छन् ।
यस लहरमा मैले केही नवोदित कवि, साहित्यकारहरु देखिरहेको छु । यथार्थमा आम-नेपालीका आत्मीय स्रष्टा बन्नलाई कुनै उपाधि, दर्ज्यानी चिह्न, तक्मा नै चाहिन्छ भन्ने सोच गलत हो । मेरो यो सोचाइसित नमिल्ने धेरै र मिल्ने थोरै लेखनकर्मीहरु म देखिरहेको छु । जससित मेरो पनि केही हद सोच मिलिरहेको छ उनीहरुमध्ये भूटानी लेखक जमातमा कवि तथा समालोचकका रूपमा चिनिँदै गरेका शिवलाल दाहाल कवि घिमिरेको नामका अघिपछि कुनै पनि सरकारी पद नराखी लेख्छन्,“नेपाली काव्य संसारका महान् कवि माधव घिमिरेको मृत्युको खबरले आहत भएको छु । कविवर माधव घिमिरे नेपाली माटो, मुटु र सम्वेदनाका कवि हुन् । आफ्ना समकालीन बेनजोनसनले सेक्सपियरका बारेमा भनेका थिए ‘उनी एक युगका होइनन्, अनेक युगका हुन्’ । हाम्रा प्रिय कवि माधव घिमिरे पनि अनेक युगका हुन् । नेपाली जातिका गौरव र काव्यिक सौन्दर्यका शिखर हुन् । कविवरप्रति हार्दिक श्रद्धाञ्जली । ‘मान्छे हो यिनलाई प्यार गर है, तारा कुनै हेर्दछिन्’ ।”
यसरी नै उर्बर कविका रूपमा उदाइरहेका मदन दुलाल लेख्छन्,“ कवि, कलाकार र काव्यसारथी आफैंमा एक सम्मान हो । एक शताब्दि शब्दहरूको संगतमा रही शब्दब्रह्मको आराधाना गर्नुहुने प्रिय कवि माधवप्रसाद घिमिरेप्रति हार्दिक श्रद्धासुमन ।”
उसैगरी अर्का प्रखर उदयमान कवि नवीन प्राचीनको अभिव्यक्ति यो सवालमा अझ स्पष्ट छ । उनी लेख्छन्,“कविका शिरमा श्रीपेच, पगरी, सिउर नभएकै कत्ति सुहाउँछ । श्रद्धाञ्जली कविवर !”
‘हजार जिब्रा भएको शेषनागले पनि बयान गरी नसक्ने’ भनेझैं उनलाई अनेकन विशेषणका भारी बोकाउन म पनि चाहन्न । यद्यपि, उनले पाइसकेको उपाधिलाई अब उनको मृत्युपश्चात इतिहासले बोक्ने भएको हुँदा तिरष्कार नै गरियोस् भन्ने पनि म चाहन्न ।
पदवी र उपाधिको सवालमा पनि मैले कविवरसित क्षणिक कुरा गरेकै थिएँ । आफ्ना समकक्षी कवि केदारमान व्यथित साहित्यकर्मी हुँदाहुँदै राजनीतिमा पनि उतिकै सक्रिय भएको प्रसंगमा मैले कविजीलाई सोध्न भ्याएको थिएँ-जसमा कविजीको सहज उत्तर थियो,“बाबूलाई ज्ञान छैन क्यार, घिमिरेहरु उहिल्यैदेखि राष्ट्रनायक हुँदैनन् । राष्ट्रनायक हुनलाई राजनीति गर्नुपर्छ, जालझेल गर्नुपर्छ; हामी त खाली सेवक हुने हो । सेवा गर्ने हो । लेखक, कवि, शिक्षक हुने । योभन्दा बेग्लै धेरै भइहाले कोही कर्मचारीसम्म होला । नत्र, घिमिरेहरुमा कुनै पनि राजनीतिक नेतृत्वमा अघि बढेको मैले देखेको छैन । म आफूचाहिं बढ्न पनि नपरोस् । मेरो सफा कुरा यति हो । अहिले आएर मलाई विशिष्ट कवि (राष्ट्रकवि) को पदवी मिलेको छ । तर, यसमा पनि मोसो पोत्न धेरै लाग्न सक्छन् ।”
यही क्रममा ६२/६३ को जनान्दोलनपछि स्थापित लोकतान्त्रिक (आवरणमा मात्र) सरकारले विगतको त्यो कथित प्रतिगामी, अलोकतान्त्रिक निरंकुश राजकीय निकायले प्रदान गरेको कविवरको उपाधिलाई फिक्का बनाउने उद्देश्यमा राष्ट्रपतिमार्फत कवि घिमिरेलाई सेनाको सहायक रथी सम्मान प्रदान गरेर सन्तोषको सास लिएको थियो जुन कुरो मैले यो लेखको माथि नै उल्लेख गरेको छु ।
कुरा जति गऱ्यो, अनेक प्रसंग जेलिएर अल्झन हुन थाल्छन् । कविको सार्वजनिक जीवनका कथा जे जस्ता भए पनि उनले लक्ष्मीप्रसाद देवकोटा र लेखनाथ पौडेलको निधनपछि एकमुष्टरूपमा पाँचदशकभन्दा अधिक नेपाली काव्यजगतको कुशलतापूर्वक नेतृत्व गरिरहे ।
नेपाल प्रज्ञाप्रतिष्ठानको स्थापनाकालदेखि प्राज्ञ परिषद् सदस्य, आजीवन सदस्य, उपकुलपति र कुलपतिसम्म बनेका स्रष्टा घिमिरे सर्वप्रिय, अत्यन्त उत्प्रेरक र आदर्श सर्जकका रूपमा नेपाली साहित्य र समाजमा लोकप्रिय बने/बनिरहनेछन् । अन्त्यमा श्रद्धाशिखर कविवरप्रति श्रद्धाञ्जली-अलविदा !