जिन्दगीको भग्नावशेषबाट
रमेश गौतम
नर्वे
प्रत्येक दिनका प्रभात र गोधुलीसँगै
प्रत्येक वर्षका नव दिवसहरूसँगै
वेदनाले ओतप्रोत
त्यस्तै-त्यस्तै सुसेली सुसेलेर
म – अमीरावस्थाको भिखारी
बाँच्न पाऊँ भनी
अज्ञात शासकसँग
अपिल गरिरहेछु।
एउटा खुल्ला गगन छ
चारैतिर फैलिएको
अनि बादलका टुक्राहरू उस्तै
स्वेच्छामा मडारिइरहेका !
यो दीनावस्था !
यो हीनावस्था !!
नपोखेर वेदना हृदयको अन्तरस्थलबाट
एउटा विवशात्माको विकलता
गाडिएको छ शुष्क बगरमा
क्याक्टस – एस्पारगस बनी।
यो उष्ण मरुभूमिमा
बाँचिदिएका छन् कैयन् जिरँफाइटहरू
जिएर जीवन अभावमा !
भारी पीडा दिएर जीवनले
भित्राँस जली खरानी भयो
असह्य पीडामा
तर पवित्र यो बाहिरी काय
जिलान्थ्राक्स बनेको छ।
५ फेब्रुअरी २००१
शनिश्चरे