जीवन र भोगाइ
जगेन गौतम
पेन्सिल्भानिया, अमेरिका
आफू अलि पर उभिएर
आफैंलाई हेरें,
भोगाइ र संघर्षको आँधीले
जीवन नै थकित भाइसकेछ
तै पनि अझै अपुरो नै छु
दुई पाइला हिंड्नु
धेरै संघर्ष होइन रहेछ
गुलाव टिप्दा
केही काँडाहरुले घोच्नु
त्यति अथक भोगाइ होइन रहेछ
मलाई त लग्थ्यो,
भोगाइ र संघर्षलाई अंगालेर
धेरै टाढा पुगें भनेर
तर,
ती सबै सोचाइ र भावनाहरु
निरर्थक भयो
ऐले त लाग्छ,
जीवनको अन्तिम अवस्थामा पनि
म मेरो लक्ष्यसम्म पुग्दिन कि?
कता-कता भय र त्रासको आँधीले नि
मन कटक्क खान्छ
तर,
मन फेरि दह्रो भएर आउँछ
अनि शान्त्वना दिन्छ
“नीडर भएर आफ्नो कर्तब्यमा
लागि पर्,
तेरो जीवनको शब्दकोशमा
भय र त्राश भन्ने शब्द हुनु हुँदैन। ”
अनि,
नौला सङकल्पहरु,
बिचारहरु,
अनि लक्ष्यसम्म पुग्ने बाटाहरुको
पुनर्जन्म हुन्छ मेरो मस्तिष्कमा…..!