जीवन : लोपिटलको एक अपरिभाषिता

कवि
कवि

शिवलाल दाहाल
केन्टकी, अमेरिका

आज पनि उही गणितका सुत्रहरु केलाउनु छ
यो कम्युटर स्कृनमा
तर जब म यो ‘लोपिटल नियम’मा आइपुग्दछु
म अडिन्छु
मलाई गणितले होइन
कविताले तान्दछ, खाता एकापटि थन्किन्छ
समात्छु ल्याप्टपको किबोड्
लाग्छ जीवन भनेको यही लोपिटलको नियम होे
कति छन् यस्ता अपरिभाषिताहरु
समाधान खोज्दछौ हामी उपायहरू निकालेर
जस्तो कि लोपिटलको नियमको प्रयोगले
एक पटक अपरिभाषिता भञ्जन हुन्छ
र हामी एक कदम अघिबढ्छौँ
फेरि अपरिभाषिताको उपस्थिति
फेरि लोपिटलको नियमको प्रयोग
फेरि भिन्न परिस्थितिको सिर्जना
फेरि एकपटकलाई समाधान प्राप्ति
फेरि अपरिभाषिता, फेरि अगम्यता
यसरी नै चल्दोछ जीवन
अनेक अपरिभाषितालाई छिचोल्दै
फेरि अपरिभाषिता जन्माउँदै
आखिर मुत्य पनि त अन्त्य होइन
केवल लोपिटलको नियमको एक क्रमिकता
एक अपरिभाषिताको निरन्तरता…………………….
फेरि मेरो यो कविता लेखन पनि केही होइन
एक क्षणको क्रमभङ्गता
फेरि केलाउन थाल्छु उही गणितका सुत्रहरु
अपरिभाषिताहरु भञ्जन गर्दै …………..

Leave a Reply

Your email address will not be published. Required fields are marked *