झण्डा

तिलक राई

पर पर
कता कता
एउटा आवाज बेस्कन चिच्याएर
हावासँग लहरिदै
मेरो कानमा प्रतिध्वनित हुन्छ ।
अन्याय र अत्याचार विरूद्ध
तमाम गरीब
किसान-मजदुरहरूको पक्षमा
सदैव हामी लड्ने छौ ।
त्यो आवाजले मलाई
फेरी एक पल्ट रोकिन बाध्य बनायो
उभिएर एक कुनामा
सुटुक्क चियाउछु
अनि देख्छु –
ड्राईगनको मुखबाट फुत्त-फुत्त निस्कन्छन्
चरा र घोडा अंकित झण्डाहरू

चरा बेगिदै अघि बढ्छ
घोडा उफ्रिदै दगुर्दै-दगुर्दै
बुढो गिद्धलाई सलाम ठोक्न पुग्छ
घरी एउटा झण्डा अघि जान्छ
घरी अर्को झण्डा
तर टेक्ने त उही
गरीब जनताको छाती न हो ।
जनतालाई देखाउदै
जनताकै काँधमा टेकेर
शोषणको दुर्गन्धित अनिश्चित यात्रा
कहिले र कहाँसम्म होला ?
यो प्रश्नको उत्तर
झण्डाको विरूद्ध झण्डा
जबसम्म जनताको हातले उठ्दैन
त्यस बेलासम्म मिल्दैन ।
अत्याचारी झण्डा ढाल्न
अल्गा टाकुराहरूमा होइन
घरको धुरीमा होइन
आफैभित्र खोजेर हेर
नविन ऊर्जा भेट्ने छौं
अनि
दिल-दिमागको खुल्ला चउरमा
फर्फराएर हेर
आफ्नै पक्षको रातो झण्डा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *