ठप्प छ
शिवलाल दाहाल
केन्टकी, अमेरिका
भकुण्डाे संसार त घुमिरहेकै होला
उही गति र उति स्थितिमा
त्यसमा सन्देह पक्कै छैन
हुन पनि कसरी होस्
तर मान्छेको गति रोकिएको छ
पक्षाघातले ग्रस्त समयको कठघरा
यतिखेर ……………
ठप्प छ दुनीय, ठप्प छ संसार
ठप्प छ स्कुल, ठप्प छ कलेज
ठप्प छ व्यापार, ठप्प छ कार्यालय
ठप्प छ गाडी, ठप्प छ हवाइजहाज
सायद दुई हप्ता बिते होलान्
म पनि कोठामा ठप्प भएको
यसो झ्यालबाट बाहिर हेर्छु
कहिले बादल, कहिले सिमसिम पानी
कहिले घामको उज्यालो
कहिले जूनको मन्द मुस्कान
कहिले चराहरूको चिरबिरे बोली
झ्यालबाहिरको संसार ……………
बेलाबेला लाग्छ
यो बाहिरको संसार कृत्रिम न हो
सच्चा संसार त घरघरमा छ
हात हातमा छ
सामाजिक सञ्जालहरूमा छ
एउटा त्रासदी पढेर हामी
जिन्दगीलाई मापन गरिरहेका छौँ
हिजो केटाकेटीलाई लिएर बाहिर निस्किएँ
एक छिन चराहरूसँग खेल्यौँ
त्यो उनीहरूलाई खासै मन परेन सायद
किन भने त्यो गुगलको संसार जस्तो अलिक थिएन
आज गाडीमा एक फन्को मारेँ
मान्छे खासै बाहिर कोही छैन
बाटोमा गाडीको चाप पटक्कै छैन
बाटा वरिपरिका रूख, चउरहरू
कति भिन्न हगि…………
जताततै चउरहरूमा जूनटिकी फूल फूलेका छन्
उज्याले आकाशमा टल्कने ताराहरू जस्तै
बाटाका छेउछेउमा
हाँगाहाँगा फूल गुच्छा ओडेर उभिएका छन्
हिजोका सिक्रे रूखहरू
कोही सेता, कोही बैजनी, कहीँ पहेँला …………
कति विचित्र संसार हगि……
मानौँ उसलाई केही भएको छैन
फुल्नु, पलाउनु छ
कति प्रमाेदित छ यो बाहिरी संसार
विराग जिन्दगीमा राग भर्न
सायद समय नै पर्खनु पर्छ
भोलि फेरि..
संसार दौडन थाल्दो हो
मान्छेले फेरि नयाँ संसार रच्दो हो