डा. गोविन्द रिजालसँग मेराे कनेक्सन
शिवलाल दाहाल
केन्टकी, अमेरिका
२२ अप्रिल, २०२४ । त्यो दिन मेरो काठमाडौँबाट फर्किने दिन थियो । खासमा मरो अन्तै जाने पूर्व तालिका थियो । बिहान एकासी त्यो योजनालाई रद्द गरेर गोविन्द सरलाई भेट्न जानेँ भएँ । डाँछीबाट पठाओ बाइकमा चढेर पहिला कोटेश्वरमा हरि गौतम सरलाई भेट्न गएँ । एउटा कफी दोकानमा हरिसर र उहाँका छोरा हेमन्तसँग बिहान केही बेर गफगाफ गयौँ । त्यहाँबाट बिदा भएर म फेरि पठाओमा गोविन्द सरको निवासतर्फ लागेँ । उहाँ काठमाडौँको टोखा, जालपा चोकमा परिवारका साथमा बस्नु हुँदोरहेछ । उहाँले दिएको नर्थपोल एकाडमीमा त पुग्यौँ तर त्यो नयाँ बनेको विद्यालय रहेछ । फोन गरेर बुझेपछि थाहा भयो अनि पसलहरूमा सोध्दै उहाँको निवाससम्म पुग्यौँ । बिहानको ९ बज्न लागेको हुँदो हो । उहाँ मेरो प्रतीक्षामा कम्पाउन्ड बाहिरको ढोकामा बसिरहनु भएको रहेछ । पठाओलाई भाडा दिनु पर्ने मसँग खुजुरा पैसा रहेनछ। गोविन्द सरलाई भनेँ। उहाँले घरमा गएर पैसा ल्याएर पठाओलाई बिदा गर्नु भयो ।
म घरको ढोकामा पुग्नै लाग्दा शान्ता म्याडम बाहिर निस्कन लाग्नु भएको देखेँ । उहाँ अफिसका लागि निस्कने बेला भएको रहेछ, अभिवादन टक्र्याउनसम्म भ्याएँ । त्यसै समय अमेरिकाको पेन्सिल्भेनियाबाट आएका आफन्तजनको पनि बिदा हुने बेला भएको रहेछ । पाहुनाहरूलाई बिदाइ गरेर उहाँ क्षणभर मै फर्किनु भयो, म बैठक कोठामा बसिरहेको थिएँ । उहाँले हामी दुबैका लागि कफी लिएर आउनु भयो । अनि बसेर कुरा गर्न थाल्यौँ । शिष्टाचारका केही कुराहरू भएपछि हामीले भुटानी समाज र राजनीतिका बारेमा केही विमर्श गर्यौँ । उहाँको मूलभूत जिज्ञासा पुनर्वाससित भुटानी समाज, शिविरमा रहेका बाँकी शरणार्थीहरूका बारेमा थियो । मैले पुनर्वासमा पुगेको भुटानी समाजको अवस्था, त्यसको मनोविज्ञान र भुटानप्रतिको दृष्टिकोणका बारेमा आफूलाई लागेका कुराहरू राखेँ । मैले भनेँ “पुनर्वासमा गएको समाजको भुटानप्रति चासो घट्दै जाँदैछ, त्यसको गन्तव्य र लक्ष्य नै बदलिसक्यो । सायद भुटानले लाने अवस्था सिर्जना हुनु हो भने पनि फर्किने मानिसहरूको सङ्ख्या नगण्य हुनसक्छ । यता क्याम्पमा रहनेहरूको फर्किने सम्भावना पनि देख्दिन । यहाँ रहेको सानो समूहले हाम्रो मुद्दालाई जीवित राख्न त सघाउला तर फरक परिणाम ल्याउन सक्छ जस्तो लाग्दैन । द्वन्द्वरत पक्षको दबाब खेप्न नसक्ने अवस्थामा मात्रै राज्यले सम्झौता गर्ने हो, विश्व इतिहासले हामीलाई त्यही भन्छ । हाम्रो त्यो अवस्था छैन, न त अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूको भुटानप्रति चासो छ ।” मेरा कुरा सुनेपछि उहाँको असन्तुष्टि र गुनासो एकै चोटि पोखियो । उहाँले भन्नु भयो, “मलाई तपाईं त अरूभन्दा फरक हुनुहुन्छ जस्तो लाग्थ्यो । कसरी यति चाँडै भुटानप्रतिको हाम्रो समाजको चासो र चिन्ता घट्यो, दृष्टिकोण बदलियो ? । उसो भए, अब हाम्रो भुटानसँगको कनेक्सन के त ?” मैले भनेँ, “भुटान अब हाम्रालागि एक स्मृति, एक अप्राप्य भूमि ।” मेरो जबाफ र टिप्पणीप्रति उहाँको विमति पक्कै थियो, त्यो उहाँको अनुहारबाट सोझै पढ्न सकिन्थ्यो । तथापि उहाँले कुनै खरो टिप्पणी गर्नु भएन । खासमा पुनर्वासपछि मानिसहरूको भुटानप्रति रुचि घट्नु, आन्दोलनलाई जीवन्त राख्न उल्लेखनीय भूमिका नदेखिनु उहाँका लागि चिन्ताको विषय थियो । पुनर्वाससित भएका भुटानीहरूलाई नेपालमा “नेपाली उत्पत्तिका मानिस” (पिपल अफ् नेपाली अरिजन) को मान्यता दिलाउने सन्दर्भमा पनि कुरा भए । त्यसमा उहाँको भनाइ थियो, “त्यो चाहिँ आपत्तिको विषय होइन, पहल गर्न सकिन्छ ।”
यसरी हामीले भुटानी राजनीति, इतिहास, विस्थापन, पुनर्वास र साहित्यका अनेक सन्दर्भमा दुई घण्टा जति छलफल गर्यौं । बसाइका कममा हामीले सेलरोटी, कफी र कसार पनि लियौँ । माथिल्लो तलामा लन्ड्री रहेछ, त्यहाँ पनि गयौँ । खाना खान जान पनि आग्रह गर्नु भयो तर मैले हतारमा छु बरु पठाओ बाइक बोलाइदिनु पर्यो भनेँ । उहाँले भन्नु भयो “बाइक त सुरक्षित हुँदैन, म गाडी नै बोलाइदिन्छु, जोखिम मोल्नु हुँदैन ।” मैले एक दुई ठाउँ निस्कनु छ बाइकै सजिलो हुन्छ होला भनेपछि बल्ल बाइक नै बोलाउने कुरामा सहमति भयो । यसै बिच कीर्तिपुरबाट डा. तारालाल श्रेष्ठले पठाउनु भएको मेरो किताब “अलबिदा बेलडाँगी”को प्याक आइपुग्यो । सरसँग यो कृति त छ तर एउटा एक्स्ट्रा भइराखोस् भनेर एउटा किताब निकालेर टेबलमा राखिदिएँ । त्यसै किताबमा उहाँले पठाओलाई दिनु भएको भाडा च्यापेर पनि राखिदिएँ । मेरो बिदा हुने समय भएपछि उहाँले केही टोपीहरू (क्याप) लिएर आउनु भयो । “कार्यक्रममा जाँदा टोपीहरू आइरहन्छन्, एउटा लिएर जानुहोस् बाइकमा हावाले हान्छ ।” मैले एउटा टोपी छानेर टिपेँ । (त्यो स्नेह साथ प्रदान गर्नु भएको टोपी मसँग अहिले पनि सुरक्षित छ) । अनि हिँड्ने बेलामा भन्नु भयो “तपाईँहरू आएर भेट्नु हुन्छ र नै बाँच्नुको सार्थकता छ ।” घर अगाडी उहाँले सेल्फी लिनु भयो, मैले पनि लिएँ । अनि अभिवादन गरेर म बाटो लागेँ ।
कसलाई थाहा थियो, त्यो भेट नै हाम्रो अन्तिम भेट रहेछ । त्यो सेल्फी नै हाम्रो अन्तिम सेल्फी रहेछ । अनि प्रेमले प्रदान गर्नु भएको त्यो टोपी नै उहाँका हातबाट प्राप्त गरेको अन्तिम चिनो रहेछ ।
आइतबार बिहान उठ्ने बित्तिकै खेम रिजाल सरको फोन आयो । एउटा अत्यासलाग्दो, अकल्पनीय खबर सहित । म छाँगाबाट खसेको जस्तै भएँ, स्तब्ध भएँ । पीडाले छटपटाएँ, आँखाभरि आँसु डब्डबाए । दुई हप्ता अघि मात्र भेटेको मान्छे अब रहनु भएनभन्दा पत्याउनै सकिन, कल्पनै गर्न सकिन । एकै क्षणदेखि फेसबुकका भित्ताभरि श्रद्धाञ्जली र संवेदनाका सन्देशहरू आउन थाले । मैले त्यो भर्खरैको भेटलाई सम्झिएँ, हामी बिच भएको आत्मीय कुराकानी सम्झिएँ । जीवनको अनिश्चित, अनित्यता र मृत्यबोधको सञ्चेतनाले म विचलित भएँ, विक्षिप्त भएँ । मात्र बाउन्न वर्षको उमेरमा उहाँलाई टिपेर लग्यो, त्यो त्रासदिक घटनाले ।
डा. गोविन्दको निधनपछि मैले उहाँसँगको मेरो कनेक्सनका बारेमा सोच्न थालेँ । क्याम्पमा रहुन्जेल मेरो उहाँसँग चिनजान नै भएन । म खुदुनाबारीमा, उहाँ बेलडाँगीमा भएर पनि होला । गोविन्द सरको नाम प्रथम चोटि सुनेको डा. तारालाल श्रेष्ठबाट हो । त्यो बेला तारा सर वाई.एन. चौलागाइको उपन्यास “साक्षी” को प्रकाशनका लागि काम गरिरहनु भएको रहेछ । कुराकानीको सिलसिलामा तारा सरले मलाई सोध्नु भयो “तपाईँहरूकै भुटानी एक जना युवा वैज्ञानिक हुनुहुँदो रहेछ नि जापानमा, तपाईँ चिन्नु हुन्छ ? ” नाम नै प्रथम पटक सुनेको मैले कहाँ चिन्नु । मैले चिन्दिन भनेँ । पछि वाई.एन सरको किताब छापिएपछि हेरेँ , त्यहाँ गोविन्द सरको ब्लर राइटिङ रहेछ । त्यसपछि म कसरी गोविन्द सरको सम्पर्कमा आएँ थाहा छैन, हुन त फेसबुक बाटै भएको हो । केही साल अघि उहाँ लेक्जिङ्टनमा आउँदा मैले उहाँलाई पहिलो पटक भेटेको हो । त्यो बेला उहाँको बाआमाको घरमा एक रात बास नै बसेको छु । त्यो भेटघाटबाट मैले उहाँको व्यक्तिगत जीवन, अध्ययन, जापान र फिलिपिन्सको बसाइ, सि-4 राइसको अनुसन्धान लगायतका बारेमा केही जान्ने बुझ्ने मौका पाएको थिएँ । त्यस बेला उहाँको फिलिपिन्सको परियोजना सकिएको रहेछ । अमेरिकामा पनि सि-4 राइसको अनुसन्धान हुँदोरहेछ तर क्यालिफोर्नीयमा मात्र । मैले तपाईँ यतै अमेरिका बस्ने प्रबन्ध बन्न सक्तैन भनेर सोधेको थिएँ । “सम्भावना नै नभएको चाहिँ होइन” उहाँले भन्नु भएको थियो । तर उहाँको पारिवारिक अनुकूलता र कानुनी बाटो सहज पक्कै थिएन होला, अनुमान लगाउँछु ।
त्यसपछि मेरो गोविन्द सरसँग, धेरै पटक कुराकानी भयो, कहिले कहिले त घण्टौँसम्म पनि । हाम्रो कुराकानी साहित्य, अध्ययन, लेखन र भुटानी राजनीतिका बारेमा केन्द्रित हुने गर्थ्यो । उहाँ किताब खोजिखोजी पढ्ने मान्छे, एकबार कुराकानीका क्रममा मैले भनेँ, सर अचेल त मैले किताब पढ्नै छोडेको छु । उहाँले भन्नु भयो “अब तपाईँ सकिनु भएछ, किताब नपढेपछि त मान्छे सकिइहाल्छ नि ।” त्यसपछि म निकै झस्किएँ र लाइब्रेरी जान थालेँ ।
कोरोना कालमा मेसेन्जरमा एउटा समूह थियो “कोरोना गफ्फु” पछि त्यो भूटान गफ भयो अनि अहिले भूटान डिस्कोरस् त्यहाँ गोविन्द सर लेखिरहनु हुन्थ्यो, साधाण टिप्पणी पनि गर्नु हुन्थ्यो । गोविन्द सरमा एउटा अद्भुत गुण थियो, सबै विचार र भावनालाई इन्टरटेन गर्ने । सबै तहको व्यक्ति, र तिनको कदर गर्ने । पोस्टडक गरेको मान्छे, तर उहाँमा अध्ययन, डिग्री र आफूले हासिल गरेको सफलताको घमन्ड रत्ती पनि थिएन । साधारण र सरल मान्छे । भुटानी समाजमा अगिल्लो पुस्ता र पछिल्लो पुस्ता बिच ठुलो दुरी छ । खासगरि भुटानमै पढेलेखेको, उपल्लो तहमा काम गरेको, निर्वासनमा नेतृत्वमा रहेको अघिल्लो पुस्ताको पछिल्लो पुस्तासँग सम्बन्ध र सम्पर्कको खाडल छ । सायद अघिल्लो पुस्ता नयाँ पुस्तालाई अयोग्य, अनुभवहीन र निकम्मा ठान्दछ । अथवा नयाँ पुस्तासँग लघुताभासको अनुभूतिले जल्दछ । गोविन्द सरमा यी दुवै पुस्तालाई समदुरीमा राखेर काम गर्ने क्षमता, ज्ञान र रणनीति थियो । नयाँ पुस्ताप्रति गोविन्द सरको ठुलो विश्वास र प्रेम थियो । नव पुस्ताको काम, कार्यक्रम र योजनामा साथ दिन, सहयोग गर्न उहाँ तत्पर भइहाल्नु हुन्थ्यो चाहे त्यो भौतिक होस् वा भर्चुअल । गोविन्द सर गम्भीर मात्रै होइन ससाना तर रोचक जानकारी र ठटेउलीहरू पनि फेसबुकमा शेयर गर्नुहुन्थ्यो । उहाँ फलफूल, बनस्पतिहरूसँग सम्बन्धित जानकारीहरू, भुटानबारेका समाचार तथा ज्ञान विज्ञानका कुरा, सूचना र फोटोहरू, साथीभाइसँग भेटघाटका क्षणहरू नियमित रूपमा शेयर गर्नु हुन्थ्यो । उपल्लो शिक्षा हासिल गरेको अन्वेषक, चिन्तक, अध्यापक भएर पनि उहाँ साधारण मानिस, मानवीय भावना र सम्बन्धलाई उच्च महत्त्व दिने व्यक्तित्व । गोविन्द सरले फ्रेन्ड्स युनियन भनेर एउटा समूह बनाउनु भएको जसका माध्यमबाट उहाँ भुटान र भुटानीसँग सम्बन्धित समाचार, सूचना र तथ्यहरू शेयर गर्ने र संवाद गर्ने गर्नु हुन्थ्यो । मलाई लाग्छ यो समूह सञ्जालमा धेरै भुटानीहरूको सहभागिता छ र अनेकौँ पठनीय सामाग्रीहरू सम्प्रेषित र अभिलिखित छन् ।
सन् २०१८ मा गोविन्द सरको “अ परदेशी इन प्याराडाइस” भन्ने किताब छापियो । मैले त्यो किताब पठाइदिन आग्रह गरेको थिएँ । लूइभेल आउने क्रममा उहाँका भाइले किताब एउटा पसलमा छोडिदिनु भएछ । त्यो सूचना पाएपछि, म गएर ल्याएँ । यो किताबले गोविन्द सरको जीवन, सङ्घर्ष, अध्ययन र कर्मका अनेक आयाममाथि प्रकाश पारेको छ । अचम्मको कुरा चाहिँ सन् १९९६ मा भुटानीहरूको स्वदेश फिर्ताका लागि एएमसिसिले गरेको शान्ति पदयात्रामा उहाँको सक्रिय सहभागिता रहेछ । त्यो बेला म आन्दोलनमा सक्रिय सहभागी नभए पनि सभा, समारोहहरूमा धेरै पटक सहभागी भएको छु चाहे त्यो रतुवाको बगरमा होस् कि माई बगरमा होस् अथवा मेची बगरमा होस या महानदीमा । त्यो बेला रतन गजमेर, जोगेन गजमेर, टेकबीर क्षेत्री, अशोक पौडेल, डा. हर्क क्षेत्री, भक्त घिमिरे, हरि बङ्गाले, गोपाल घिमिरे, टि.बी गुरुङ, इन्द्रावती राई, थुप्रै नामहरू सुनेको (देखेको) थिएँ तर गोविन्द रिजालको नाम कतै सुनेको रहेनछु । तथापि मैले मात्र नसुनेको होइन रहेछ । उहाँ आफैँले भन्नुको छ पुस्तकमा । “म त्यहाँ चिनिएको व्यक्ति थिएन, मेरो नाम खासै कसैले उल्लेख गर्दैन थियो” । यस किताबमा त्यो आन्दोलन, त्यसका पात्र र त्यस बेलाको विभाजित भुटानी राजनीतिलाई गोविन्द सरले धेरै नजिकबाट केलाएर लेख्नु भएको छ । पहिला नचिनिएको नाम भए पनि आन्दोलनका क्रममा सिलगढी, कलकत्ता, नयाँ दिल्लीसम्म पुगेर उहाँले आन्दोलन अघि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु भएको रहेछ । त्यो बेलादेखिको गोविन्द सरको भुटानी प्रजातन्त्र र मानव अधिकारको आन्दोलनप्रतिको झुकाव र लगाव कहिल्यै डगमगाएन । उहाँ जापान जानु भयो, पढ्नु भयो, अनुसन्धान गर्नु भयो र पादप प्रजननको विज्ञ हुनु भयो तर भुटानी राजनीति, इतिहास र साहित्यलाई कहिल्यै बिर्सन सक्नु भएन । त्यसैका वरिपरि घुमिरहनु भयो, त्यसैलाई लेखिरनु भयो, चिन्तन गरिरहनु भयो, त्यही समाजका निम्ति समर्पित भइरहनु भयो । साहित्यमा उहाँका कथा र कविताका साथै समीक्षात्मक टिप्पणीहरू प्रकाशित छन् । उहाँका साहित्यिक सिर्जनाहरू Bhutaneseliterature.com मा पढ्न पाइन्छ । उहाँको “बेजोड–बन्ध” नामको एउटा कथासङ्ग्रह पनि छापिएको छ ।
सन् २०२० मा गोविन्द सरकै अग्रसरतामा भुटान जर्नलको प्रारम्भ भयो र पाँचौँ अङ्कसम्म प्रकाशित भइसकेको छ । यसमा भुटान बारेका अनुसन्धानमूलक सामाग्रीहरू प्रकाशित छन् । जर्नलको अवधारणा त आयो तर लेख्ने मान्छेहरूको ठुलो खाँचो थियो, छ । त्यसबारेमा मेरो गोविन्द सरसँग धेरै पटक छलफल भयो । हरेक छलफलमा उहाँ आर्टिकल लेख्न अनुरोध गर्नु हुन्थ्यो । धेरै चोटि भनेपछि आग्रह टार्न नसकेर रमेश गौतम, खेमराज गौतम र म भएर एउटा आर्टिकल लेख्यौँ । एक पटकको छलफलमा मैले भनेको थिएँ, हामीभन्दा भुटान भोगेका, देखेका, बुझेका अग्रजहरू छन्, उहाँहरूले लेख्नु पर्ने हो भूटानसँग सम्बन्धित आर्टिकल त । मेरो विचार सुनेर उहाँले भन्नु भयो, “अनुभव र ज्ञान त होला तर अनुसन्धानका आफ्नै मापदण्ड र पद्धति हुन्छन् । त्यो मापदण्ड अनुसार लेख्न उहाँहरूलाई गाह्रो हुँदो रहेछ, गाइड गर्न पनि सकिन्न रहेछ ।” त्यसपछि मैले नयाँ र पुराना पुस्ताका केही व्यक्तिहरूको नाम दिएँ, जसबाट आर्टिकलको अपेक्षा गर्न सकिन्थ्यो । त्यसै अनुरूप उहाँले धेरैलाई आर्टिकलका लागि आग्रह गरेको पनि बुझेको छु । उहाँ आत्मविश्वासी, हतपत विचलित नहुने र एउटा लक्ष्यलाई ताकेर हिँडेपछि हिँडिरहे व्यक्ति हुन्थ्यो । यस जर्नललाई स्तरीय बनाउन, प्राज्ञिक मूल्य बढाउन उहाँ दत्तचित्त भएर लाग्नु भएको थियो ।
अगस्ट १३, २०२१ मा डा. रिजालले मलाई “द साइलेन्ट हिस्ट्री अफ भुटान” भन्ने नयाँ कृतिको पाण्डुलिपिको एक भाग अध्ययनका लागि पठाउनु भएको थियो । भुटानको सम्बन्धमा म न विज्ञ हो, न इतिहासका बारेमा गहिरो ज्ञान राख्छु तर पनि अध्ययन र सुझावका लागि सामाग्री पठाउनु मप्रतिको डा रिजालको एक हिसाबको विश्वास र भरोसा होला भन्ठान्छु । मैले त्यसलाई मिहिन ढङ्गले पढेँ, सानातिना सुझावहरू राखेँ । इतिहासका कुरा भए पनि उहाँको लेखन हेर्दा कता कता पूर्ण रूपले इतिहास भन्न सकिन्न कि भनेर मैले यसलाई इतिहास नै भनेर शीर्षक नराखौँ बरु वैकल्पिक नाम सोचौँ भनेको थिएँ । यसमा मूल रूपमा भुटानको सुरक्षा चासो, भुटान–चीन बिचको सीमा समस्या र समाधानका प्रयासहरू अनि दक्षिण भुटानीहरूले राष्ट्र निर्माण र सरकारी सेवामा गरेको योगदानका तथ्यहरू र विश्लेषण प्रस्तुत छन् । त्यस यता दुई वर्षभन्दा धेर समय बितेर गयो तर किताब प्रकाशन भएको छैन । मलाई लाग्छ, त्यो तयार भएर थन्किएको होला । पछिल्लो समयमा विस्थापित भुटानीहरूमा, भुटानी शरणार्थी समस्या अथवा भनौँ भुटान मामिलामा सबभन्दा बढी चोसो, खोजी र रुचि राख्ने व्यक्ति कोही थियो भने, गोविन्द रिजाल नै हुनुहुन्थ्यो । भुटानमा मानवअधिकार र विस्थापितहरूको हकहितका लागि सधैँ पहल र वकालत गर्दै आएका डा रिजाल, काठमाडौँमा भुटानीहरूका एक केन्द्र हुनहुन्थ्यो । पुनर्वासमा गएका हुन् वा नेपालको शरणार्थी शिविरमै रहेका भुटानीहरूका लागि होस् गोविन्द रिजाल एक सल्लाहकार हुनुहुन्थ्यो, एक बौद्धिक परामर्शकर्ता अनि भुटानको लिखित अलिखित इतिहासको स्रोत, अभिलेखन र जगेर्नाकर्ता हुनुहुन्थ्यो । समयले बनाएको इतिहासको त्यो निसाना सधैँकालागि बिलाएको छ र नियतिले अब भुटानी समाजलाई डा रिजालको अनुपस्थितिमा बाँच्न विवश पारिदिएको छ ।
डा रिजालको राजनीतिक, सामाजिक र साहित्यिक व्यक्तित्वका बारेमा माथि केही प्रसङ्गहरू आए । त्योभन्दा पनि महत्त्वपूर्ण उहाँको विज्ञताको क्षेत्रका बारेमा केही उल्लेख गरेर यो लेखको अन्त्य गर्न चाहन्छु । कृषि विज्ञान, पादप प्रजननका, आनुवंशिकी र जैव प्रौद्योगिकी क्षेत्रमा डा रिजालका अनेकौँ अनुसन्धनात्मक आलेखहरू गुगल स्कलरमार्फत् पढ्न पाइन्छ । धेरै जस्तो यी अनुसन्धानहरू डा. रिजालले आफ्नी जीवन सङ्गिनी डा शान्ता कार्की र अन्य विषय विज्ञहरूसँग मिलेर गरेका छन् ।
भुटानको माऊ खोला नजिक रहेको लोद्राइको रिजाल डाँडामा २० जुन १९७२ मा जन्मेका डा रिजालको कर्मथलो भने मूलभूत रूपमा नेपाल रह्यो । आखिर उहाँको कीर्तिशेष ५ मे २०२४ का दिन आफैँले अध्यायपन गर्दै आउनुभएको कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय नजिकै भयो । यसरी भुटानी समाजले एउटा कृषि वैज्ञानिक, चिन्तक, अभिवाक, अन्वेषक, इतिहासकार, नेता र मार्गदर्शक गुमाउनु पर्यो । डा गोविन्द रिजालले निर्वासित भएर पनि उत्तर-विद्यावारिधिसम्मको अध्ययन गर्ने अवसर प्राप्त गर्नु भयो तर आफूले अध्ययन, अनुसन्धान गरेको कुरालाई व्यवहारिक प्रयोग गर्ने ठाउँ पाउनु भएन । उहाँका लागि त्यस्तो देश भइदिएन । देश नहुनुको पीडा उहाँलाई जहिल्यै भइरह्यो । डा रिजालको निधनले हाम्रो समाजमा कहिल्यै पुर्न नसकिने खाडल बनाएको छ, शून्यता सिर्जना गरेको छ ।
संयोगले जुरेको त्यो २२ अप्रिल २०२४ को भेट नै हाम्रो अन्तिम भेट रहेछ । विधिको विधान तपाईँ अनन्तको बाटोमा जानु भयो । माफ गर्नुहोला गोविन्द सर खोइ म कसरी भनूँ अलबिदा । तपाईँको आत्मले शान्ति पाओस् ।
हार्दिक श्रद्धाञ्जली !