डिजिटल मेला

चरण बजगाईं/ मेरिल्याण्ड, अमेरिका-Charan Bajgai

वर्णन एउटा जंगली र डिजिटल मेलाको
मालिक, नोकर, पाल्तु अनि बिचित्र भेलाको
शहरको रम्झममा उत्तेजित छ बेला,
मालिक अनि सभ्यहरू हेर्दा रहेछन् खेला ।

जंगलमै ठीक थियो मलाई शहर कसले ल्यायो
आफ्नो कुरै छोडी हजूर ल्याउने पछुतायो !
व्यापारीलाई पैसा हजूर ! मालिक मस्त थियो
अचानक आधुनिक यो भीडमा फ्याँकी दियो ।

जंगलीलाई आधुनिकता, दुरुपयोग भयो
दिनौ भोको निशूल्क भोज पसे सरी रह्यो,
कम्प्यूटर, अनलाईन् च्याटिङ रंगीन भयो संसार
धर्म-कर्म गोली मारी अर्कै भयो व्यापार ।

कुनचाहिं हेर्छों बिउटी मध्य कैला, पहेंला, काला ?
होल्सेलमै पाइँदो रै’छ झनै सालाखाला
के खाउँ, बियर ? ह्विस्की यार, गुरुज्यूको घरमा
यहीं छ स्वर्ग कुन चराको नाम हो फेरि धर्म-

बाहुनजति भट्टी धनी कसले गर्ने पूजा
सभ्यता र संस्कृतिलाई पारे धुजा-धुजा
धर्म साट्ने फेशन चल्यो पैसा हेरी-हेरी
जन्म धर्म व्यापार भो संस्था फेरी-फेरी !

ल्यापटप्, आइप्याड्, डेस्क्टप, किन्डल एप्पल कम्प्यूटर-
पाल्तु नोकर के भन्ने खोई सक्नु कहाँ भयो र,
क्यसिनो र क्लब कन्सर्ट कामुकहरूको भीडमा
रातभरिको कमाइसक्यो डुब्यो अनि ऋणमा ।

श्रीमती छोरा-छोरी अधिकारको भरमा
अधिकार पनि परी-परी हुँदो रै’छ शहरमा
श्रीमतीलाई सम्झाउँदा ह्यारेश हुन्छ अरे-
गाली गर छोरा-छोरीलाई जेल जानु परे ।

बुझे कुरा अप्ठ्यारो छैन जंगलीलाई के थाहा
आफैं बिग्रे कसले गर्ने समाधान यो व्यथा-
छोरो बोल्छ गाँजा चरेस आफू रक्सी-जुवा
कोसँग छे श्रीमती छोरी कसकी बन्दी ।

नाति जन्म्यो कैलो मेरो छोरो निख्खुर कालो
आमा छोरी कसको नानी पाउँछन् पालै-पालो
ज्वाइँको ठेगान छैन कुनै, न छ जारको टुंगो
स्वतन्त्रताको दुरुपयोग भो अभागी यो बुंगो ।

डुब्नु डुब्यो संसार मेरो आधुनिकता भित्र
पर्दा आज आपत मलाई कोही छैन मित्र
शहरको यो कोठरीमा जंगलको यो पशु,
घरबार र आफन्त छैन कसो गरी बसुँ ।

विभिन्न जात घरैभित्र भाषा अनेक परे
आफूलाई त जहान मिली जेल पो चलन गरे,
मजमस्ती र रमझम कहिले लामो हुन्न रै’छ
जंगलीलाई बाघकै शासन मिल्दो जुल्दो रै’छ ।

सबै आफ्नै अधिकारमा बृद्ध डे क्यरमा
बच्चाहरू चाईल्ड क्यरमा जवान कार्खानामा,
जंगलमा त जस्तो भए नि सामाजिक नियम हुन्थ्यो
बुढाहरूका असल वचन बच्चाले त सुन्थ्यो ।

कम्प्यूटरको झ्यालबाट यस्तै नाटक देख्यौं
डिजिटल यो प्रविधि निः अचम्म कै भेट्यौं,
बृद्धहरूलाई तरुण पार्ने, नराम्रोलाई चमक
डिजिटल यो मेलाबीच रै’छ रमक झमक ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *