ड्रागनको गर्जाइ
लक्ष्मीप्रसाद ढकाल
आम्सटरडाम, द नेदरल्याण्ड
एक्कै चोटि रिसाएर
गर्जिन थाल्यो ड्रागन,
सधैं मिल्ने
सँगै खेल्ने
साथी कालो बादल,
आतुर हुन्छ अनि
भन्छ ;
स्तब्ध भयो जीवन ।
पहाड़ तोड्दै बग्ने खहरे
रोकियो एक्कासी ठिंग,
बग्ने कता अनि,
सुसाउने कता
भन्छ ;
अलमल्ल भयो जीवन ।
आकाश चिर्दै बिजुली फार्दै
धर्ती चिर्ने चट्यांग-
वाक्य बस्यो,
तेज घट्यो
भन्छ ;
निरर्थक भयो जीवन ।
रुख-रुख उडी उडी
गीत गाउने लाँचे
स्वर बस्यो,
सातो उड्यो,
भन्छ ;
भारी भयो जीवन ।
चेप्टे ढुंगामा
तबल उद्याउने
त्रसित हुन्छ किसान
नाड़ी चलेन,
तबल उठेन,
भन्छ ;
भयावह भयो जीवन ।
झन्नै धेरै रिसाएर
गर्जिन थाल्यो ड्रागन,
सहास आयो,
उमंग बढ्यो,
भन्छ ;
खुशी लाग्यो रित्ता हुँदा गाउँ ।