तिज, लैङ्गिक (अ)समानता र पुरुष पहिचान
रमेश गौतम
नर्वे
कोरोनाको कहरबीच चाड-पर्वहरू सुरु भएका छन् । तिजको रौनक सुरु भएको छ । संसारभर लाखौँको ज्यान लिएको कोरोना महामारीले पोहोर जस्तै यो साल पनि पर्वका उत्सवबाट रङ्गहरू खोसेको छ । आफ्नो नजिकको परिवारका सदस्य गुमाउनेका लागि यी पर्व नुन-चुक भएर आउने छन् । आशा गरौँ- अरूहरूका लागि पर्वको गतिशीलताले आफ्ना अनेक पीडाहरू बिर्सन मद्दत गर्नेछ ।
विशेषगरी हिन्दु नारीहरूको पर्वका रूपमा मनाइने तिजले नेपाली समाजमा अनेक प्रकारका बहसहरूलाई समेत जन्म दिएको छ । यस्ता बहसहरू तिज मनाइने अरू ठाउँहरूमा पनि हुने गरेका छन् । तर तिजले प्रत्येक वर्ष लिएर आउने रौनक हेर्दा विविध बहसहरूबीच पनि यसको ‘लोकप्रियता’ बढिरहेको आभास हुन्छ ।
नेपाली समाजमा तिजको संस्कृतिसँग जोडिएको एउटा साधारण पौराणिक कथा प्रचलित छ । यो कथाले भन्छ- सत्य युगमा हिमालयकी छोरी भगवती पार्वतीले भगवान् महादेवलाई पतिको रूपमा पाऊँ भनी हरितालिका तिजको कठिन व्रत बसेकी थिइन् । यस व्रतपछि पार्वतीको प्रेम र समर्पणबाट प्रभावित भएका महादेवले उनलाई पत्नीको रूपमा स्वीकारे ।
यही मिथकलाई आधार मानेर हिन्दु नारीहरूले तिज मनाउन थाले; व्रत बस्न थाले। विवाहित नारीहरू पानीसमेत नपिई चौबीस घण्टासम्म आफूले राख्ने कठोर व्रत र महादेवको पूजा-आराधनाले आफ्नो पतिको स्वास्थ्य राम्रो हुने र आयु लामो हुने कुरामा विश्वास गर्दछन् । त्यस्तै अविवाहित नारीहरूले व्रत बस्दा र महादेवको आराधना गर्दा भविष्यमा राम्रो पति प्राप्त हुन्छ भनिन्छ।
तिजसँग सम्बन्धित अरू धेरै पक्षहरू छन् जो सार्वजनिक डोमेनमा त्यति धेरै उजागर भएका छैनन् । यससँग सम्बन्धित सांस्कृतिक, सामाजिक, मानवशास्त्रीय, आर्थिक अनि मनोवैज्ञानिक पाटाहरू सीमित अनुसन्धानका दायराभित्र कुँजिएका छन् ।
नेपाली समाजमा तिजसँग सम्बन्धित खास गरी तीनप्रकारका विचारधाराहरू विद्यमान छन् । पहिलो विचारधाराले तिजलाई धार्मिक “कर्तव्य” को रूपमा परिभाषित गर्दछ । सयौँ वर्षदेखि नारीहरूले मनाउँदै आएको यस पर्वलाई नि:सन्देह संस्कारको रूपमा स्विकार्छ । यो विचारधारा अङ्गीकार गर्ने नारीहरू ‘परम्परा’ले अह्राएको कुरा चुपचाप पालना गर्छन् । उनीहरू ‘पतिदेव’ को सुस्वास्थ्य, समृद्धि र दीर्घ जीवनको कामना गरेर निराहार व्रत बस्छन् ।