तिमी कविता पढ

कवि
कवि

बुद्धमणि ढकाल
 केनटुकी, अमेरिका

म भूमिपुत्र जन्मन सकिन
हामी कायरतालाई
विरत्वले छोपेर मर्न सकेनौं
देश आज टाढा भएको छ
निर्वासन, यही हो शरणार्थीको
यथार्थ ।

रिमाल आमाको सपना देख्थे
एउटा वीर छोरो जन्माउन
सूर्यझैँ तेजिलो
वास्तविकताजस्तै उज्यालो
देवकोटाका झंझावीरहरु
पलायनवाद सुसेल्दैछन् कि
आँधी जस्तै भएर ब्युँझिने बेला यो
खोइ कहाँ छन् देवकोटा,
कहाँ छन् युगकवि
परिवर्तन भएको देखेथे
कविता त्यसै उम्लन्थ्यो
त्यो छैन आज ।

हिजो आज त मानिस
छेपारो भएर रङ फेर्छन् रे
विश्वास पैसामा किन्नु पर्ने
फोस्रो दम्भ
रक्तसंचार सँगै मिसिएको छ
कोष र तन्तुहरु
विषाक्त भएका छन्
अनुशासनहीनता विकार उब्जेको छ
उफ्! यो विषाक्तता
माटोको वासनासंगै मिसिएको छ
मिसिइरहेको छ ।

सूर्यपुत्र कर्णसँग
महारथी अर्जुनहरु
कुन युद्धमा लड्ने हुन्
विजयोत्सवको झन्डा उठाउन
भीमसेनहरु निर्बल छन्
न्याय फितलो छ

तर पनि
महाभारत लेखिनुपर्छ
ए! मुक्तिकामी हो
जित तिम्रो लागि हो भने
कन्दरा र कान्लाहरुमा
आमाको दूध खाएका
भूमिपुत्रहरु मरेका छैनन्
तिमीले उसलाई
विरत्व सिकाउनु पर्दैन
क्रान्ति गर्न
तिमीले उसलाई चिन्नुछ
तिमी अघि हिँड
आँगनबाट निस्केर
विलासिताबाट अपठ्यारो तर्फ ।

२०५३ /५४
काठमाडौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *