तिमी जन्मँदा
रमेश गौतम
नर्वे
तिमी जन्मँदा
हेमन्त कालीन शीतल पवन
मिठो गीत सुसेल्दै बहेथ्यो सुस्तरी !
त्यसैले त
तिमी यति शीतल छौ !
तिमी सधैँभरि यति नै शीतल रहिरहनू नानु !!
तिमी जन्मँदा
बेजोड कान्ति छरेर आकाशमा
जून मुस्कुराएथ्यो दीर्घकालसम्म
त्यसैले त
तिमी मुस्कुराउँदा जून जस्तै देखिन्छ्यौ
तिमी सधैँभरि यसरी नै मुस्कुराइरहनू नानु !
तिमी जन्मँदा
गम्भीरतापूर्वक सुतिरहेका थिए
अथाह फैलिएका शान्त महासागरहरू
त्यसैले त तिमी यति शान्त छौ।
तिमी सधैँभरि महासागरझैँ शान्त रहनू नानु !
तिमी जन्मँदा
एक हुल गाइने चराहरू
सुमधुर गीत गुनगुनाउँदै
उडेका थिए आकाशमा चारै दिशा
र फैलिएको थियो त्यो तरङ्ग अनन्तसम्म
त्यसैले त तिम्रो बोली यति सुमधुर छ
र सात समुद्र पार गरेर
तरङ्गित हुँदै आइपुग्छ मेरो हृदयसम्म
तिमी सधैँभरि यति नै सुमधुर बोलिरहनू नानु !