तिमी “देश” भन्छौ भने ……

रमेश गौतम 
नर्वे 

वसन्त
तिम्रा र मेरा निम्ति
कहिल्यै कोइली जन्माउँदैन
यो तिमीलाई पनि थाहा भएको होला !

हरपल हामी
न्याउल रोएको आवाज सुन्छौँ
जाबीका चराहरूको दर्द सुन्छौँ
टुहुरा-बेवारिस रोदन-क्रन्दन सुन्छौँ।

आऊ
तिमी “देश” भन्छौ भने
एक्काइसौँ शताब्दीको “मान्छे” आऊ
एउटा सभ्य गीत गाएर
अस्तित्वको सवाल लडौँ।

तिम्रो र मेरो
इतिहास रक्ताम्मे छ
तिम्रो र मेरो
वर्तमान शीताम्मे छ
तिम्रो र मेरो भविष्य अभिशप्त छ।
साँच्चै
तिम्रा र मेरा वसन्तहरू
हर समय हिमपातको पीडा रुन्छन्
हाम्रा न्याउलहरू
करुणा उमार्न पाउँदैनन्
यथार्थताको पोको खोलेर
हाम्रा “बुढा” सारङ्गीहरू
सत्यता बोल्न पाउँदैनन्
हाम्रो यथार्थ कैद छ
आजन्म !

तिमीसँग पनि त उही पीडा होला !
परिचयहीनता
तिरस्कार र अपमानजन्य दृष्टिहरू
टुक्रिएका आस्थाका महलहरू
अपार हीनताका पोखरीहरू
कति विवश छ हाम्रो दुनियाँ !
कति निरीह छन् हाम्रा आस्थाहरू !
कति दुर्दान्त छ हाम्रो परिवेश !
तिमी पनि त
म जस्तै ठगिएको छौ
समयको एकाकीपनले
परिवेशको जर्जरताले
तिमीसँग पनि त
आफ्नो केही छैन
आफ्नो सपना मात्र पनि छैन !

हामीभित्रका चर्चिलहरू
हामीभित्रका गान्धी-मण्डेलाहरू
साइनाइडयुक्त वातावरणको
मुठ्ठीमा कसिएका छन्;
बाघहरू
साधु बिरालो बनेर
मृगशावकहरू चपाइरहेछन्
यो तिम्रो-मेरो संसारको कथा !

तिमी “देश” भन्छौ भने
आऊ एउटा बुद्ध बोकेर
मानवीय स्वार्थभन्दा माथि उठेर
हामी सहयात्रा गरौँ
अस्तित्वको निम्ति !
अर्थहरूको निम्ति !!

११ मार्च २००२ 
हात्तीसार, धरान

Leave a Reply

Your email address will not be published. Required fields are marked *