तिमी नआउनू

Norway
Founder and Managing Editor - Bhutaneseliterature.com
Publication Director - Literature Council of Bhutan

रमेश गौतम 
नर्वे 

तिमी र म कुनै समय
एक-अर्काका पर्याय थियौँ;
आज
तिम्रो र मेरो यात्रा
दुई समानान्तर रेखा !

आजको यो पृथकता –
तिम्रो र मेरो
पृथक् सैद्धान्तिक मान्यता
आफैँमा महान् हुन सक्छ।

म बाँचेको संसार
मेरो परिभाषामा बाँधिदा
तिम्रो परिभाषाले
मेरो समय बाँध्दैन;
मेरो परिभाषाले
तिम्रो समय बुझ्दैन।

म चाहन्छु
मेरो सैद्धान्तिक मान्यता प्रतिकूल
मेरो संसार नभासियोस्
मेरा पाइलाहरू परीक्षित नबनुन्।

मलाई थाहा छ –
जीवन नैराश्यको बिम्ब होइन
जीवन पुष्प-सौन्दर्य मात्र पनि होइन।

आफैँ भित्र हराएर म
आज उद्घोष गर्दै छु –
मेरो संसार च्यातिएको बेला
मेरो दृष्टिमा निरीह
तिम्रा आफ्ना मान्यता बोकेर
तिमी मसामु नआउनू !
आफ्ना मान्यता ममा लाद्ने स्वार्थ बोकेर
तिमी मसामु नआउनू !!
आफ्नै मान्यतामा अडिग मलाई
बरु टुक्रन दिनू
नासिन दिनू
तर तिमी नआउनू !

१ जनवरी २००२
शनिश्चरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *