तिमी नेपाली अरे !
रमेश गौतम
नर्वे
विदेशी फ्याक्ट्रीको ढोकाहरूमा
विकट खानीहरूमा
विदेशी पल्टन र युद्ध भूमिहरूमा
जीवनको सवाल किञ्चित नराखीकन बाँचेको
तिमी नेपाली अरे !
बहादुरको संज्ञाले सम्बोधन गरिएको
विदेशी होटेलहरूको कामदार
विदेशी युद्धाग्निको अन्तिम पुरोडाश
गल्लीहरूको भिखारी
त्यो सबै
तिमी नेपाली अरे !
विदेशी वेश्यालयहरूमा
आफ्नो सबै भुलेर
कामोत्तेजना प्रदानार्थ बेचिएकी
तिमी नेपाली अरे !
गरिबीको रेखामुनि
तेस्रो दर्जाको जीवन बाँच्न बाध्य
विवशताको सिकार
सुखी बाँच्ने सपनामा
विदेशिएको
गुलाम बनाइएको
अबोध
गो प्राणी
किञ्चित उत्प्रेरणाको आवरणभित्र
छोपिएको
निसासिएको
प्राणरक्षार्थ बेचिएको
बेचिन बाध्य भएको
तिमी नेपाली अरे !
आफ्नो रगत-पसिना
मूल्यहीन बगाएर
विकशित बाँच्ने आशामा
हत्केलामा मुटु बोकेर
उकाली, ओराली अनि देउराली गरेको
भीर-पाखा रगतले पोतेको
अनि परिणाममा
शून्य पाएर
निराश भएको
तिमी नेपाली अरे !
शताब्दीयौं अघिदेखि
‘जीवन’ बाँच्ने आशामा
राष्ट्र र राष्ट्रोन्नतिको नाममा
पानी सरह खुन बगाएको
अथक जीवन यात्री
तिमी नेपाली अरे !
अथाह वेदना-प्रताडनाले
प्रताडित
आफ्नो मुक्तिको निम्ति
स्वजातिविरुद्ध
हतियार उठाउन बाध्य
सबै लुटिएको
‘सर्वहारा’
तिमी नेपाली अरे !
शताब्दीयौँ अघि हुने गरेका हिमपातहरू
आजसम्म रोकिएका छैनन्
शताब्दीयौँ अघि हुने गरेका
गला दबाउने खेलहरू
आजसम्म रोकिएका छैनन्।
तिमी विवश छौ बाँच्न
यो सबै परिस्थिति;
जीवनको गणितमा
अगणितीय बाँचेको
तिमी नेपाली अरे !
भीर-पाखाहरूमा
पहिरो र खोलाका किनारहरूमा
तिम्रा जीवाश्महरू
अझै भेटिन्छन्
नुन बोकेर हिँड्दा
तिब्बती भीरहरूमा
चुहेका पसिनाहरू
अझै पनि रसाउँछन्।
तिनै विकट भीरहरू
तिम्रो यात्राको पाइला बोल्छन्।
मान्छे चरो बनेर आकाशमा उड्दा
तिमी जिल्लिन्थ्यौ
आकाशतर्फ हेरेर,
सहर र मोटरको कथा सुनेर
तिमी ताजुब हुन्थ्यौ;
आज पनि
तिम्रो गति त्यही छ
तिमीले बगाएका रगत पसिनाले
कोही एउटा उड्यो चरा भएर
कोही एउटा पुजियो भगवान् भएर
वरदानको पर्खाइमा बसेको तिम्रो
पुस्तौँ बित्यो
समयले तिम्रै गला निमोठ्यो
समयले तिम्रै परीक्षा लियो
निर्दोष तिमी ठगियौ
कञ्चन मनस्थिति भएको तिमी
परीक्षाहरूमा अनुत्तीर्ण भयौ
बारम्बार – जहिल्यै !
कहिल्यै नमेटिने पीडा
मुटुमा बोकेर
जगत्मा हाँस्न बाध्य
निर्दोष, अबोध
तिमी नेपाली अरे !
फलाम पगाल्ने तातो पसिनाले
स्वार्थवाद पगाल्न सकेन
माटो, सुख्खा भीर भिजाउने रगतले
निराशा र कुण्ठा
पीडा र प्रताडना
निरीहता र गतिहीनता
केही पखाल्न सकेन।
संसारलाई विजयी बनाउने नेपाली
आफू जहिल्यै पराजित भयो
आफूले प्राप्त गरेको विजयको माला
अर्कालाई लगाइदिएर
दर्शक बन्न
शुभेच्छुक बन्न
विवश भयो नेपाली।
आफूले प्राप्त गरेको विजयले
अरू कसैलाई पुजेर
निरीह फर्कियो नेपाली
अनि संसारको बाह्रौँ गरिब बनेर
आँसुसँग गाँस खान
बाध्य भयो नेपाली।
जसलाई सहृदयी मित्र सम्झियो
र आधा गाँस दिएर पाल्यो
उसैले आफ्नो चोक्टा लुछ्दा
विकल्पहीन दर्शक बन्न
बाध्य भयो नेपाली
अर्काको अस्मिता रक्षार्थ
आफ्नो रगत बगाएर
आफ्नै लासहरूको पहाड बनाएर
जसको जीवन रक्षा गर्यो
उसैबाट लुटियो नेपाली
साँच्चै
हर कोणमा विजयी बनेर
पराजयको पीडा भोग्न बाध्य
तिमी नेपाली अरे !
क्लेश र दुर्दान्तताको
लेख्न नसकिने बोझिलो कथा
पराजय र निरीहताको
गाउन नसकिने बोझिलो गीत
उपहास र लाञ्छनाको
पर्दामा प्रतिबिम्बित गर्न नसकिने जटिल चलचित्र
तिमी नेपाली अरे !!
५ फेब्रुअरी २००२
हात्तीसार, धरान