तिमी, म र यो स्निग्ध गोधूलि

रमेश गौतम
नर्वे


तिम्रा पाइला पछ्याइरहेछु
स्फूर्त !
गोधूलीको स्निग्धताभित्र
तिमी छ्यौ, म छु र एउटा नीरव परिवेश छ।

फुसफुस झरिरहेछ
सेतो हिउँ
सुकोमल कपास जस्तै।
नजिकैको पोखरी-
जहाँ जहिल्यै रमाइरहेका हुन्थे हाँसहरू !
पानी जमेको छ यति बेला
र विस्थापित भएका छन् जलेवाहरु !
त्यही पोखरीमाथि
हिउँ चिप्लेटीमा मस्त छन्
केही केटाकेटीहरू !
पश्चिम क्षितिजमा
मुस्कुराइरहेछ पहेँलो घाम !
सेताम्मे रुखका हाँगाहरूबाट
एकसाथ उडेका छन् बगाले चराहरू !
तिमी हेरिरहिछ्यौ
पश्चिम क्षितिजमा डुब्दै गरेको घाम
अनि
म टोहोलाइरहेछु हिउँको फुस्फुसाहटसंगै !
“तिम्रो देशमा हिउँ छैन है ?”
“तिमीलाई जीवन जमेको अनुभव छैन। ”

नजिकैको जमेको छहराभित्र
सङ्घर्ष गर्दै झरिरहेछन् पानीका थोपाहरू !

“आज प्रकृतिका कुरा गरौँ !
यो पोखरी र छहरा,
अनि गोधूली साँझका कुरा गरौँ
यो हिउँको मनमोहकता
बालक्रीडा र हिउँ चिप्लेटीको रमणीयता
अनि कुरा गरौँ
खुल्ला र सफा आकाशमा उड्ने
यी स्वच्छन्द चराहरूको !”

आजै मात्र फेसबुकमा
मेरो गाउँको तस्बिर देखेको थिएँ
मेरो विद्यालय-
जहाँबाट मैले
तोते बोलीमा भाका हालीहाली
मेरो लवजका पहिला अक्षर सिकेँ,
जहाँबाट मैले
राजालाई “भगवान्” भन्न पनि सिकेँ
मेरो घरैछेउको नास्पातिको रुख-
जसलाई मैले सबैभन्दा ज्यादा माया गरेँ,
अनि
टाढा डाँडाबाट ओह्रालो झरेको
नागबेली सडक
सबै देखेको थिएँ-
एउटा विस्मृति बन्दै गरेको सपनाको दृश्य !

“हिउँको कुनै देश हुँदैन
यो जमेको छहराले
कुनै भूगोललाई आफ्नो भन्दैन
यी स्वच्छन्द उड्ने चराहरूको
सभ्यतालाई विभाजित गर्ने
कुनै संस्कृति हुँदैन
अनि
यी विस्थापित जलेवाहरुले
धर्तीलाई भागबन्डा गर्न
कोर्दैनन् रेखाहरू रगतले। ”

मलाई थाहा छैन किन हो-
सजल भएका छन् तिम्रा आँखाहरू !
भरे राती अबेरसम्म
क्रिष्टमसको रात्रिभोजमा
मजाले पिउनेछौँ र नाँच्नेछौं हामी
साल्साको सुरमा
मदहोश नाचिरहेको बेला
हामी घोषणा गर्नेछौँ-
संसार
उज्यालो देख्न चाहनेहरूका लागि
साझा फूलबारी हो।

पछ्याइरहेछु तिम्रा पाइला
गोधूलीको स्निग्धताभित्र
तिमी छ्यौ, म छु र एउटा नीरव परिवेश छ।

डिसेम्बर ३, २०१०
नर्वे

2 Replies to “तिमी, म र यो स्निग्ध गोधूलि”

  1. Yug Dabadi

    अत्यन्त प्रिय कविता | रमेशजीको लेखन क्रमिक रुपमा तिखो बन्दै छ | बिलकुलेई जन्मभूमिको स्मरण गराऊने | रमेश भाईको कलम बाट अरु धेरै पड़ने मौका मिलोस, लेखकलाई मुरी मुरी धन्यवाद |

    युग दवाडी
    अमेरिका

  2. Pranjal

    विस्मृतिमा हराएको देशलाई यति मिठो कविता मार्फत स्मरण गराउनुभएकोमा रमेश दाइलाई सलाम l

Leave a Reply

Your email address will not be published. Required fields are marked *