त्रिचन्द्रमा एउटा आलेख
बुद्धमणि ढकाल
हाल: अमेरिका
स्नातक दोस्रो वर्षमा पढ्न त्रिभुवन विश्वविद्यालयको त्रिचन्द्र क्याम्पस प्रवेश गर्न स्ववियु सचिव गगन थापासँग मैँले भेट गर्नु पर्ने भयो । विज्ञान संकायको दोस्रो वर्षमा मात्रै त्रिचन्द्रमा प्रवेश गर्न खोज्दा मैँले विद्यार्थी युनियनको साहयता लिनुपर्यो, बिहानको कक्षामा भर्ना हुन । म बिराटनगर छोडेर त्रिचन्द्रमा पढ्न खोजिरहेको थिएँ ।
गगन थापा मेरा समकक्षी रहेछन् – रसायन शास्त्रको प्रयोगात्मक कक्षामा उनी हामीसँग आउँथे । तर क्याम्पसमा उनी साँच्चै नेतृत्व क्षमता भएका विद्यार्थी रहेछन् भन्ने पछि थाहा भयो – धेरै कुरामा विद्यार्थी साथीहरूलाई सहयोग गर्न उनी प्रशासनमा आफैँ पुग्थे । गगनसँग मेरो साक्षात्कार त्रिचन्द्र प्रवेश गर्दा भयो तर आत्मियता चाहिँ भएन । म गगनको गुणगानभन्दा पनि त्रिचन्द्र वरपर बिताएका क्षणको यादमा यो लेख तयार गरिरहेको छु ।
घण्टाघर भएको राणाकालीन भवन र रानीपोखरीपटिको सरस्वती सदनमा दुई वर्ष बिते – विज्ञानका वनस्पतीशास्त्र, रसायनशास्त्र, तथ्याङ्कशास्त्र अनि अनुसन्धानविधिका कक्षाहरु लिएर । साथीहरूको अनुपम सङ्गम थियो त्रिचन्द्र – पश्चिम महाकालीदेखि सुदूर पूर्व अस्सम अनि म भूटानकोसमेत । क्षेत्रीय विविधताको ज्ञान घतलाग्दो भयो मलाई यो साथीहरूको सङ्गमबाट । विशेष गरेर पश्चिमलाई बुझ्ने मौका पाएँ मैँले । साथी तीर्थराज पाण्डेको डडेल्धुरा-महेन्द्रनगरको भाषिक अभिव्यक्ति मेरोभन्दा धेरै फरक थियो । अझ त्यसमा दीपक भट्टको पश्चिमी लवजमा भाषाको बेग्लै स्वाद हुन्थ्यो | यो सँगै उठ-बसको फाइदा मलाई भयो – पश्चिमको भाषा थोर बहुत बुझ्न थालेको थिएँ ।
बिहानको प्रयोगात्मक कक्षा सकेर हामी – तीर्थ, दीपक, अनुप, युवराज, नवीन र म- चिया नास्ता गर्न घण्टाघर वरिपरिका साना चिया घरमा जान्थ्यौं । मालपुवा, केराउ र आलुको तरकारी, सेलरोटी वा डोनोट, फुरन्दाना सँगै एक कप चिया पिएर पेटका मुसा मार्थ्यौ । यो छ भाइको डोरी गाँसियो रसुवाको लाङटाङ राष्ट्रिय निकुञ्जमा बिताएको तीन दिनमा। धुञ्चे, रसुवागढी, ठुलो स्याब्रु हुँदै चन्दनबारीसम्म पुगेर फर्कँदा हामी एक अर्कोलाई राम्ररी चिन्ने भैसकेका थियौँ । त्यसपछि हाम्रो छुट्टै पहिचान सुरु भयो त्रिचन्द्र क्याम्पसमा ।
त्रिचन्द्र क्याम्पसले लामो इतिहास बोकेको छ नेपालको शैक्षिक जनशक्ति उत्पादन गर्ने काममा । राणाकालीन प्रधानमन्त्री चन्द्रशम्शेर राणाले स्थापना गरेको यस कलेजमा नेपालका दिग्गज महानुभावले अध्ययन गरेका थिए भन्ने इतिहास बुझेर म अझ पुलकित भएँ । शैक्षिक केन्द्र मात्र होइन त्रिचन्द्र एक हिसाबले नेपालको राजनैतिक परिवर्तनको थलो पनि रहेछ भन्ने कुरा मलाई ज्ञान भयो । सुरुका दिनमा म निकै सङ्कोचित भएँ त्रिचन्द्रको राजनीतिक माहोल बुझेर – कतै पढाई जोखिममा पर्छ कि भनेर । बिराटनगरमा राजनीतिको चपेटामा क्याम्पस बन्द भएर दिक्क भएको म फेरि पढाई प्रभावित नहोस् भन्ने ध्यान गरिरहेको थिएँ । म मुसो जस्तै क्याम्पसभित्र पस्थें, चुपचाप कक्षा लिन्थें र समयमा डेरा फर्कन्थें । क्याम्पसमा अघिल्लो सालदेखि नै पढ्दैरहेका विद्यार्थी साथीहरूको हाउभाउ देखेर म निसन्देह रहन सकिनँ । गगन थापालाई भेट्न पर्खेर बसेका विद्यार्थी झुण्ड देखेर म निकै अचम्मित हुन्थें । लाग्थ्यो ती सबै कुनै राजनीतिक अभिष्ट लिएर स्ववियु सचिव गगनलाई भेट्न प्रतीराक्षरत छन् ।
तर त्रिचन्द्रलाई बुझ्ने अभिलाषा जारी रह्यो । सबै आ–आफ्नै धुनमा मस्त अनि आ–आफ्नै लक्ष्यमा अभिमुख । तमाम अन्य विद्यार्थीभन्दा फरक सोच लिएर त्रिचन्द्रमा प्रवेश गरेँ भन्ने मेरो बुझाई केही दिनमा गलत साबित भयो । म पनि त्यस माहोलमा घुलमिल हुन पुगें केही महिना पश्चात् । र बिस्तारै नेपालको जेठो क्याम्पसमा पढ्दैछु भन्ने गर्व गर्न थालेँछु भित्रभित्रै ।
२०५६—५७ को शैक्षिक सत्रदेखि त्रिभुवन विश्वविद्यालयले स्नातक तहलाई तीन वर्षे कार्यक्रम बनाएपछि हामी स्नातक तह तेस्रो वर्ष पढ्ने पहिलो विद्यार्थी समूह पर्यौं । कक्षा कोठा नमिलेर, पढाउने विषयमा आनाकानी गरेर, पाठ्यपुस्तक र विषय सूचिको तादात्म्यता नमिलेर तेस्रो वर्षको कक्षा धेरै ढिलो गरी मात्र सुरु भयो । हामी छ भाइ सबैले वनस्पती शास्त्र पढ्ने भयौँ । त्यसमा हितैषी दुई महिला मित्रहरू, अञ्जु अमात्य र नारायणी थापा पनि हामीसँग मिसिए । कक्षाहरु नभएको हिउँदका चिसा दिनमा हामी रानीपोखरीपटिको विज्ञान भवनको छतमा न्यानो घामको प्रतीक्षा गथ्र्यौँ । यस्तो कक्षा नभएको मौकामा म ब्रिटिस काउन्सीलको पुस्तकालय समेत जाने गर्थें । एक चोटि पुरै कक्षा जय नेपाल चित्र घरमा एरिक भ्यालिको काराभान हेर्न गएको याद छ मलाई ।
वनस्पती सङ्कायमा सोम सरको नाम निकै लोकप्रिय रह्यो । सोम सरको कक्षा लिन पनि धेरै साथीहरू अन्तिम समयसम्म बस्थे । तर साना बोर्डिङ स्कुलमा पढाएर काठमाण्डौंको डेरा भाडा र खाने आय स्रोत मिलाएका साथीहरू अगाडिका दुईवटा कक्षा मात्र लिएर फर्कन्थे । म भने जर्मन सरसकारले दिएको शरणार्थी छात्रवृति पाएको हुनाले, काम गरेर खाने बस्ने बन्दोबस्त आफैँ मिलाउनबाट मुक्त थिएँ । यस कारणले पनि मैँले वनस्पती शास्त्रको पढाइमा अरूभन्दा ज्यादा समय खर्च गरेँ भन्ने लाग्छ । विशेष गरेर प्रयोगाात्मक कक्षाहरुमा म अति ध्यान दिने गर्थें ।
सन् १९९९ मा तेस्रो वर्षमा नेपालको सुदुर पश्चिम महेन्द्रनगर पुग्यौं हामी वनस्पती शास्त्रको अध्ययन भ्रमणका लागि । शाही शुक्लाफाँटा वन्यजन्तु आरक्षमा परिस्थितिविज्ञान (इकोलोजी) को प्रयोगात्मक कक्षा गरेर पाँच दिन बित्यो । महाकाली नदी नेपाली राजनीतिमा धेरै सुनेको नाम थियो, प्रत्यक्ष देख्न पाइयो । टनकपुर बाँधले भारत नेपाल सम्बन्धमा बेला बखत चिसो थपिरहन्थ्यो। भारतले जथाभावी सीमास्तम्भ सारेको कुरा महेन्द्रनगरका बासिन्दाबाटै सुन्न पाइयो, हेर्न पाइयो । एक बिहानको भ्रमण टनकपुर बाँधसम्म भयो । भारतले नेपालमाथि गरेको अन्याय महाकाली तरेर बनबासा पुगेपछि अझ राम्ररी थाहा भयो । टनकपुर बाँधबाट सिंचाइ नहर नेपाल र भारत दुवैतिर लगे पनि महाकालीको पानी भारततिर बगेको नहरमा मात्र थियो, नेपालतिर बगेको नहर सुख्खा थियो ।
शुक्लाफाँटाको काम सकेर हामी भारतको रमणीय पर्यटन स्थल नैनिताल जाने भयौँ । यो हाम्रो विशुद्ध रहरको भ्रमण थियो, त्यसैले अलि स्वतन्त्र भएर हिँडियो, मनलाई धेरै नियन्त्रण नगरी नैनितालको पानीसरि छोडिदियौं । एक दिनको नैनिताल बसाइमा हामीले एक अर्कामा अझ नजिक भएको अनुभव गर्यौँ साना साना झुण्डमा विभाजित भएर, हाँसिमजाक गर्दै हिँडेर। नैनितालको पानीमा खुट्टाले चलाउने डुङ्गा लिएर हामीले आनन्दको यात्रा गर्यौँ । त्यो मौका कतिपय साथीहरूले एक अर्काप्रति अङ्कुराउन थालेको प्रणय सम्बन्धलाई बढाउन प्रयोग गरेको पनि देखियो ।
तीर्थ, युवराज, नवीन र मसँग नारायणी र अञ्जु प्राय साथै हिँडे । नवीन र युवराजका उरन्ठ्यौला गफ र रमाइलो गर्ने तरिका प्रति समर्थन जनाउँथे यी महिला मित्रहरू । त्यसको साथै मेरो गम्भीर स्वभावलाई र तीर्थको थोरै बोल्ने आदतलाई सम्मान गर्न जान्ने यी दुई प्राणी यो भ्रमण पछि हाम्रो समूहमा विधिवत भित्रिए ।
नबिर्सिने कुरा त दिनभर सङ्कलन गरेको खेस्रा तथ्याङ्कलाई बेलुका होटलमा लेख्न बस्दा छुटेको हाँसोको फोहोरा भएको छ । कति साथीहरूले बिर्से होलान् तर म त्यो उटपट्याङ हँसाइबाट कति चोटि दिक्क भएको थिएँ, बिर्सन सक्दिन । अञ्जु, जमुना, नारायणी, बिमलाहरु नवीन र युवराजका आकाश पाताल जोडने उरन्ठ्याउला वाकपटुतालाई सर्मथन गर्दै र अरू तुक बिनाका पुच्छर जोड्दै हाँसिरहन्थे । म भने दिनभरिको काम बेलुका लेखेर सिध्याउन चाहन्थें, र चाँडै सुत्न चाहन्थें ।
तेस्रो वर्षको अन्तिमतिर एउटा कलेज वर्षपत्रिका निकाल्ने भए साथीहरूले । मेमोरी लेन त्यसको नाम । मैले अङ्ग्रेजीमा एउटा नियात्रा लेखिदिएँ —लाङटाङमा बिताएका तीन दिनलाई उधिनेर । पछि थाहा पाएँ त्यो लेख धेरैले मन पराएछन् — मलाई नचिन्ने अन्य साथीहरूले पनि ।
आत्मियताकै कसिमा कुरा गर्ने हो भने पनि हामी ६ भाइ जतिको नजिक अरू कोही हुन सकेन होला भन्ने लाग्छ । त्यस बेला नवीन र म चाहविलमा बस्थ्यौं । तथ्याङ्क शास्त्रको कक्षा राम्रो नभएकाले हामी ट्युसन पढ्न बाध्य भयौँ । चाहविलमा ट्युसन पढ्ने व्यवस्था मिलाएर युवराज, म, तीर्थ, नवीन र दीपक रोजै भेट्न थाल्यौं । सरसँग ट्युसन पढिसकेर चाहविल चौकमा घण्टौंसम्म बरालिन्थ्यौं, नाना थरीका उट्पट्याङ गफ निस्कन्थे र हाँसेर समय बितेको थाहा हुन्नथ्यो । कहिले तत्कालीन राजनैतिक अवस्था, साहित्य, सिनेमा र गीतका बारेमा विश्लेषणात्मक कुरा पनि हुन्थे । युवराज र म कहिलेकहीँ अङग्रेजी पत्रिकाका लागि लेख्ने पनि काम गर्थ्यौँ । लेख्ने विषयमा छलफल र आदानप्रदान चल्नु हाम्रो लागि अझ नजिकिनु हुन्थ्यो । विचारमा समभाव भेटिन्थ्यो । यसरी तेस्रो वर्ष भरि चाहविल हाम्रो अड्डा नै भयो ।
चाहविल बसाइकै कारण नवीनका मामा माइजूसँग पनि सम्बन्ध गाँसियो । तेस्रो वर्षको परीक्षा नजिकिँदै जाँदा तीर्थ र म नवीनको मामा घरमा सधैँ जसो पढाइको छलछफल गर्न भेला हुन्थ्यौैं । त्यसैले पनि हामी अझ पारिवारिक सम्बन्धको निसर्त भावनामा बाँधिएछौँ । यो सम्बन्धपछि सम्म कायम रह्यो ।
तेस्रो वर्ष सकेर म मेरो वचन पुरा गर्न शिविर फर्किएँ । साथीहरू एम् एस्सी गर्न केन्द्रीय विभाग कीर्तिपुरमा भर्ना भए । एक वर्षपछि म काठमाण्डौं फर्कँदा कीर्तिपुर केन्द्रीय पुस्तकालयमा हाम्रो बेला बखत जीवनको लक्ष्य र भविष्यको बारेमा कुरा हुने गथ्र्यो । वैवाहिक जीवनको बारेमा कुरा हुन थाल्यो । त्यसबेलासम्म अनुप र युवराज समूहबाट छुट्टिसकेका थिए ।
चाहँदा मित्रता अमर राख्न असम्भव हुँदोरहेनछ । सन् २००९ मा मलाई अमेरिका आउने अवसर मिल्यो । काठमाण्डौंमा आइ ओ एम ट्रान्सिटमा मलाई भेट्न आउनेमा अञ्जु, नवीन र तीर्थमध्ये नवीन पहिल्यै संयुक्त अधिराज्य पुगिसकेको थियो । तर त्यो मित्रतामा खोट लागेको भए आजसम्म यी साथीहरूसँग सम्बन्धमा रहन सकिन्नथ्यो । सामाजिक सञ्जालले यो मित्रता कायम राख्न ठुलो मद्दत गरेको छ । आज पर्यन्त तीर्थसँग चाहिँ निकै बाक्लो अनलाइन भेटघाट भइरहेको छ । काठमाण्डौंमा बसुन्जेल तीर्थ र म एक अर्काको डेरामा आइजाइ गरिरह्यौं । कहिलेकहीँ अनुपको घर साँखु गयौँ, अनि माथि डाँडासम्म घुम्न, रमाइलो गर्न गएका थियौँ । यी सबै साँच्चै बिर्सिनसक्नुका क्षण हुन् मेरा लागि ।
अहिले सम्झिँदा त्रिचन्द्रले धेरै सिकाएछ मलाई, धेरै जीवनको मर्म बुझ्न र जगतको विशृङ्खल प्रपञ्चलाई नियालेर हेर्न । बिस वर्षको कल्कले उमेरमा घर छोडेर हिँडेको म त्रिचन्द्र कलेजबाट निस्कँदा जोस र आँटले भरिएको परिपक्व योद्धा बनिसकेको थिएँ । ती सबै गुण जो मैँले बटुलेँ, त्रिचन्द्रमा भेटेका यी सहृदयी मित्रहरू र शिक्षकहरुसँगको सम्पर्क र सम्बन्धले दिएका देन हुन । यसो भनौं हामी सबैलाई गरी खान सिकाएछ त्रिचन्द्रले ।