देशको बाटो

टी.आर. रेग्मी
खुदुनाबारी

जब म सोध्थें
बयान गर्थे मेरा बाबा-आमा
त्यो हरियाली वनजंगलको,
ती हिमशिखरहरुको,
ती खेत,खर्क र बारीहरूको.
ती खोला-नाला र वनपाखाहरुको,
पूर्खाहरुको वलिदान र त्यागको,
आफ्नो प्यारो जन्मभूमिको,
कहिले कहीँ यसो भन्दा-भन्दै
रसाउँथे ती भावुक आँखाहरू
मलाई के थाहा ?
देश हुनु र नहुनुको महत्व,

जब म बढ्दै र बुझ्दै गएँ
बल्ल देश भनेको बुझ्दै छु
तर,
मेरो देशको भूगोल खोइ ?
मात्र टुक्रा-टुक्रा
केही टुक्रा-टुक्रा उत्तरी ध्रुवमा
केही टुक्रा-टुक्रा दक्षीणी ध्रुवमा
कहाँ -ती पहाड, झर्ना खोला
कहाँ -ती खेतबारी, हिमश्रृंखला
कहाँ-हाम्रा पूर्खाको त्याग र समर्पण

खोई कहाँ छ हाम्रो आफ्नो माटो ?
खोई कहाँ छ हाम्रो समृद्ध संस्कृति
खोज्नु छ प्रत्येकको हिसाब-किताब
खोज्नु छ आफ्नै देशको माटो
खोज्नु छ, आफ्नै देशको बाटो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *