देशको सम्झनामा-३
भक्त घिमिरे
अमेरिका
…..अघिल्लो प्रकाशित अंकबाट क्रमश:
धारामा पानी भर्न आएकी योल्मो गाग्री त्यहीँ राखेर स्याँ- स्याँ गर्दै बलबहादुर विष्टको घरछेउ पुगी । एक-दुईवटा पोकामा चामल, लुगा-फाटो र भाँड़ा-वर्तन पोको पारेर राख्दैछन् बाबु-छोरा । आमाचाहिं तुलसीको मठछेउ बसेर अनेक विलौना गरी रुँदै थिइन् । परैबाट लुकेर हेर्दा-हेर्दै आँखाबाट पिल्पिल आँसु झरेको योल्मो थाहा नै पाउँदिन । त्यतिकैमा घर मास्तिर पर्खालको सिँढीबाट ठक- ठक जुत्ताको आवासँगै ‘डासो’ ठिन्ले ओर्लियो अनि उसका पछि-पछि धने कारबारी पनि । विजय मातेको शिंहजस्तै भएर धने कारबारीको अगाड़ि गर्जियो, ‘‘यो सत्य हो कि म देश छोड़ेर जाँदैछु तर, म यहीँ हुँदा-हुँदै मेरा सामु पर्ने हिम्मत कसरी गरिस्? धने कारबारी, तेरो कारणले आज हामीले यो दुःख-कष्टको सामना गर्न बाध्य भएका छौं । म तँलाई जिउँदो छाड़्दिनँ ।’’ यति भनिसकेर विजयले धने कारबारीको गर्धन निमोठिसकेको कसो थियो, ठिन्ले दोर्जीको बज्रजस्तो लातले विजयको कोखामा लाग्यो, उछिट्टिएर पर पछारियो । साइँला बाजे अत्तालिँदै छोराको छेउमा पुगेर उसलाई सुम्सुम्याउन थाले । ठिन्ले पर उभिएर साइँली बज्यैलाई हेर्दै हाँस्न थाल्यो –हा… हा… हा…! ‘‘आबो बेट्यो, कस्तो लाग्यो तिमीलाई ? जान्न भन्छ हैन । तिमी सबलाई आबो खरानी बनाइदिन्छु ल ’’- यति भन्दै केही पर गई सुनपाटको झुत्रोमा आगो सल्काइदियो ठिन्लेले अनि फेरि हाँस्यो ऊ प्राचीन कथाको दैंत्य शैलीमा-हा…हा…हा…!
आगो दन्दनी दन्किन थाल्यो । धुवाँको मुस्लोले आकाश छोपेको दृश्य कहालीलाग्दो छ, मानौं ठिन्ले दोर्जीले विष्ट बाजेमाथि गरेको अत्याचार देखेर आक्रोशले आकाश पनि धुम्मिएको छ । उठेर ठिन्ले छेउ जाँदै विष्ट बाजेले भने-‘‘हेर ठिन्ले, तेरो के बिगारेको छु मैले र मलाई यस्तो हुर्मत गरिस् ?’’
पुस्तौंदेखि दक्षिण भूटानमा बास गरेको ठिन्ले तरुण उमेरमा वनारससम्म पुगेर सरकारी खर्चमा संस्कृत अध्ययन गरी फर्किएको थियो । निकै राम्रो नेपाली भाषा बोल्ने ऊ मनपरेको बेला उखान-तुक्कासमेत जोड़ेर निकै आकर्षक शैलीमा कुरा गर्थ्यो । उसले विष्ट बाजेको जिज्ञासू प्रश्नमा जवाफस्वरूप भन्यो-‘‘मेरो के बिगारिनस् तैंले, सारा जिन्दगी सर्वनाश गरिस्, तेरो छोराले मेरो जीवनभरिको आर्जित बहुमूल्य चीजमाथि हात हालेर उम्काएको छ ।’’ यही क्रममा विष्ट बाजेको गोठका गतिला गाईहरू डोर्याउँदै धने कारबारी पनि छेउमा आइपुगेको थियो । घुटुक्क थुक निल्दै लड़िरहेको विजयलाई एक आँखाले, त्यो पनि कोल्टे हेर्यो धनेले । धनेपटि हेरेर आँखा झिमिक्क गर्छ ठिन्ले, आपसी संकेत उनीहरूका बीच सजिलै बुझाबुझ हुँदो रहेछ, दुवै विजयका हात समाउन पुग्छन् । अर्धचेतमा रहेको विजयलाई घिस्याउँदै ल्याएर ठिन्ले र धनेले दन्किइरहेको आगोमा हाल्नमात्र के लागेका थिए-अकस्मात ! ‘‘ठक-ठक, दुवैका टाउकामा लट्ठी बज्रेको आवाज आयो । धने कारबारी त बेहोश भएर धर्तीमा ढलिहाल्यो, ठिन्ले भने पछि फर्केर नहेरी आगोको ज्वालो नाग्दै उफ्रेर भाग्यो । निमेषभरको दौड़ाइमै ऊ घर पुगेर लुक्यो ।’’
जब विजयले विस्तारै आँखा खोल्यो छेवैमा उभिएर प्राकृतिक देवीले दर्शन दिएझैं लाग्यो उसलाई । संकटको घड़ीमा ज्यानको बाजी लगाएर विजयलाई बँचाउन आएको त्यो आगन्तुक अरु कोही नभएर योल्मो नै थिई । बेहोश रहेका बाबु र शिथिल आमालाई समेत बिर्सिएर पहिले योल्मोलाई नै मायालु स्पर्श गर्यो विजयले । फर्ररर…परेको घाँटीसम्म आउने केशराशी, कानमा ठूला-ठूला गोलाकार रिङ, पुष्ट गालामा घुरिला आँखा अनि गोलो अनुहारमा सुहाउँदिलो नाक, कालो कपड़ामा रातो धर्का भएको ‘किरा’ लाएकी, एक हातमा गतिलो लट्ठी लिएर एक हात आफ्नै कम्मरमा राखेकी, मुहार हेर्दा क्रोधले चूर, गम्भीर मुद्रा देखिने, अनुहार पसिनाका कणहरूले भरेकाले लटरम्मै हिराको हार पहिरिएझैं-साँच्चै दुष्टहरूको सफलतम बध गरेर सगौरव उभिएकी मानवमुक्तिकी प्रतिमूर्ति देख्यो विजयले ।
‘‘योल्मो, म कृतज्ञ छु, तिमीले आज मलाई बँचायौ ।’’
‘‘विजय, के भनेको यो ?’’, प्रश्नात्मक जिज्ञासा राखी योल्मोले- ‘‘मायाको सम्बन्ध भावनासँग हुन्छ । तर, भावनाभन्दा पनि ठूलो मानवीय कर्तव्य हुन्छ । तिम्रो र मेरो पवित्र मायाबाहेक मैले मेरो कर्तव्य पनि पूरा गरें । न्यायको पक्षमा एक कदम मैले पनि त उठाएँ, यसैमा मलाई सन्तुष्टि छ । एउटा मान्छेले अर्को मान्छेलाई आपत्कालीन स्थितिमा बँचाउने मान्छेकै कर्तव्य हैन र ?’’, कुनै समाजशास्त्रीले वक्तव्य दिएझैं प्रश्नात्मक शैलीमा बोली योल्मो, विजय निःशब्द सुनिरह्यो । यतिकैमा उसका नयनमा बलैले रोकेर राखिएको नदीको वेग छुटेझैं वर्षिनथाले अश्त्रुधाराहरू । उठेर योल्मोका गालामा आँसु पुछिदिन थाल्यो विजय खल्तीको रुमाल झिकेर ।
आज देशसहित सर्वस्व लुटियो साइँला बाजेका लागि । पर्सी त देशको सीमा कट्ने कबुलनामा गरिएको थियो, आजको एक रात र भोलिको चौबिस घण्टा छिमेकी च्याङ्बा आशेङको गाई-ग्वालीमा बास बस्ने बन्दोबस्त भयो । जलेर रहेका थोत्रा-मोत्रा बँचेका चीजहरू थुपारेर आगो साँझ बत्तीको रूपमा सल्काए साइँला बाजेले । गाई-ग्वालीमा समेत आगो लगाइदिएकोले अधिकांश गाई-वस्तु जलेर समाप्त भएकै थिए तर, धने कारबारीले लैजान तयार पारेका गाईहरू बाँचेका थिए । तिनै गाईहरू आगो सल्किँदा ‘‘स्वाँ-स्वाँ’’ गर्दै हेर्छन् आगोतिर-कठै बोली आउने भए के के कुरा गर्ने थिए ती पशुले ? तिनका साथी-संगी र छोरा-छोरी, आफ्ना सन्तानहरू के भएर मरे-प्रश्न गर्ने थिए अवश्य नै । यस्ता कुराहरूले पीड़ा थपिदिए साइँला बाजेलाई । ‘‘फेरि योल्मो? किन बँचाई उसले मेरो छोरालाई ?’’ जिज्ञासापूर्ण अन्योलले गाँज्यो बाजेलाई । अड्कलबाजी धेरै मान्छेका धेरै भए ।
आज बलबहादुर विष्टको परिवार च्याङ्बा आशेङको ग्वालीमा बास बसेको दुई दिन बितिसकेको थियो । धने कारबारीले लैजान लाग्दा परिबन्दले उम्किएका चारमाउ गाई र एउटा बाछी च्याङ्बालाई नै छोड़ीदिएर जाने निर्णय गरे बाजेले । ‘‘च्याङबा नानी, पाली-पोषी हुर्काए तिम्रै सम्पत्ति हो, पछि हामी फर्केर आयौं भने एक-दुईवटा पशुधन हामीलाई निः दिनू, पुग्यो त्यति भएदेखिन्’’, रोदन मिश्रित स्वरमा यति बोले बाजेले । बज्यै अघिदेखि रोइरहेकै थिइन् ।
आमा र बाबुको यस्तो अवस्थाले पिरोलिएको विजयलाई योल्मोसँगको बाध्यात्मक वियोगले अझ पोलेको छ । मस्तिष्कले काम गर्नै छोड़ेको महसुस गर्दैछ विजय । ‘‘योल्मोलाई समेत लिएर जाऊँ भने कहाँ पुगिन्छ कहाँ ?, अर्काकी पारिवारिक सदस्य, अर्कै जाति-समुदाय ! जाति-परम्परामा निकै कठोर हद् राख्ने बाबु-आमाले के भन्ने हुन्’’, यस्तै अनेकन द्विविधाले गाँजेको छ विजयलाई । यस्तो दुःखित अवस्थामा बाबु-आमाको स्यहार नगरेर आफ्नो विवाहको कुरो उठाउन पनि सकेन उसले । यतिकै हिन्दा योल्मोले सोझै बाटो छेकी भने के हालत होला भन्ने पनि सोच्यो विजयले एकपटक । विजयले सोच्यो-‘‘हामीलाई त वीरका सन्तान भन्थे, संसारलाई जितेर अजेय पुर्खाका विजेता सन्तान भन्ने उपाधि हाम्रै थियो, तर आज आफैंलाई भै-परिआउँदा खै?’’ दुई-चार पैसाको लालचमा स्वभिमान गुमाएर भतुवा र सुसारे भई भुँड़ीको मोजमा मस्त हुने एक-दुई चाकरीबाज लुच्चाहरूको कारण सारा समाजले दुःख झेल्नु परेको छ । आफ्नो घरभित्रै भ्रष्टाचार गर्ने, भँडार खनेर आँगन पुर्ने धने कारबारी जस्ता समाजभाँड़ा तत्वहरूको कारण हामीले यस्तो संकट झेल्नु परेको छ- विजयले संश्लेषात्मक विवेचना गर्यो ।
यतिकैमा साइँला बाजे विस्तारै डुँड़ेहातले लट्ठी समातेर टेक्तै उठेर आमा-छोरातर्फ नजर दौड़ाउँदै अघि-अघि लागे । बाजेकै पछि पछि सबै लागे बाटो प्रतिशोधपूर्ण रोदनको कोलाहलमय सागर पार गर्दै । देशको सीमा नाघेर भारत पस्ने बेला एउटा गोधुली बजार थियो । बजार छेउको फलैंचामा एउटी केटी बसेकी छ, योल्मो ! तमासले हिँक-हिँकाउँदै रोइरहेकी छ ऊ । फलैंचामा पुगेपछि बाजे पनि निमेषभरको हैरानी बिसाउनलाई बस्छन् । यसो योल्मोतिर नजर लगाएर फेरि विजयको मुखमा हेर्छन् बाजे अनि भन्छन्, ‘‘यो नानी उही हैन, तँलाई आगोबाट बँचाउने ?’’ विजय शिर हल्लाएर स्वीकारोक्तिको संकेत गर्छ । ‘‘धन्य छौ नानी तिमी, मेरो छोरोलाई बँचाएर आज तिमीले मेरो उद्दार गर्यौ । ममाथि ठूलो गुण लगायौ नानी । तिमी पौरखी हुनु है मेरो आशीर्वाद तिमीलाई’’-यति भन्दै बाजेले योल्मोको शिर थप्थपाए । योल्मो दुई हात जोड़ेर आँखा बन्द गरी आशीर्वाद ग्रहण गर्छे चाहे जुनसुकै कामना उसको हृदयमा भए पनि । आशीर्वादको चरणमा विजय पनि साथै बसेको भए कस्तो उत्तम हुनेथ्यो-मनमनै कुरामात्र खेलाई उसले । बाजेले आशीर्वाद दिँदा-दिँदै मुख-जवाफ पो दिउँ कि झैं गरी योल्मोले एकपटक । ‘‘मेरो पौरख त तपाईंकै अधीन छ बाबा, मैले तपाईंको छोरा बँचाएर तपाईं र तपाईंको परिवारलाई मात्र गुण लगाएकी हैन, त्यसमा मेरो पनि स्वार्थ छ । म आफ्नै स्वार्थ बँचाइरहेकी थिएँ । तर यो मैले साधन गर्नैपर्ने स्वार्थ थियो, मेरो जीवनसित सरोकार राख्ने बहुमूल्य सवालको स्वार्थ थियो, त्यसैले मैले चुनौती उठाएर मेरो अपराधी धर्म-बाबु र धने कारबारीमाथि बज्र-आक्रमण गरें ’’-यति कुरा धमाधम भनी बाजेलाई योल्मोले तर, उसको मनमनै, सुन्नेगरी हैन, यी कुरा भन्ने अठोट गरे पनि उसले मुख फोर्न भने सकिन । यो मौनताको घडीले विजयलाई आकाश झरेर आफ्नै टाउकोमा बजारिए झैं लागिरहेको थियो । एका-अर्कामा हेराहेर चलिरहेकै थियो अघिदेखि योल्मो र विजयका बीच । विजयले बाबु-आमालाई अब अन्तिम विदाईको समय आएकोले हिँड्न अनुरोध गर्यो । वियोग प्रारम्भको अन्तिम चरणमा बाजेले उठेर योल्मोलाई हेरे र भने, ‘‘नानी, हामीले बाध्यतामा छोड़ेर हिँड़े पनि मैले पालेको कुकुर, बिरालो रुन नदिनू, घर त डढेको छ, घर परतिर खोरमा कुखुरा थिए, के भयो कुन्नि ?, अनि आँगनको छेउमा रोपेको चमेली फूलको विरुवा मर्न नदिनू है नानी…हामी शायद आउने दशैं वा तिहारसम्ममा त फर्किएर आउने नै छौं ।’’ बेला-बेला विजयका साथीहरू आत्तिँदै आएर घरमा भात खाने अनि जानेबेला भन्ने गरेका कुरालाई अलिकति झिकेर योल्मोसित बाँडे बाजेले पनि । उनीहरू भन्थे, ‘‘हामी धेरैभन्दा धेरै नागरिकहरू देशबाट बाहिर भयौं भने सरकारले घुँड़ा टेकिहाल्छ निः धेरै भनेको छ महिना हो, सरकारले हामीलाई स्वागत गरेर सीमाबाट भित्र बोलाउने छ । हामी सबै सीमातिर भेला भएर फुञ्छोलिङबाट विशाल जनसागरको जुलूस लिएर थिम्पू जानेछौं । हतियारले हामीलाई दमन गर्ने प्रयत्न गरियो भने हाम्रो पनि हतियार उपयोग गर्ने योजना छ, ठट्टा छ र, हामीसँग पनि सिमानाबाटै थिम्पू ध्वस्त गराउने हतियारहरू छन् । आउने दशैं मान्न सकिएन भने पनि तिहार त हामी आफ्नै घर-घरमा मनाउने छौं ।’’
बाजेको कुरा सुनिसक्दा नसक्दा योल्मो एकोहोरिएकी थिई । साइँला बाजे र बज्यै गएतिरै आँखा चिम नगरी योल्मो एकोहोरिएपछि विजय उसको छेउमा पुग्यो । तर, उतिबेला योल्मो बेहोश भएर धर्तीमा ढलिसकेको थिई । छेउको एउटा नलबाट अञ्जुलीमा पानी उठाएर ल्याई छ्यापो विजयले । धेरैबेर पछि योल्मो ब्यूझँदा विजयले उसको टाउको काखमा राखेर कपाल सुम्सुम्याउँदै रहेछ ।
योल्मोले आँखा खोलेपछि विस्तारै उसले सोध्यो-‘‘के भो योल्मो तिमीलाई ?’’ ‘‘के भन्नु र विजय, मलाई के भयो भन्नु, जुनकुरा पहिले नै थाहा छ, त्यसकै बारे प्रश्न सोधियो भने त्यो उत्तरविहीन हुन्छ । आफ्नो प्राणले आफूबाट विदा माग्नथाल्यो भने अरु सबैलाई के हुन्छ त्यही भयो नि मलाई पनि । अब मेरो संसार जलेर भष्म हुनलागेको छ । मेरो प्रियतमले यति ठूलो कष्ट भोग्नु परेको बेला पनि मैले साथ दिन सकिनँ । मलाई लाग्छ अब हाम्रो सम्बन्धको अन्त्य हुन लागिरहेछ । फेरि तिम्रो र मेरो प्रेमको परिणाम पनि मेरो पेटमा चल्मलाउन थालेको छ । मेरो के स्थिति हुने हो अब ?’’ योल्मोले एक सासमा यति भनेपछि विजयको बोल्ने पालो-‘‘तिमी चिन्ता नगर योल्मो, म आमा-बुवालाई एक ठाउँ टुंगो लाउनसकें भने तुरुन्तै आइहाल्छु अनि तिमीलाई सधैंका लागि आफ्नो बनाएर लैजान्छु ।’’ प्रतिरोधक प्रश्न राख्छे योल्मो-‘‘कहाँ लगेर राख्छौ, कसरी टुंगो लाउँछौ अर्काको देशमा कुन ठाउँ भेटेर छोडौला ती बुढा-बुढीलाई, कठै ! आफ्नो देश, सम्पत्ति, सारा अस्तित्व नै त्यागौ अब !’’ फेरि बोल्छ विजय-‘‘होइन योल्मो, यो कदापि हुनसक्दैन । म विदेशमा मर्दिनँ । देश, सम्पत्ति, अस्तित्व सबै छोड़्नै परे पनि मैले प्राण त त्यागेको छैन निः । जिन्दगी रहेसम्म पक्का हाम्रो पुनर्मिलन हुनेछ यदि हामीबीच सत्यता कायम रहेछ भने । म त आमा-बुवालाई बाटोमा कष्ट होला भनेर पो उहाँ (नेपालका शिविर) पुगुन्जेल साथै जान लागेको । नेपालमा शिविरहरू खोलेको छ रे…भूटानबाट लखेटिएर हामीजस्तै कष्ट परेकाहरू त्यहीँ छन् रे । म पनि त्यहाँ पुगेर सानो बस्ने-खाने छाप्रो बनाई संस्थाले दिएको खाध्यलाई प्रयोग गर्ने विधि-व्यवस्था मिलाइवरि आई हाल्छु योल्मो, मेरो विश्वास गर । म पनि विदेशमा अर्काको दान थापेर खाएर बस्न सक्दिनँ । मर्नै परे पनि मत भूटानभूमिमा पैताला राखेरमात्र मर्छु । म तुरुन्तै फर्केर आउँछु योल्मो, तिम्रो कष्ट पनि मलाई अनुमान छ । तर के बाध्यताले जसो पनि गराउँदो रहेछ, दुई-चार दिन शान्त भएर बसिदेऊ है ।’’ योल्मो विजयको काखमा आफ्नो शिर राखेर बसेकी छ । विजय हातका औंलाहरूले योल्मोको केशराशी कोर्दैछ । योल्मोका दुवै हातहरू विजयको अर्को हात समातेर औंलाहरू खेलाउनमा व्यस्त छन् । ‘‘अब मैले के भन्ने र विजय’’ भन्दै योल्मो जुरुक्क उठी । ऊ फेरि बोल्न थाली,‘‘यो मेरो विन्ति छ कि तिमी चाँड़ोभन्दा चाँड़ो फर्केर आउनु, अनि तिमी, म र हामीबाट जन्म लिने यो बच्चाले यी सबैखाले अन्याय र भ्रष्टाचारको अन्त्यका लागि संघर्ष गर्ने प्रण गरेकी छु मैले । म त भोटिया जातीय खलकमै पर्छु । म एकस्वभिमान नारी । नेपालीभाषीमात्र यो संकटमा परेको होइन विजय । मेरो अस्तित्वसँग ठिन्ले दोर्जीले आफ्नो जीवनका मोज-मस्ती साट्ने निश्चय गरेको थियो । मेरो अस्मिता दरबारमा लिलाम गरेर उसले स्वार्थसिद्धि गर्न धेरैपटक प्रयास गरेको छ । नारीको इज्जत र अधिकार, व्यक्तिगत स्वतन्त्रता खोई त यहाँ ? यो विषयमा म बुलन्द आवाज उठाउने छु तिमी अरु कुराको विषय उठाउनु । तर विजय त्योभन्दा पहिले यो बच्चालाई सन्तुलित वातावरणमा जन्म दिने विचार गरेकी छु । यो सबै तिम्रो हातमा छ विजय, तिम्रो हातमा ।’’ यतिकैमा विजय पनि उठ्यो । एकार्काका हात समातेर दुवै उभिएका छन् । योल्मोले आफ्नो धारणा प्रस्तुत गरेपछि लगत्तै विजय बोल्यो, ‘‘यही मोर पनि प्रतीज्ञा हो योल्मो, प्रतीज्ञा ।’’ प्रतीज्ञालाई सार्थक गराउने कामना गर्दै हात मिलाए दुवैले । ‘‘विजय, छिट्टै आऊ है’’, भन्दै बर्ररर…आँसु झार्छे योल्मो । विजय पनि बलैले मुटु बाँधेर, आँसु रोकेर भन्छ ,‘‘हुन्छ योल्मो, म झट्ट आउनेछु ।’’ यति भनेर विजय चुपचाप बाटो लाग्यो । पर पुगेर एकपटक पछि फर्की हेर्यो, योल्मो उसैलाई हेरिरहेकी थिई हात हल्लाउँदै । अझै पर पुगेर हेर्यो, फेरि योल्मोको पनि योल्मोको हात हल्लिएकै देख्यो विजयले । यतिकैमा योल्मो दौड़ेर आई, फेरि दुवै आलिंगनबद्ध भए । योल्मोले दादघारीसम्म पुगेर विजयको परिवार गाड़ीमा चढेपछिमात्र फर्किने प्रण गरी । (यसपछि आजीवन कारावास कथा हेर्नुहोला )
यसैबीचमा विजयभन्दा अघि जेल परेको बिरे राजाबाट आममाफीको दया थापेर (राजाको किदू कथा हेर्नुहोला) शिविरमै आइपुग्यो । विजयलाई एउटा पत्र लेखी पठाएकी थिई योल्मोले बिरेको हातमा । पत्र पायो उसले तर, यसअघि नै योल्मोलाई भेट्न जाने निधो गरी उसले सुटुक्क खबर पठाइसकेको रहेछ । बिरेलाई भेट्दा ऊ एकातिर अति हर्षित भयो भने योल्मोको चिन्ताले अझ धेरै पिरोलियो फनि । अत्तालिँदै विजय शिविरबाट एकदिन फुञ्छोलिङ पुगेको थियो । तर न योल्मो र विजयको भेट सम्भव भयो न विजय फर्किएर आमा-बाबु भए ठाउँ पुग्न सक्यो…परिबन्दले सबैलाई बियोगान्त मोड़मा पुर्याएर राखिदियो । योल्मोलाई आफ्नै धर्म-बाबु भनिने ठिन्लेले गाड़ीले कुच्याएर मार्यो । योल्मोलाई मारेकै कथित अभियोगमा विजयलाई आजीवन कारावास (आजीवन कारावास कथा हेर्नुहोला )- को सजाय सुनाइयो । यता शिविरमा रहेका विष्ट बाजे र बज्यै देश फर्कने आशामा तड्पिँदै छोराको वियोगमा विरह अलाप्दै विश्वभरि पुकारा गर्दै थिए, अकस्मात छोरो आजीवन कारावासमा परेको खबर सुनेर बाजेको मानसिक तन्तु खल्बलियो । उनी सधैंका निम्ति अर्धचेत भए । बज्यै अशक्त भइन् । मानवीय संरक्षणको पिरोयजना चलाउने संस्थाहरूले सकेजति हेर्चाह गर्दै थिए उनीहरूको तर, त्यो अपर्याप्त सेवाले पुगेन र बाजेले अर्धचेतमै विद्रोह गर्नथाले । नयाँ मान्छे देख्नेबित्तिकै अनेक भाँती बोल्ने र कहिलेकाहीँ आक्रमणमा जाई लाग्ने प्रवृत्ति पनि बढ्दै गयो । बज्यै दिनदिनै शिथिल बनिरहेकी थिइन्, एक दिन राति उनको चोला उठ्यो शिविर छेउको आम्दा अस्पतालमा । बिरेको सक्रियता र छिमेकीहरूको सहयोगले बज्यैलाई त्यहाँ पुर्याइएको थियो तर, शिविर फर्काउन सकेनन् । आम्दाबाटै रतुवासम्म पुर्याएर साइँली बज्यैको अन्तिम विदा गरियो । मर्नेबेला बज्यैले विष्टबाजेलाई बुढेसकालमा सहारा दिन र जेलमा भएको विजयलाई देशकै निम्ति मर्न सन्देश पुर्याइदिने अनुरोधसम्म गर्न भ्याइन् रे बिरेलाई । जेलबाट आममाफी पाएर निर्वासनमा आएको बिरे यतिबेला पुनर्वाशमा अष्ट्रेलिया जानै लागेको थियो । अफ्नो परिवारसितै बिरामी विष्ट बाजेलाई लिएर अब आफू अष्ट्रेलिया जाने र उतैबाट भूटानको तत्कालीन सरकारले गरेको ज्यादतीविरुद्ध संघर्ष गर्ने, विजय र मिलनहरूले चलाएको अभियानमा हातेमालो गर्ने अठोट बिरेले बज्यैको मृत्यु हुँदाताकाको घटनाविवरण सुनाउँदै आफ्ना मित्रहरूलाई भन्यो ।
चेमगाङ जेलभित्र विजयले आज निकै कुरा मनमा खेलायो । वास्तवमा भूटानमा सन् उन्नाइस सय नब्बे दशकीय राजनीतिक हलचल कसरी पैदा भएको थियो र किन यति कमजोर शैलीमा प्रस्तुत भयो? विजयले नब्बेताका आफ्ना साथीहरू रात-बिरात भात खान आउँदा भनेका कुराहरू सम्झँदै विश्लेषण गर्ने कोशिशसम्म गर्यो । उनीहरुले त्यस्तो योजनाबद्ध अभियान चलाएका थिए भने त आजसम्म बलियो एकतामा आबद्ध भई संघर्षको मैदानमा उत्रिन किन कोही तत्पर छैनन् ? वास्तवमा राजनीतिक हिसाबले ज्यानरक्षाको बहानामा देशबाट पहिले नै पाखा लागेकाहरूबीचको एनेकता, व्यक्तिगत मनोकांक्षा पूर्तिको लालच, गम्भीर वैचारिक मतभेद र कमजोर रवैयाको कारण समाजमा जातीय विष घोलेर बिखण्डन पैदा गर्न चाहिरहेको सरकारी जमातलाई बलियो टेवा पुगेको थियो । पीडित पक्षका अग्रजहरूले पीड़क पक्षलाई यसरी सहयोग गर्ने कदम उठाएपछि कुनचाहिं अचम्ममा पर्दैन र, विश्व यिनीहरूमाथि करुणा दर्शाउँदै रोइरह्यो । आज दुईदशक पार भइसक्यो, करुणा दर्शाउनु, सदाशयता ग्रहण गर्नु र दयाको भीख माग्नशिवाय अहिलेसम्म केही हुनसकेको छैन ।
जेलमा बसेर एकाबिहानै शिविरमा छोड़िएका आमा-बाबुको सम्झनामा धेरैबेरसम्म रोयो विजय । देश छोड्दाको परिस्थिमामा उसको विचार र आजबीच धेरै परिवर्तन आएको छ । अब अन्तर्राष्ट्रिय रेडक्रशमार्फत बिरेलाई नै आमा-बाबुको हेरचाह गर्न अनुरोध गर्ने र आफू पनि कुनै दिन मुक्ति पाइएछ भने भूटानभित्रै भूमिगत रहने निर्णय गर्यो उसले ।
क्रमैले विजय नजाँनिदो प्रक्रियामै जेलभित्रैबाट मिलनको सम्पर्कमा पुगिसकेको थियो । मिलन (फूलमती कथाको पात्र-फूलमती भाग २ कथा हेर्नुहोला) भूटानका गाउँ-गाउँ पुगेर सरकार पक्षको कथित प्रचारबाजीविरुद्ध आम-नागरिकहरूलाई शिक्षित गराउँदै अघि बढ्यो भने विजय जेलभित्रका बन्दीहरूको जमातमा शिक्षाको ज्योति फैलाउन थाल्यो ।
क्रमशः……………..
हार्नु होस् अमिरेका मा बसेर पनि यस्तो लेख लेख्ने लै ठुलो बधाई दिनु पर्छ| मा सारै गौरब लाग्छ|