धमेन्द्रको बैली बाख्रो
एउटा बैली बाख्रो छ
मासु माग्ने मान्छे थुप्रै छन् गाउँमा
धमेन्द्र बुढालाई बडो सकस छ
क–कसलाई पुऱ्याउनु !
एउटालाई दियो अर्काको मुख बाङ्गो
नदिनु पनि भएन, काट्छु भनेर
कबोल गरिसकेपछि
आज धर्मेन्द्र बाको आँगनमा
निकै ठूलो हल्लीखल्ली छ
बैली बाख्राको गर्धन
छप्किन लागेको हो कि जस्तो !
आँगनको एक छेउमा
कुर्सीमा बसेका बुढा सोचमग्न छन्
मासु माग्नेहरु भेला भइसकेका छन् !
कोही भन्छन् खुट्टा चाहियो
कोही भन्छन् टाउको चाहियो
कोही भन्छन् ह्याकुलो
कोही भन्छन् मुटु-कलेजो
कोही भन्छन् सब नरम-करम !
कोही भन्छन् मिठो चरम-चरम !
‘खुँडा हान खुँडा हान्’ को आवाज
आउँदैछ पछाडीबाट
हतासमा परेका बुढा
कहिले आफ्नै गर्धन छाम्न पुग्छन्
त कहिले मासु जोख्ने पल्ला हेर्छन्
नदिनु पनि भएन,
काट्छु भनेर कबोल गरी सकेपछि !