धर्ती फाटेको बिचित्र दृश्य

कवि
कवि

खगेन्द्र गौतम
क्यानाडा

अन्धकार रातमा धर्ती हल्लिएको आभास भयो
सिरिङ्ग भएको शरीर उठाउँदै,
सिरानीमा रहेको तिम्रो तस्बिर हेरें
कौतुहलताले मुटु जल्न थालेपछि,
आफ्नै देशको खबर पढेँ ।
अखबारका पानाहरूमा प्रकृति बौलाएर
धर्ती फाटेको बिचित्र दृश्य रैछ
चिच्याहट र कोहोलाहलको भिडबाट
तिम्रो आवाज सुनेको अनुभूत गर्दै थिएँ,
तर भग्नाशेषका पर्खालबाट तिम्रो लास पो झिकिँदै रैछ ।
के गर्ने प्रिये ! विवश छु म,
यो कोसौँ टाढाको मुग्लानमा बस्न
रहरका कोपिलाहरू त्यसै त्यसै ओइली गए,
युगल सपनाहरू आसुसँगै बगी गए ।
न त मिलन नै लामो भो, न त वियोग नै सरल !
तिम्रो अन्त्येष्टि मा केवल मेरा सम्झनाहरू मात्र
रहनेछन्,
कामना गर्छु!
तिमी मरे पनि हजार जुनी बाँचिरहनू ।
कामना गर्छु!
तिमी मरे पनि हजार जुनी बाँचिरहनु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *