धैर्यताको पहाड र पहिरो

तुम्बेहाङ् लिम्बु
झापा, नेपाल

जब धैर्यताको पहाडमा पहिरो जान्छ
सबथोक भत्किँदो रहेछ
सबथोक बगेर जाँदोरहेछ

जो धैर्यताको पहाडमा अटल रहन सक्छ
उसैले मार्नेरहेछ बाजी
उसैले गर्नेरहेछ नसोचेको चमत्कारिक कर्म
धैर्यताको पहाडमा पहिरो गएपछि
सपनाको उपबन पनि सोहोर्दोरहेछ
लक्ष्यको बाटो पनि तछार्दोरहेछ
आत्मबलको जग पनि हल्लाउँदोरहेछ

जब धैर्यताको पहाड भत्किन थाल्छ
तछारिन थाल्छ
हल्लिन थाल्छ
जीवनको भूगोल छताछुल्ल हुनेरहेछ
र मान्छे उल्टो–उल्टो बोल्ने
उल्टो–उल्टो गर्ने हुनेरहेछ
पूर्व हिँडेको मान्छे पश्चिम पुग्ने रहेछ
कदम–कदममा छेपारोले झैँ रङ फेर्ने रहेछ
हरेक कुरोमा अनावश्यक बहाना बनाउने रहेछ
कमजोरी ढाक्न उल्टो तर्क पेसगर्ने रहेछ
र मूलबाटोबाट चिप्लिएर
गोरेटोलाई नै जीवनको प्राप्ति मान्ने रहेछ

धैर्यताको पहाडमा पहिरो गएपछि
अन्ततः समग्रमा मान्छे
उल्टो चेतनाको शिकार हुनेरहेछ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *