नयां वर्ष, सभ्यताको सानो पाइला
भारती गौतम
बोस्टन, अमेरिका
“नयां सरुवा भई आएको हुलाकेझैं
झोलामा सूर्जेको एउट पुलिन्दा बोकेर
छानामाथी वैशाख हिडिरहेछ”
– भूपी शेरचन।
– छानामाथि हिडिरहेको र वन पाखाभरी फक्रिन थालेको वैशाख साच्चै नै एउटा हुलाकी जस्तो छ। वसन्तको काखमा वैशाख मा वैंस चढ्नु संगसंगै सरुवा भएर आएको नयां हुलाकि देख्ने बित्तिकै वस्तीवस्ती सुखमय र शान्तिमय भोलिको मुना टुसाउन थाल्छ। वन पाखा गुरांस रातिएर वुढो हिजोका चाउरी गाला वाट समेत अपेक्षाको न्यानो रगत वग्न थाल्छ। छेपाराको कथा जस्तो हरेक वैशाख तर हिजोकै लुगामा आउछ, हात्ती आयो –हात्ती आयो , भनेजस्तै एक एक पल एक एक घडी गनेर छुचो हिजो र निर्दयी आजलाई लत्याएर प्रतीक्षा गरेको भोली, अर्को हप्ता, अर्को महीना गर्दै गर्दै अर्को साल को भेषमा आएको नयां सालले जत्ती झुक्याए पनि रक्सीको लतमा परेको लोग्ने सुध्रिएला कि भनी आशा गर्ने डल्ली भाउजुको जस्तै स्थिति वस्तीवासीहरुको नभएको त कहां हो र , तै पनि रुखमा नफक्रिउन्जेल कल्पना आश लाग्दै हुन्छ।
– सरुवा हुलाकीले भर्खर सरुवाकै नाताले पाएको अपेक्षाका तोरणहरु, भरोसाका पटाखाहरु, खुशीका अविरहरुको स्वागत पाईसकेको छ। कठ्यांग्रिएर कक्रक्क हिउदले वाहिर आंगनमा आफ्नो आङ तताउदै बिगतको हिउंद फेरि सहनु नपर्ने भरोसाका दुईशव्द सूर्यको किरणसंग झुठै सहि आश्वासन माग्न थाल्दा बगैंचाका युवा फूलहरु ले सहि थपेका नै हुन्छन्, जांगर मुस्काएकै हुन्छन्।
– हुलाकीको काम त सन्देशलाई जस्ताको तस्तै सहि ठेगानामा वितरण गर्नु हो, जसको नाममा जे आएको छ त्यसलाई केवल बाहक वनीदिनु मात्र हुलाकीको काम हो। तर वर्षेनीको वैशाखले लिएर आउने त्यो सानो झोलामा रहस्यमय रुपले अट्टाएको भोलि एक एक गर्दै वाडिए पछि हामी वर्ष सुखमय या दुखमय भएको भनी वर्षको अन्तमा मूल्यांकन गर्छौं। प्रत्येक मान्छेको , प्रत्येक गांउ, प्रत्येक समुदाय , राष्ट्र अनि विश्वको नाममा आउने सन्देशहरुका परिभाषा, संबेदना अनि संक्रमणले त्यो वाह्र महीनाको सिमित समयको टुक्राको परिभाषा वन्न पुग्छ। परिभाषाले कहिले संतुष्टीको हांसो अर्थ्याउछ अनि कहिले निराशा र ग्लानीको दिक्दारी अर्थ्याउछ।
– हुलाकिको एउटै झोलामा विरोधाभासका समाचारहरु खातलागेर वसेको वेला हांसो र रोदन, दुख र सुख, उल्लास र आपद, धर्म र अधर्म, रक्षा र विनास सवैले विना विवाद संगै हातेमालो गरेको देख्ता समाचार बग्रेल्ती छरिएपछि आईपर्ने प्रतिक्रियाका विविधताहरु व्यंग्यले हांसी राखेका हुन्छन्।
– व्यक्तिगत अनुभवमा भन्ने हो भने यस्तै नयां हुलाकीले वांडेको एउटा वैशाख मेरो आंगनमा मुटुको निकट रहेको कसैको मृत्यु वनेर आएको थियो। हो, अढाई दशक अगाडीको वैशाखको त्यो घमाईलो आकाश र उराठ लाग्दो हुरिको गोधुलि मेरो आंगनमा मेरो आत्माकै अभिन्न हिस्सा रहेकी मेरी वहिनिको मृत्यु बनेर तेर्सिएको थियो। आफ्नो जीवनको डांडाको छेउमा ओझेल पर्न लाग्नु भएका मेरा वुवा आमाको ह्रदयमा सो आघातले मरणको विजारोपगरेको थियो। फक्रिनु अगाडी नै आंधीले नष्ट पारेको त्यो कोपिला वगैचा र स्वंयं मालीको अन्त्यको आरम्भ बन्न पुग्यो।
त्यसैगरी त्यसअघिका वैशाखको झोलाका मेरो आफ्नो नाममा आएका समाचारहरु कुनै वेला मेरो वात्सल्य ओढेर कहिल्यै नथाक्ने मेरी हजुरआमाको अन्त्य बनेर आयो। समयको गति संगैका यस्तै यस्तै वैशाखको शुभारम्भभरीका दिनहरुले आफ्ना र आफू भनेर मरिमेट्नेहरुलाई असिनाले झारेका फलहरु जस्तै क्रमश: झार्दै गरे। भौतिकरुपवाट मेरो जीवनबोटवाट निमिट्यान्न झार्दै गए।
– वैशाखको हुलाकीले मुटुमा दुखै दुख का समाचारका कोशेली मात्र दिने त हैन तर शायद मानव ह्रदय आफूलाई दुखेको मात्र संझन सिपालु हुन्छ। यस्तै कुनै सालका हुलाकहरुले मेरो काखभरी वात्सल्यका कोशेलीवाट पनि सिंगारेको थियो, एक दुई गर्दै तीन तिन पटक मेरा अंगालाभरी खन्याईदिएको वात्सल्यका अमूल्य उपहार दिने पनि यहि हुलाकी त हो नि। आंधि, असिना, झरी, तुषारो र डढेलोले सृष्टीलाई संहारको संकट अनि मुना, कोपिला, सपना,सहारा, भरोसा, वात्सल्य, माया, प्रेम उल्लास एउटै अस्तित्वका दुई पाटा बोकेर आउने वैशाखले शायद जीवनको सानो अंशलाई वोकेको हुन्छ। मेरो पाटाको जीवनमा रातपरेको बेला शायद अरु कसैको जीवन व्युझिदै हुन्छ, मलाई दुखेको बेला शायद अर्को जीवन हांसेको हुन्छ। नदुखीकन हांसो कसरी चिन्न सकिन्छ र अध्यारो नै छैन भने वत्तीको परिचय कहां हुन्छ र? हुलाकीले यसरी सरुवा हुनै पर्छ, आफ्नो रहस्यमय झोलामा जीवनका चोटहरु र उल्लासहरुका भावी सर्जकहरुले भरिएका समाचारका खामहरु बोक्नै पर्छ। नियतिको निति भने पनि सृष्टीको चक्र भने पनि या मानव सभ्यताको विडम्वना भने पनि हरेक वैशाख संग सभ्यताले पनि सानो वामे सर्नै पर्ने रहेछ।
– वाह्र महीनासम्म आफ्नो कोखमा पालेर आफूले अधकल्चो वांचेका सपनाहरु , आफूले विराएका हिजोहरु, आफूले वेआकार कोरेका भोलीहरु जन्माउने विश्वासमा धरती फेरि एकपटक प्रसव पीडाले पिरोलिएको छ। धरतीको यो प्रसव पीडा नयां होईन। धरतीमा वैंश चढेदेखि नै अव अर्को सन्तान पहिलेको भन्दा गतिलो को आशामा प्रत्येक वाह्र महिनामा सुत्केरो धरती सन्तानले आफ्नो गौरव र गरीमा वढाउने आशाको ओछ्यानमा पल्टिने गर्छ। जति वेत सुत्केरो भए पनि धरतीको अर्को सन्तान प्रतिको तिर्सनाको तृप्ती अतृप्त नै रहिरहन्छ।
– केहि महिनाको वाकवाकी, रिंगटा, खानामा अरुची, विस्तारै सांघुरिदै गएका लुगाहरु, अनुहारमा पोतिएका उत्सुकताहरु अनि आफूवाट टाढिन थालेका निद्राहरुको दिन गन्दा गन्दाको पूर्ण विरामस्वरुप कष्टकर ऐया र आत्था पछि भरोसाको सालनालमा एउटा वैशाख जन्मिन्छ। पहिलो च्यां मा नयां हुनुको ताजगी झन्क्रित हुन्छ अनि दोस्रो च्यां मा उस्तै हुनुको विवशता सुकसुकाउछ। प्रतिज्ञाका प्रखर विहानीहरु प्रतीक्षाका प्रवल घडीहरुको तोरण र पटाखा जति गाढा र सुरिला भए पनि , वेग्लै वलिया हेरचाहका आंगन जति फराकिला भए पनि आखिर नानी देखिको वानी भने जस्तै ज्या है—का आहहरुले फेरि अर्को विजाधान स्वाभाविक बन्छ।
– सृष्टिका दुईवटा पांग्राहरु एउटा उज्यालो एउटा अंध्यारो, अनि वैशाख संग फुल्ने नयां वर्ष संभावनाको बिहान। दिउसो आंधी असिना, अनिकाल, का जस्तो सुकै अंध्यारा को या सुगन्ध, सुन्दरता, सुख, समृद्दि, जे को थालनी भएको भए पनि विहानले त सधैंनै आशा र आस्थाको रक्तिम उषा दिएको हुन्छ। कालो लामो पट्यारलाग्दो रातको अन्त्य दिएको हुन्छ। नयां सालको आरम्भमा नयां उषाले दिएको कोशेली जव दिनहरुले विस्तारै फुकाउदै जान्छ, जव दिनहरु महीना र ऋतुहरुको आडमा कहिले भुईचालो भत्किन्छ, कहिले सुनामी उर्लिन्छ, कहिले हिंसा र हत्या रक्ताम्मे हुन्छन्, कहिले ईर्षा, डाह, लालस, क्रोध र कृतघ्नताका विषालु वादल मडारिन थाल्छन् अनि मान्छे त्यहि विहानीको शोक गाउन थाल्छ।
– त्यसवेला सृष्टिको अर्को सकारात्मक पाटाका सर्ग सर्ग सकिए जस्तो लाग्छ।
– कोशेली र हुलाकीका समाचारका पोकाहरुमा यदाकदा भेट्टिन सक्ने खुशी र उल्लासपूर्ण आस्थाका किरणको उज्यालोको सहायताले आफू भन्दा वाहिर आफ्नो वस मा नभएको अंध्यारोलाई एक निमेषको लागि मात्र पनि हेर्ने कोशीस गर्यौं भने नयां वर्षको यो विहानले अझ झरिलो दिनको संकेत दिन सक्ने थियो।
– “वर्षको अन्त्य भनेको वास्तवमा न त अन्त्य हो न त आरम्भ नै हो , वरु यो हामीमा ज्ञान र अनुभव थपिदै जानसक्ने एउटा निरन्तरता हो”। हल वोरल्यान्ड(प्रसिद्ध अमेरिकी लेखक एवं पत्रकार)।
– नयां वर्षको सवैमा मंगलमय शुभकामना।