निभिरहेछन् मैनबत्तीहरू
रमेश गौतम
नर्वे
कत्ति समय लाग्नेगर्थ्यो
मैनबत्तीहरू सल्काउन
सल्किएका मैनबत्तीहरू
निभिरहन्थे
समयको कठोरतासँगै !
हामी
फेरि सल्काउँथ्यौँ
मैनबत्तीहरू
जो हाम्रा बाँच्ने आधार थिए।
हामी
बल्दै गरेका निरीह मैनबत्तीहरू
विमूढ नयनहरूले नियाल्थ्यौँ
र आफैँलाई शान्त्वना दिन्थ्यौँ –
यस पटक निभ्ने छैनन्
यी ‘देदीप्यमान’ मैनबत्तीहरू !
हामी
बिसौँ शताब्दीको
शवयात्रामा सामेल भएर
मैनबत्तीहरूले
जीवन दिने सपना देख्थ्यौँ।
हाम्रा सपना पूरा हुन नपाउँदै
एक साथ निभ्थे ती ‘जूनकिरीहरू’
एउटा पोखरी जमाएर
हृदयभरि
निराशाको !
मैनबत्तीहरू
फेरि सल्काइन्थे
अनि क्षणभरमा निभ्थे –
यसरी नै बिते
महिना र वर्षहरू !
यसरी नै निमोठिए
आशा र सपनाहरू !
यसरी नै थिचिए
किङ्कर्तव्यविमूढ हृदयहरू !
यसरी नै नाङ्गिए
असहाय शरीरहरू !
र यो ’परम्परा’
आज पनि यथावत् छ !
१३ फेब्रुअरी २००२
हात्तीसार