नेपाली समुदायका एल.डी. काजी भए पवन चामलिङ
काजी लेण्डुप दोर्जी उर्फ एल.डी. काजीको प्रयोग सानो सिक्किमको सन्दर्भमा भएको थियो तर, चामलिङको प्रयोग वृहत् नेपाली समाजमा हुँदैछ । कुनै पनि अस्वाभाविक घटनालाई सूक्ष्म दृष्टिले हेर्ने चेतना हाम्रोमा छैन; मैले आफ्ना लेखहरुमा यो कुरा बारम्बार दोहोर्याउने गरेको छु कि कुनै पनि प्राकृतिक र अस्वाभाविक कुरा अथवा घटना भयो भने त्यसलाई स्क्यानिङ अथवा अब्जर्भेशन (सूक्ष्म हिसाबले केलाउनु, छान्नु र निरीक्षण) गर्नुपर्छ । त्यसलाई सोझै ग्रहण गर्नु अथवा स्वीकार्नु कुनै पनि जाति, धर्म, सम्प्रदाय अथवा व्यक्ति र राजनीति अनि राजनीतिज्ञलाई स्वास्थ्यवर्द्धक ठहर्दैन । सन् १९७५ मा सिक्किम पूर्णरूपले भारतमा विलय हुनुभन्दा पहिले कसरी यसको पृष्ठभूमि तयार हुँदैगयो । सिक्किम विलयको एक दशकअघि सन् १९६० को हाराहारीतिर सिक्किमको सानो फुच्चे राजा त्यो पनि उमेर ढल्किन लागिसकेको मानिससित अमेरिकाजस्तो आफूलाई दुनियाँको मालिक सम्झने मुलुककी एउटी नवयुवतीले बिहे गर्नु प्राकृतिक र स्वाभाविक घटना थिएन । त्यसैले कुनै समय आफ्नो जवानीमा लामा भएर माने घुमाउने एलडी काजीले उमेर ढल्किएपछि बुढो भएर पनि खोक्पा भइसकेकी न धर्म न जात, न जाति न त देश केही नमिल्ने सात समुद्रपारिकी युरोपियन महिला एलिया मारियासित बिहे गर्नु कुनै स्वाभाविक र साधारण घटना थिएन । यही रीतमा काजी र कजीनीको घरमा नरबहादुर खतिवड़ाजस्तो मानिस धर्मपुत्र भएर भित्रिने घटनाक्रम साधारण थिएन ।
सन् १९७३ मा जब सिक्किममा भोटे, लाप्चे र नेपालीको बीचमा चरम तानातानी–राजनीतिक तनाव थियो र यी तीन जातिबीचको साइनो कुकुर-बिरालोको जस्तो थियो; त्यो समय भोटे राजाको विरुद्धमा आन्दोलन छेड्ने लाप्चे एलडी काजीको घरमा गरीब नेपाली परिवारको छोरा नरबहादुर खतिवड़ा धर्मपुत्रको रुपमा भित्रिएका थिए । सिक्किमे जनताले यो कुरालाई गम्भीरतापूर्वक लिएनन् । कसरी र कुन कारणले एउटा गरीब नेपाली ठिटो काजीको घरमा धर्मपुत्र भएर पस्यो अनि कसले पसायो ? सोझो नजरले हेर्दा केही नदेखिए पनि आलोचनात्मक दृष्टिले हेर्ने हो भने असली कुरा छर्लंग देखिने छ । सिक्किमे जनताले भारत सरकारको कूटनीतिक चाल बुझेनन् र यी अस्वाभाविक घटनाहरुलाई साधारण हिसाबले लिइएको कारण सिक्किम र सिक्किमेले दुर्घटना झेल्नु पर्योजो अन्तमा गएर देशविलयमा पुगेर टुंगियो । त्यस्तै प्रकारले दार्जीलिङको राजनीति र साहित्यमा अनेकौं प्रकारले धेरैपल्ट असफल भएको मानिस सुवास घिसिङलाई सन् १९८४ मा एकदम अचानक रानीतिक क्षितिजमा उदाउँदा दार्जीलिङे जनताले पनि त्यो कुरालाई गम्भीरतासित लिएनन् । पछि गएर घिसिङकै कारणले नेपाली जाति दुई टुक्रा भएको र गोर्खाल्याण्डको सबैभन्दा ठूलो बाधा घिसिङ आफैं रहेको तथ्य आज सबैको सामने खुल्ला किताब भएको छ ।
यस्तै प्रकारले सिक्किममा पनि नरबहादुर भण्डारीको विरोधमा धेरै राजनीतिक व्यक्तिहरुले राजनीतिक अजमाइस गरे तर, सफल भएनन् । यसरी अति न्यून शिक्षा भएको अनि कुनै राजनीतिक पृष्ठभूमि नभएका पवन चामलिङ सिक्किमको मुख्यमन्त्री भएको कुरालाई सिक्किमे जनता, राजनीतिक हस्ती र विश्लेषकहरुले गम्भीरतासित लिएनन् । चामलिङलाई मुख्यमन्त्री बनाइनुका कारणहरु आज प्रष्ट हुँदै आउँदैछन् । चामलिङ एलडी काजीका नयाँ राजनीतिक अवतार हुन् भन्ने आज छर्लंग हुँदैछ । एलडी काजीको प्रयोग सानो सिक्किमको सन्दर्भमा मात्र भएको थियो भने चामलिङको प्रयोग सिक्किम, सिंगो नेपाली जाति (यहाँ नेपाली भन्नाले सम्पूर्ण पहाडे अथवा हिल ट्राइबल) अनि नेपाली जाति बसेको सम्पूर्ण हिमालय क्षेत्रको सन्दर्भमा भइरहेको छ । सिक्किममा भने चामलिङको प्रयोग काजीले अधुरो छोडेर गएका काम पूरा गर्नका लागि गरिँदैछ । चामलिङलाई काजीको राजनीतिक प्रतिमूर्तिको रूपमा खड़ा गरेर सन् १९७५ मा सिक्किम विलयसित अन्त्य भएको अधुरो गाथालाई पूरा गर्ने काम आज गरिँदैछ । १९७५ को हडबड़ीमा सिक्किमको माटो भारतको भूमिमा विलय भयो तर, सिक्किमेहरुको मन, मस्तिष्क, भावना र संवेदना भारतमा विलय भएको थिएन । आज भावनात्मक एकीकरणको नाममा सिक्किम पूर्णरूपले भारतीय भूमिमा विलय मात्र भएन तर, सिक्किमको रहेसहेको अस्तित्वसमेत भष्मिभूत हुँदैछ ।
सम्पूर्ण हिमालय क्षेत्रमा नेपाली जातिको आफ्नै प्रकारको सामाजिक, धार्मिक, आर्थिक, सामरिक अनि राजनीतिक महत्व छ । यही तथ्यमा आधारित भएर १९७५ मा सिक्किम विलय सिक्किममा बस्ने ८० प्रतिशत नेपालीहरुले गराएका हुन् भन्ने भूतले सताएका क्षेत्रीय नाइकेहरुले अहिले पनि सिक्किम, दार्जीलिङ, भूटान र नेपालमा भनौ या यो पुरै हिमालय क्षेत्रमा यो जातिको सामाजिक, राजनीतिक, आर्थिक, सामरिक तथा राजनीतिक महत्वलाई खतरापूरण ‘हाउगुजी’को रूपमा प्रस्तुत गरेर तिकडम रचिरहेका छन् । यसरी हाम्रो जाति समाजभित्र विध्यमान शक्तिसित त्रसित हुनेहरुले आज चामलिङमार्फत त्यसलाई तोड़ेर टुक्रा टुक्रा गर्ने अभियान तीब्र पारेका छन् ।चामलिङलाई आज सिक्किम, दार्जीलिङ, भूटान र नेपालको सन्दर्भमा प्रयोग गरिँदैछ । चामलिङको सीमित राजनीतिक ज्ञान र शैक्षिक योग्यतामा असीमित जिम्मेवारी दिएको नाटक गरेर उनलाई असाधारण व्यक्तित्वको रूपमा माथि उचालेर अनि हुँदै नभएका गुणहरूले महिमामण्डित गराएर चामलिङको पछि उभिएको सम्पूर्ण जातिसत्ताको अस्तित्व दाउमा लगाउने काम हुँदैछ । एकातिर भारतीय उपमहाद्वीपमा सिक्किमका मुख्यमन्त्री एक्लो जातीय मुख्यमन्त्री भएको नाताले सबैले सिक्किमतिर हेर्छन् अनि अहिले यो कुर्सीमा चामलिङलाई आसीन गराएर भारतीय कूटनीतिक पक्षले चामलिङको प्रयोग समग्र हिमालय क्षेत्र र यसका मालिक-समग्र नेपाली जातिसत्ताको विरोध गर्दैछ । यो कुरा गम्भीर विषय हो; किनभने हिमालय क्षेत्रमा राजनीतिक सीमाना विभिन्न भए पनि आर्थिक, सामाजिक, सांस्कृतिक तथा धार्मिक सिमाना छैन र, यो सीमाहीन क्षेत्रमा यो जातिको वर्चस्व छ । यही चौतर्फी वर्चस्वलाई तोड्न अहिले चामलिङको प्रयोग भइरहेको छ । यसलाई अरुले सतही रूपले लिन्छन् तर, म यसलाई सतही रूपले ग्रहण गर्ने पक्षमा छुइनँ ! यो विषयलाई मैले गम्भीरतासित लिने गरेको छु । मेरो विषय र अडानलाई पुष्टि गर्ने तर्क मसित छ ।
सिक्किमको सन्दर्भमा चामलिङको प्रयोगः
(क) चामलिङलाई सिंगो सिक्किमे समाजलाई टुक्रा टुक्रा गर्नमा प्रयोग गरियो ।
(ख) चामसिङको समयमा भारत सरकारले सिक्किमलाई दिएका सबै विशेष क्षेत्राधिकारहरू लोप भएर गए ।
(ग) चामलिङको समयमा सिक्किमका प्राकृतिक स्रोत र सम्पत्ति, खोला, नाला, खेतीबारी, जंगल, पहाड़, पर्वत, खोल्सा सबै बिक्री भए ।
(घ) चामलिङको समयमा सिक्किमेली राजनीतिमा नगरपालिकाको माध्यमबाट सिक्किमेहरूको राजनीतिक अधिकारमाथि सोझो हस्तक्षेप शुरु भयो ।
(ङ) चामलिङको समयमा भारतको संविधानले सिक्किमलाई दिएको विशेष अधिकार ३७१ एफ-को सोझो उल्लंघन गरेर सिक्किममा आयकर भित्रियो ।
(च) चामलिङको समयमा सिक्किमे नेपालीहरु ओबीसी र एनबीसीमा विभाजित भए, जनै लाउने र नलाउनेमा विभाजित भए अनि आर्यन र मंगोल वंशजमा विभाजित भए ।
(छ) सोहीपरी भोटे-लाप्चे पनि आपसमा आदिम जनजाति र आधुनिक जनजातिमा विभाजित भए ।
(ज) अनि आज पीक कार्डको नाममा सिक्किमेहरूलाई राजतन्त्र मासिए पनि राजाले दिएको परिचय सिक्किम सब्जेक्ट-जसलाई भारत सरकारले नि मान्यता दिएको थियो-त्यो मासिँदैछ ।
हामीलाई यसरी १२० करोड़ भारतीयको हाँचमा उभ्याइँदैछ तर, अधिकार र वर्चस्वहरु सबै खोसेर । बाघ त बाघै हो जंगलमा बसे पनि जञ्जीरभित्र कैद चिडियाखानामा बसे पनि । तर, यी दुईवटा बाघमा रहेको भिन्नताबारे पाठकहरुलाई मैले केही भनिरहनु आवश्यक छैन । आज हामी चिडियाखानाको बाघ भइरहेका छौं । अल्पशिक्षा र छोटो राजनीतिक पृष्ठभूमिलाई सिक्किमको सन्दर्भमा यसरी दुरुपयोग गरियो ।
दार्जीलिङको सन्दर्भमा चामलिङको दुरुपयोगः त्यस्तै प्रकारले दार्जीलिङको सन्दर्भमा पनि चामलिङलाई प्रयोग गरियो । केन्द्र सरकार बंगाल सरकारको दबाउमा भएको कुरा सबैलाई थाहा छ । बंगालका दुवै राजनीतिक ध्रुव वामफ्रण्ट र तृणमूल कलकत्तामा विरोधी भए पनि दार्जीलिङको सन्दर्भमा एक छन् । यिनै दुई दलले दिल्लीको केन्द्र सरकारलाई दार्जीलिङको आन्दोलनको कम्मर तोड्न दबाउ दिइरहेका छन् । बंगालको दबाउमा नै केन्द्रले चामलिङलाई दार्जीलिङको विरोधमा प्रयोग गरिरहेको छ । ३१ ए नेशनल हाईवेको नाममा दार्जीलिङविरुद्ध भारतको सर्वोच्च न्यायालयमा सिक्किमद्वारा जुन मुद्दा दर्ता गरियो, त्यो बुद्धि न त मुद्दा दायरकर्ताको हो न चामलिङको । त्यो बुद्धि बंगाल सरकारको हो र दबाउ पनि बंगाल सरकारकै हो ।१९८३ को आन्दोलनमा बंगालले दार्जीलिङ पहाडमै गोर्खाल्याण्ड माग गर्नेहरुका विरुद्ध शक्तिको रुपमा माकपालाई भेटेको थियो । तर, अहिले दार्जीलिङमा माकपा टुक्रिएर क्रामाकपा गठन भएपछि माकपा एक्लैसित गोर्खाल्याण्ड आन्दोलन भइहाल्यो भने त्यसको प्रतिरोध गर्ने क्षमता पुग्दैन । र, दार्जीलिङका अन्य कुनै पनि शक्ति गोर्खाल्याण्ड आन्दोलनको विरोध गर्दै बंगवादी माकपालाई साथ दिन तयार पनि छैनन् । त्यसकारण सिक्किमबाट चामलिङलाई कूटनीतिक प्रयोग गरिँदैछ । यसैको नतिजा हो त्यो मुद्दा अनि सिक्किम विधानसभामा गोर्खाल्याण्डको बील पास गर्छु भनेर ढाँट्नु ।
सन् २००९ को अन्तमा दिल्लीमा गोर्खाल्याण्डविरोधी शक्तिहरुको भेला भएको थियो जसमा माकपा पश्चिम बंगाल, तृणमूल कंग्रेस, बंगाल कंग्रेस, घिसिङ र सिक्किमबाट गोर्खाल्याण्डविरोधी एउटा दैनिक पत्रिका र चामलिङका प्रतिनिधिले पनि भाग लिएका थिए । त्यो भेलामा गोर्खाल्याण्ड आन्दोलनलाई कसरी छिन्नभिन्न पार्ने र गोजमुमोलाई राज्यदेखि तल्लोस्तरको सेट-अपमा कसरी मनाउने र मान्न बाध्य गराउने भन्ने तय भएको थियो । त्यही भेलाको प्रतिध्वनी थियो सिक्किमको विधानसभामा गोर्खाल्याण्डको बील पास गराउँछु भनेर ढाँटेको दुईवर्षपछि जोरथाङको माघेमेलामा चामलिङले गोर्खाल्याण्डबारे मुख खोल्नु । दार्जीलिङका जनताले पहिलेजस्तै चामलिङको त्यो भाषणलाई गम्भीरताका साथ लिएर धन्यवाद पनि दिए । तर, गोर्खाल्याण्डजस्तो गम्भीर विषयलाई माघेमेला भर्न आएको भीडलाई सुनाउनको पछि चामलिङको कुन अभीष्ट थियो त्यो त बुझेनन् ! सन् २०१० अप्रिल महिनाको अन्ततिर पश्चिम बंगालका नगरविकास मन्त्री तथा माकपाका क्षेत्रीय अधिकारी अशोक भट्टाचार्य गान्तोक त्यसै आएका थिएनन् । गोन्तोकमा उनी सभाबीचबाटै चारघण्टासम्म त्यसै हराएका थिएनन् । र, पोहोर चामलिङलाई गाली गरेर नथाक्ने भट्टाचार्य यसपालि चामलिङको प्रशंसाको पुल बाँधेर पनि त्यसै नथाकेका होइनन् ।
बंगाललाई थाहा थियो, दार्जीलिङको आन्दोलनको दम ३१ ए–नेशनल हाईवे बन्द हुनुमा नै केन्द्रित छ । एक्लो दार्जीलिङ जिल्लालाई मात्र बन्द गरेर दार्जीलिङका नेताहरुले केन्द्र र राज्यसरकारसमक्ष आवश्यक दबाउ सृजना गर्न सक्दैनथे-त्यसैले राष्ट्रिय राजमार्गको सन्दर्भमा त्यो कानुनी मुद्धाको शिक्षा दिएर गोर्खाल्याण्ड आन्दोलनको कम्मर भाँच्ने बुद्धि तलैबाट पैंचो आएको थियो । सबैलाई थाहा छ यो मुद्दाले गर्दा गोर्खाल्याण्ड आन्दोलनको कम्मर भाँचियो र यो कमजोर भएको छ । यसरी कलकत्ता दार्जीलिङलाई राज्य दिने पक्षमा छैन अनि दिल्ली कलकत्ताको भद्र बंगालीहरुको दबाउमा छ अनि चामलिङ नेपाली जातिमा अर्को मुख्यमन्त्री भएको हेर्न चाहँदैनन् । भएन, उनले यो काम गरेको स्याब्बासीस्वरूप उनलाई दिल्लीले भ्रष्टाचारको मुद्दामा साथ दिइरहेको छ । अनि भारतीय कूटनीतिज्ञहरू चामलिङका हजार गल्तीहरुलाई मुनाफाको माफी दिएर उनीमाथि लागेको अरबौंको भ्रष्टाचारको अभियोगलाई आँखा चिम्लेर सहयोग गरिरहेका छन् । यसरी उनको प्रयोग भइरहेको छ । त्यसैले आजकल सिक्किमको राजनीतिक मैदानमा एउटा गीत गाइन्छ “हजार जुनीसम्म…।”
भूटानको सन्दर्भमा पनि चामलिङको प्रयोग भइरहेको छ । भूटानी शरणार्थी मुद्दामाथि उनको मौनताले त्यो कुरा सजिलै पुष्टि गर्छ । तर, सबैभन्दा ठूलो गजबको प्रयोग चामलिङको नेपाल राष्ट्र र नेपाली राजनीतिको सन्दर्भमा भइरहेको छ ।
नेपालको सन्दर्भमा चामलिङको प्रयोगः सिक्किमका तमाम विपक्षी दलहरू चामलिङको नेपाली नागरिकता भएको कुरा उठाउँछन् । नेपालका माओवादीसित चामलिङको सम्बन्ध भएको कुराको पोल दिल्लीमा लगेर हाल्छन् अनि दिल्लीले त्यो पत्याइदिँदैन । म ती वपक्षी दलहरुभन्दा माथि उठेर हेर्छु-यदि चामलिङ नेपाली नागरिक भए पनि सोरेङमा जन्मेका भण्डारी र गेजिङमा जन्मेका पदम क्षेत्रीभन्दा दिल्लीको निम्ति अधिक प्रयोजनीय छन् भने कसले के गर्नसक्छ ? नरबहादुर भण्डारी जुन कंग्रेस पार्टीमा बसेर चामलिङलाई नेपालको नागरिक भन्छन्, उनकै पार्टीमा सोनिया गान्धी इटलीमा र प्रधानमन्त्री मनमोहन पाकिस्तानमा जन्मिएका हुन् । अनि पदम शर्मा जसले चामलिङलाई नेपालको नागरिक भनेर मुद्दा दर्ता गरे, उनकै नेता लालकृष्ण आडवाणी पाकिस्तानमा जन्मिएका हुन् । मानिस जहाँ जन्मिएको हो त्यहाँको नागरिकता लिने व्यक्तिको जन्मसिद्ध अधिकार सर्वसम्मत भइसकेको आजको विश्व परिवेशमा यति सामान्य कुरामा कसले कसलाई के गर्ने ?
कंग्रेस भण्डारी र भाजपा क्षेत्रीहरु चामलिङको सम्बन्ध नेपालका माओवादीसित छ भनेर पोल लगाइरहन्छन् । भारत सरकारलाई यस्तो क्षुद्र कुराको पोल लगाइरहनु पर्दैन । किनकि भारत सरकारलाई राम्रोसँग थाहा छ नेपालको माओवादीको स्याडो गवर्मेण्टको विदेशविभागका प्रभारी तथा पोलिट ब्यूरो सदस्य पार्थ क्षेत्री उर्फ राम कार्कीको घर, श्रीमती र छोरा-छोरी सिक्किममा छन् । श्रीमती कार्की चामलिङ सरकारको उच्च ओहोदामा पदासीन छिन् । अनि नेपालका बाबुराम भट्टराई र प्रचण्ड आएर त्यहीँ बास बस्छन् । यतिमात्र होइन, बाबुरामकी छोरीले सिक्किमकै सरकारी महाविद्धालयमा शिक्षा हासिल गरिन् । बाबुरामले पनि भारतबाटै शिक्षा हासिल गरेका हुन् । माओवादीका अर्का नेताका छोरी-ज्वाइँ पनि यतै छन् । यो त सन् १९७३ मा काजीको घरमा खतिवड़ा धर्मपुत्र भएजस्तै हो । राम कार्कीको सिक्किमे भोटिनी महिलासित बिहे हुनु भनेको एउटा राजनीतिक विवाह हो, साधारण विवाह होइन । साधारण अवस्थामा सिक्किमे भोटिया केटीहरु नेपाली केटालाई मन पराउँदैनन् ; त्यसैले नेपालका नेता कार्कीसितको यो विवाह असाधारण थियो । अब राम कार्कीको माध्यमबाट प्रचण्ड र भट्टराईले चमलिङसित सम्बन्ध बनाएका थिए । यदि चामलिङकै माध्यमबाट भारत सरकारले सम्पूर्ण नेपाली राजनीतिमा अदेखा खेल खेलिरहेको छ भने चामलिङसित कुनै छिमेकीले नाता-सम्बन्ध बनाएको देखी सत्यसित सिक्किमका विपक्षीहरु किन आत्तिन्छन् ? यति सरल सत्यको सामना गर्न किन सक्दैनन् ? राजनीतिक शिक्षासित दुश्मनी लिएका सिक्किमका विपक्षी नेताहरु यो सरल मानवीय सम्बन्ध र, गम्भीर कूटनीतिक कुरा बुझ्दैनन् । भारतले नेपाल देश र नेपाली जातिप्रतिको राष्ट्रिय नीति आजको दिनमा चामलिङमार्फत लागू गरिरहेको छ । चामलिङलाई केन्द्र सरकारले अरबौं रुपियाँ त्यसै भैलो खेलेर दान दिएको होइन, यो रुपियाँ त सिक्किमबाट छिरेर दार्जीलिङ, भूटान र नेपालम्म प्रयोग गरिँदैछ ।
यो खुल्ला किताब हो, चामलिङ सिक्किमका लागि आजका एलडी काजी हुन् । भारत सरकारले आफ्नो राष्ट्रिय नीतिभित्र जुन राजनीतिक खेल चामलिङमार्फत खेलिरहेको छ, त्यसमा समग्र भारतको हित त केन्द्रित होला तर, हाम्रो जातिको अस्तित्वमा भने ठूलो सवाल खड़ा हुँदैछ । हिमाल र जंगल अनि पहाडसित सम्बन्ध रहेको प्रकृतिप्रेमी यो हिमाली जातिलाई हिन्दमहासागरमा बिलीन गराउने जुन षड़्यन्त्रमा चामलिङलाई प्रयोग गरिँदैछ, त्यसको काम पूरा गरेपछि यो हिमालबाट काजीको मलामीमा कोही ननिस्केको जस्तै चामलिङको पनि मलामी कोही निस्कने छैनन् । अहिलेलाई मेरो यस अन्तरानुभूतिप्रति जसले जस्तो विचार पोखे पनि समयले बताउँदै लानेछ, खुट्याउँदै र पर्गेल्दै लानेछ ।
अब चामलिङ कसरी एलडी काजी भए तः सिक्किममा सन् २०१० को अप्रिल महिनामा नगरपालिका चुनाव भयो । सिक्किमेहरु भारतको १२० करोड जनसंख्यामध्ये कति प्रतिशत छन्, पाँच लाख । यही १२० करोड़को हिन्दमहासागरमा सिक्किमेहरु थोपाजस्तो नबिलाउन् भनेर भारत सरकारले सिक्किमेलाई (भोटे-लाप्चे र नेपालीलाई) सिक्किम विधानसभामा पनि आसन आरक्षण दिएको थियो तर, चामलिङ शासनमा त्यो पनि सिक्किमे नेताहरुले पोलेर खाइदिए । अनि नगरपालिकामा सिक्किमेका नेता तथा मुख्यमन्त्रीले देशै दिने एलडी काजीभन्दा उदार भएर नगरपालिकामा दशजना गैर सिक्किमेलाई आसन दिए । अब पाँच लाखमा १२० करोड पस्न-घुस्न शुरु भयो । सिक्किका पाँच लाखको नेता भएर १२० करोडलाई हिस्सा दिने नेताले बिहारका दश करोड जनताको माझमा एउटा नगरपालिका सीट मागिदिन सक्छन् ? बिहारको राजधानी पटनामा सिक्किमेको निम्ति एउटा लाइसेन्स निकालेर दिनसक्छन्, सिक्किमे एउटा बेरोजगार ठिटोलाई बिहारमा एउटा नोकरी अथवा बसको रुटपर्मिट दलाउन सक्छन् ? सक्छन् भने सिक्किमका ५० हजार बेरोजगारलाई त्यहाँ लगेर नोकरी दिलाएर देखाउन्, नाक ठड्याउन्; नत्र भने पाँचलाख सिक्किमेको हिस्सा १२० करोडमा बाँड्ने मानिसलाई बाठो भनिँदैन, महान गनिदैन, बरु मिरजाफर गनिन्छ, नयाँ अवतारका एलडी काजी भनिन्छ ! तर खेदजनक कुरा, सिक्किमे विपक्षीहरु नगरपालिकामा सीट पाइएन भनेर चुनाउ बहिष्कार गर्छन्, ऐतिहासिक अस्तित्व पहिचान र संवैधानिक क्षेत्राधिकार गुम्यो भनेर होइन !
जुन दिल्लीले हरेक दृष्टिमा चामलिङको पृष्ठपोषण गरिरहेको छ, त्यसकै अगाड़ि गएर लैबरी गाउँदै फोस्रो कुरामा त्यसको विरोध गर्नुभन्दा अधिक देशको राजनीति बुझेर चामलिङलाई कुनै देश र जातिको विरोधमा यसरी प्रयोग नगर्ने सल्लाहभारतीय नेताहरूलाई दिएको राम्रो हुनेछ । अनि, चामलिङले पनि फर्केर इतिहासतिर हेर्दै अर्काको प्रयोजनमा काम गर्दा काजी, भण्डारी र घिसिङको के गति भयो त्यो कुरा बुझेको राम्रो । यिनीहरुलाई हिरो लाग्छ र मान्नेगरेको छ भने मिरजाफरको जीवनी पढेको राम्रो ।
अन्तमा म एउटा यस्तो सत्य कुरा उदाहरणको रूपमा प्रस्तुत गर्नचाहन्छु जो पढेर छर्लंग होस् । म आफ्ना लेखहरूमा हाम्रा पहाड़का नेताहरु घोडा-रेसमा नारिएका मुटु फुटुञ्जेल कुद्ने घोड़ा भएका तर, पुरस्कार जित्ने मालिकचाहिं अर्कै भएको कुरा गरिरहन्छु । तर, यो पाली म हाम्रा नेताहरूलाई उनीहरुको सीमित शिक्षा, अनुभव, राजनीतिक पृष्ठभूमि र सानो उपलब्धिले भ्यागुत्ताजस्तो फुलिने ब्यहोरा हेरेर कसरी दुरुपयोग गरिन्छ, त्यसको उदाहरण दिन्छु । तपाईं-हामीले साधारण अवस्थामा झाँक्री, बुङथिङ अथवा बिजुवा देखेका छौं । भूतको पूजारी हुने गरेकाले साधारण अवस्थामा झाँक्री-बिजुवाहरुको स्वास्थ्य राम्रो हुँदैन । तिनीहरु साधारण अवस्थामा आफ्नो ढोल-ढ्यांग्रो पनि बोकेर हिँड्न नसक्ने हुन्छन् । तर, उनीहरु थान थाप्छन् र, आफ्नो भूत-देउतालाई आफ्नो शरीरमा बोलाउँछन् तब, उनीहरुमा अपार शक्ति आउँछ । जब झाँक्रीहरु काम्दछन् तब उनीहरुको शरीरका सबै नशा र २०६ वटै हड्डीहरु व्यायाम गर्न थाल्छन् । संसारमा कुनै यस्तो व्यायाम र कसरत छैन जो झाँक्रीहरुको बराबर गर्नसक्छ । अरु ब्यायाममा चाहिएअनुसार शरीरा चुनिएका अंगहरुमात्र सक्रिय हुन्छन् । जस्तो ब्यायाम हातको निम्ति छ, ढाड़को निम्ति-त्यो अनुसार शरीरको सञ्चालन हुने गर्दछ । कम्फू, कराटे, योगा सबैमा यही लागू हुन्छ । तर, झाँक्रीमा देउता आएपछि कुरै अर्को हुन्छ । चार-पाँच घण्टासम्म उनीहरु थान नै कमाएर, घरै हल्लाएर, जमीन थर्काएर नाच्दछन्, दिउँसो हिँड्न मुश्किल पर्ने ठाउँमा उफ्रँदै-कुद्दै, हाम फाल्दै खड्गो काट्छन् भीर, पाखा, कान्ला केही भन्दैनन् तर, शरीरमा देउता नचढेको बेला त्यही बाटोमा हात-खुट्टा टेक्न खोज्छन् । हाम्रा नेताहरु पनि ठीक त्यस्तै गरी अर्काले भूत-देउता खन्याएका झाँक्रीजस्ता हुन् । सिक्किममा काजीको टाउकोमा दिल्लीको भूत सवार हुन्जेल काजी भयंकर थिए । दिल्लीको भूत उत्रिएपछि काजीको हवीगत र तागत हेर्नलायकको थियो । त्यस्तै भण्डारीको टाउकोमा दिल्लीको भूत सवार छउञ्जेल भण्डारी भयंकर, विष्णुको अवतार, सिक्किम भण्डारी अनि भण्डारी सिक्किम-दिल्लीको भूत टाउकोबाट निकालेको भण्डारी कति माया लाग्दो भए, उनलाई हेर्न आज पनि जोकोही गान्तोक आए हुन्छ । यसरी नै दिल्लीको भूत टाउकोमा छउञ्जेल घिसिङको हुकूमबेगर दार्जीलिङमा पात पनि नहल्लिने अनि दिल्लीको भूत झिकेपछि निर्वासित बनेको बेला देहान्त भएकी आफ्नै श्रीमतीको लाश पनि घरसम्म लान नसक्ने ! अहिले सिक्किममा चामलिङको शरीरमा दिल्लीको भूत छ । उनले ढाँटे पनि साँच्चो हुन्छ । उनीभन्दा ठूलो विद्वान नेपाली जगतमा कोही छैन । चामलिङ कवि, चामलिङ गीतकार, चामलिङ राजनेता, चामलिङ दार्शनिक, चामलिङ कथाकार, चामलिङ व्यापारी अनि सबैभन्दा ठूलो मतभिन्नता एकातिर चामलिङ समाजवादी अनि अर्कोतिर चामलिङ पूँजीलाई लगानी गराउने पूँजीवादी औधोगिक एजेण्ट जसले सिक्किमलाई कंक्रिटको जंगल बनाइसके । चामलिङको आजको वर्तमानलाई सोझै सत्यको रूपमा स्वीकार्नु हो भने स्कूल, कलेज, महाविध्यालय र विश्वविध्यालय तोड़ीदिए हुन्छ । उनले पढ्दै नपढी डाक्टर भए । उनी विद्वान् भन्दा विद्वान् मानिसलाई पाठ पढाउँछन् । दिल्लीका आइएस आइपीएस उनको तलुवा चाट्न आउँछन्; स्थानीयदेखि देश-विदेशका बुद्धिजीवी उनको गुणगान गाउँछन् । केन्द्रीय मन्त्रीहरु चामलिङलाई जननायक बताउँछन् । अब हेर्नु छ दिल्लीको भूत झरेपछि चामलिङको हालत के हुने हो ।
म भाग्यमानी रहेछु । मैले काजीको सामिप्यता पनि पाएँ । चामलिङलाई पनि म स्कूल पढ्दादेखि जान्दथें र पछि उनलाई लिएर २३ जुन १९९३ मा काजीको कालेबुङस्थित निर्वासनको घरमा पुगेर त्यहाँ क्याम्प गरी बस्नेमध्ये म पनि एक थिएँ । काजीलाई मैले त्यहीँ बस्दा पढें । चामलिङलाई विधायक छँदादेखि लिएर मुख्यमन्त्री हुँदासम्म म जान्दछु । अनि भण्डारीलाई त मैले भोगेकै हो । र, पछि भण्डारीलाई दया देखाउने मौका पनि पाएको थिएँ । घिसिङ पनि हाम्रै जमानामा देखिए । यिनीहरु सबैलाई चौकीमा छँदा र चौकीबाट गल्हत्याइएपछि मैले देखेको छु । अब चामलिङको टाउकोबाट दिल्लीको भूत झरेपछि हेर्नुछ । दिल्लीको लागि सिक्किममा चामलिङको प्रयोजन लगभग पूरा भइसकेको छ । अब दार्जीलिङ र नेपालको लागि उनको प्रयोजनिता बाँकी छ । त्यो पनि दार्जीलिङको सेट-अप थालेपछि र नेपालले संविधान ग्रहण गरेपछि चामलिङको प्रयोजन समाप्त हुन्छ अनि उनको टाउकोबाट दिल्लीको भूत झर्नेछ । दिल्लीले उनको विकल्प हेर्दैछ । अब हामीले हेर्नुछ टाउकोबाट दिल्लीको राहु-मुकुट खुस्केपछिको चामलिङको राजनीतिक हविगत । किनकि काजीले दिल्लीको इशारामा देशै खाएजस्तो चामलिङले पनि दिल्लीको इशारामा जातिरक्षा, धर्म, इतिहास, प्रकृति, भाषा-संस्कृति र राजनीतिक अधिकार सबै सबै पचाइदिए । सिंगो जातिलाई टुक्र टुक्रा पारेका छन्, सिक्किमलाई हजारपटकसम्म बन्दक राखेर आफ्नो हजार पीढी पुग्ने सम्पत्ति थुपारेका छन् । अब हेर्नुछ कहाँ के गर्नेछन् उनले त्यो सम्पत्तिले-आफ्नो अनि आफ्नो सन्तानको जीवनको उत्तरार्धको खरिदारी ?