नेपाली हुन के चाहिन्छ ?

लेखक
लेखक

दुर्गा रिमाल
अष्ट्रेलिया

हुन त पुर्खाले नेपाल छाडेदेखि नै यो विषयमा निष्कर्षविहीन विवाद र बहस हुँदै आएको छ । राष्ट्रियताको कुरा एकातिर छ जातिको कुरा अर्कातिर … ।


हामीले बोल्ने र लेख्ने भाषा, युगौँदेखि मानिआएको संस्कृति, लगाउँने पोषाक, शिरको टोपी र सबैभन्दा ठुलो कुरा त सधैँ आफूभित्र लिएर हिँडेको नेपाली मन । यी सब मेरो पहिचान हुन् यथार्थमा। हुनेसँग त सबैथोक आफैसँग हुन्छ त्यस कारण नहुनुको अनुभूति गर्न सक्दैन तर नहुनेले नहुनुको अनुभूति मात्र हैन जीवनभर प्राप्तिका लागि लडिरहनु पर्छ। मैले यो विषयको उठान गर्नु केवल मनको भावना पोख्नु हो । जीवनको तितो भोगाइमा केही मलमपट्टि गर्नु हो ।


म एउटा त्यो प्रतिनिधि पात्र हुँ जो भूटानको एउटा दुर्गम जिल्ला दागानाको इमिरे गाउँमा जन्मिएँ । चार वर्षको कलिलै उमेरमा परिवारसँगै देश निकालामा परेँ । अन्य नेपाली परिवार (भूटानमा बसेका नेपाली) झैँ हाम्रो परिवार पनि शासन सत्ताको अन्याय र अत्यचारमा पर्‍यो र बाबा-आमाले आफ्ना सन्तानको ज्यान जोगाउँन आफ्नै खुसी लुटेर पुर्खाको भूमिमा शरण माग्न आइपुग्नु पर्‍यो ९० को दशकतिर । भूटानले केही दशकअघि आफ्नो राष्ट्रिय भाषा भनी घोषणा गरेको भाषामा कनिकुथि आफ्नो नाम लेख्नशिवाय केही जान्दिन । देश कस्तो छ थाहा छैन । जति भूटान देखेँ तस्बिरमा मात्र देखेँ।


नेपाली हुँ भनौ भने जन्म नेपालमा भएन । हुन त नेपालमा जन्मँदा मात्र कहाँ नेपाली भइन्थ्यो र? त्यहींको हावा-पानी, दु:ख-सुख, भोक-तिर्खा, अभाव र अन्योलमा आफूलाई सम्हाल्दै “नागरिकता” भएका नेपालीहरूबिच आफू पनि शरणार्थी “नेपाली” का रूपमा २० वर्ष बाँचियो । नेपाली बोलियो, नेपाली परम्परा मानियो, नेपाली भाषा पढियो र नेपालीमा लेख्न सिकियो । बुझ्नेहरूले आफू सरह माया दिए, नबुझ्नेहरूले घृणा दिए । आखिर जोसँग जे थियो त्यही दिए ! आफूसँग नभएको कसले के पो दिन्छ र ?? 
त्यहींको धुलो, हिलोसँग पौँठेजोरी खेल्दै आफूलाई जवान बनाइयो । कति दिनहरू भोक खाएर भोकै कटाइयो कति दिनहरू छाप्रोभित्र वर्षामा रूझेर कटाइयो । शरणार्थी शिविरको बसाई । त्यति सहज थिएन । जसोतसो सास जोगाइएछ अहिले सम्झँदा । शिविरभित्र स्थापना गरिएको स्कूलमा पढियो । थोरै अङ्ग्रेजी, धेरै नेपाली लेख्न र बोल्न सिकियो । हुन त नेपाली मैले जन्मँदै लिई आएको भाषा हो । मेरोलागि मेरा बाबु-आमा नै मेरो नेपाली गुरु हुन् । त्यही प्राप्त गरेको शिक्षाले सकेसम्म नेपाल देशभित्रका केही विद्यार्थीहरूलाई शिक्षा दिने काम पनि गरियो । कतै स्यावासी पाइयो कतै अपहेलना । यो पाउँने र गुमाउँने काम हरेक ठाउँमा भई नै रहनेरहेछ।

बिस्तारै नेपाली भाषाको मोहले जीवनमा जरा गाड्न थाल्यो। सानै उमेरदेखि कथा, कविता, गजल, रूबाई आदिमा रहर जाग्न थाल्यो । केही कोरियो, केही च्यातियो पनि ।


थोरै देशलाई दिएर धेरै आफूले लिइयो । खास भन्नु पर्दा आफूले ठुलो आशा र भरोसा पालिएछ । नेपालीभाषी भएकोमा गर्व पनि गरियो र गरिरहेको छु आज पनि। थाहा छैन के कारणले अटाइएन र आफूसँग नेपाली भाषा, नेपाली संस्कृति र नेपाली मन लिएर अरू हजारौँ नेपालीभाषीहरू झैँ सन् २०११ मा अष्ट्रेलिया पुनर्वास भइयो रहरले नभई बाध्यताले । हुन त नेपाल बसेर दु:ख-सुखले जीवन बिताउँने सपना मेरो जस्तो सयौंको टुटेको छ, गुनासो कति गर्नु ! सपना देखेर मात्र काहाँ हुन्छ र, सपना पुरा हुने माध्यम पनि त हुनु पर्‍यो।

सुरुवातमा चुल्हो बाल्न नजान्दा, सिलिङ्गको अलार्म कराउँदा आतिएको, रातभर डरले ननिदाएको, सपिङ् सेन्टरमा हराएको, घर फर्कँदा आफ्नै घर नचिनेर अलमल्ल परेको, बसस्टप नचिन्दा, समयमा बसस्टप नपुग्दा, टिकट लिन नजान्दा घणटौं अलमलिएको, अङ्ग्रेजी बोल्दा लवज नमिलेर भोग्नु परेको सास्ति, भाषामा परेको अफ्ठ्यारो, हरेक एपोइन्टमेन्टमा जाँदा भोग्नु परेको सास्ति आदि झलझली छ आँखामा ।

अझ पनि स्मरण छ । अल्बरी विमानस्थलमा ओर्लने बित्तिकै अष्ट्रेलियाबासीहरूले गरेको न्यानो स्वागत । त्यासपछि आफ्नो सवारी साधनमा राखेर वासस्थाममा पुर्याएको । गाँस, बास र कपासको बन्दोबस्त, आवश्यक स्वास्थ्य उपचारको व्यवस्था, सरकारी संस्थाहरूसँगको भेटघाटको आयोजना, अङ्ग्रेजी सिक्नलाई गरिएको विद्यालय भर्ना आदि इत्यादिले पनि प्रष्ट हुन्छ कि अष्ट्रेलियाबासीहरू कति उदार दिलका छन् भनेर । यसो भनिरहँदा केही मानिसहरूले गरेको भेदभाव, हाट-बजारमा आफ्नो भाषा बोल्दा गरिएका केही हेपाह व्यवहारहरू पनि भुलिनसक्नु छ तर वास्तवमा हेर्ने हो भने यहाँका अधिकांश मानिसहरूमा मानवताको भण्डार छ। २०२ भन्दा बढी भाषा बोलिने यो बहुसांस्कृतिक देशमा कानुनभित्र रहेर आफू खुसीले जीवन बिताउँन पाइने रहेछ । 
संसारमा अझ पनि ८०% भन्दा बढी राम्रा मान्छेहरू छन् भन्ने मान्यता राख्दछु म। उनीहरू सधैं भलाइका कामहरू गरिरहेका हुन्छन् तर अरूको आँखामा छाउँदैनन् । केही खराब मानिसले उद्दण्ड मचाउँछन् र हाम्रो आकर्षण त्यहीं हुन्छ । फरक यति हो महान् मान्छे सधैँ असल हुन्छन् ।

मलाई अष्ट्रेलियामा प्राय जसो सोधिरहने एउटै प्रश्न हो- तिमी कहाँबाट आएको ? उत्तर दिँदा म धेरै पटक झुक्किएको छु नेपाल भनेर । मानिसले जहाँ आफ्नो बाल्यकाल र युवा अवस्था गुजार्छ, जुन देशको भाषा बोल्छ त्यहींको याद बढी आउँनेरहेछ । त्यही भएर होला मेरो मुखबाट घरी घरी नेपाल भन्ने उत्तर आएको । अर्को कुरा म हुर्कँदा नै मेरो मानसपटलमा नेपाल भन्ने देश थियो र रहिरहयो । जीवन सङ्घर्ष हो, निरन्तर सङ्घर्ष गरिरहनु पर्ने रहेछ । 
समयको वेगसँगै जीवनले केही परिवर्तन लिएको छ । झुपडीबाट घरमा सरेको छु । धुलोबाट चिल्लो सडकमा छु । पैदल यात्राबाट गाडीमा हुइँकिने भएको छु तर अझ पनि अङ्ग्रेजीमा सपना देख्न सकेको छैन ।

अबको आठ दिनमा म तीसौं वसन्तमा प्रवेश गर्नेछु र छ दिनमा जीवनमा पहिलो पटक नागरिकता ग्रहण गर्नेछु ।[१] खुसी यस कारण छु कि जीवनमा पहिलो पटक अष्ट्रेलिया देशको नागरिक हुँदैछु । मेरो पनि अब आफ्नो देश हुनेछ । दु:खी यस कारण छु कि म आफैँले आफैँलाई कसरी चिनाउँने भन्ने प्रश्नको जवाफ छैन मसँग ! मैले माथि उल्लेख गरिसकेको छु कि हरेक ठाउँमा नेपालको मोहले मलाई छुन्छ र छुनु स्वभाविक पनि हो । हामी सारा नेपाली र नेपालीभाषी एउटै हौं जस्तो लाग्छ चाहे त्यो भूटानको होस् या नेपालको, बर्माको होस् या फिजीको, असमको होस् या दार्जिलिंगको । तर मैँले यो कदापि भुल्ने छैन कि म भूटानमा जन्मिएको नेपालीभाषी भूटानी हुँ । आफैँले आफैँलाई परिभाषित गर्न निक्कै कठिन छ यो अवस्थामा । समयले यसको पनि छिनोफानो अवश्य गर्नेछ । मैले अझ पनि आशा गर्नेछु । 
हाम्रो जीवनमा जे-जस्ता अफ्ठ्याराहरू आए पनि हाम्रा दुई छोरीहरूले आफ्नो देश पाएका छन् । परिचय पाएका छन् । पक्कै पनि आफ्ना बाबु-आमालाई धिकार्ने छैनन् । उनीहरूको जीवनमा अभाव खड्किनेछ त केवल नेपाली भाषाको। मैले सकेसम्म उनीहरूको लागि यो भाषा जोगाइदिने प्रयास गरिरहनेछु । जीवन एउटा प्रयास न रहेछ । प्रयास बाहेक अरू हामीले के नै पो गर्न सक्छौ र ? छोरीहरूले आफ्नो भाषा नभुलुन् भनेर सन् २०१५ मा उनीहरूलाई समर्पण गर्दै गजल सङ्ग्रह ‘भूगोलको नासो’ प्रकाशित गरेको छु । हामी अष्ट्रेलियामा पुनर्वासित भूटानीहरूबिच नेपाली भाषा लोप नहोस् भन्ने हेतुले सन् २०१५ बाट नेपाली कार्यक्रम ‘साझा आवाज’ निरन्तर रूपमा लिएर आएका छौं साथै यही वर्ष पंक्तिकारको सम्पादनमा संयुक्त गजल सङ्ग्रह ‘कंगारूको देशबाट’ पनि प्रकाशित भएको छ । अब आउँदो वर्ष भित्रमा मेरो दोस्रो कृति ‘आमाको देश’ नामक रूबाई सङ्ग्रह लिएर नेपाली साहित्य पारखीहरू माँझ आउँदैछु । मैले यी सब गर्नुको पछाडि एउटै स्वर्थ छ – नेपाली भाषाको संरक्षण र त्यसको विश्विकरण। नेपाल देश मसँग छैन र म नेपालको हुन सकिन तर नेपाली मन मसँग छ, जीवन्त रहिरहनेछ । हिजोको कुरालाई लिएर पछुताउनुभन्दा आजलाई मार्गनिदेश गरेर भोलिको सुनौलो बिहानी खोज्नु छ । अर्कोतिर विगत ३-४ वर्षदेखि म यहाँ आफ्नो जागिरमा क्रियाशील छु । जीवन धान्न काम नगरी हुन्न । फेरि आफूलाई “सक्षम” उभ्याउन र नयाँ देशमा नयाँ जीवन सुरु गर्न केही त गर्नै पर्‍यो । म जहाँ छु ठिकै छु । 
मलाई र मेरो परिवारलाई पाइला राख्न आव्हान गरेर सहर्ष स्विकार्ने देश (अष्ट्रेलिया) प्रति जीवनभर धन्य छु र देशको उन्नतिका निम्ति आफूले आफ्नो ठाउँबाट सक्नेसम्म गर्नेछु । विशेष केही दिन सकौला या नसकौला तर एउटा असल नागरिक भएर जीवन बिताउँनेछु । यो देश हाँस्दा हास्ने छु, रूँदा सँगै रूनेछु । अब सायद यो मेरो बाँकी जीवन यही देशमा बिलाएर खरानी हुनेछ ।

मलाई म जन्मिएको माटो मेरालागि प्राणभन्दा प्यारो छ। नेपाल मेरो पुर्ख्यौली थलो हो। सधैँ त्यो देशको उन्नति, प्रगति र खुसीको कामना गरिरहनेछु। मलाई शरण दिने र गर्वका साथ शिर ठाडो गर्न सक्ने “नागरिक” बनाउने यस देशप्रति मेरो जीवनभर सम्मान रहनेछ । छातीमा देश बोकेर बाँचिरहन पाऊँ । बस् ! यति छ चाहना ।

मैँले जस्तो मेरा छोरीहरूले बिना देश बेबारिसे भएर बाच्नु पर्ने छैन। उनीहरूको जीवनमा सुनौलो मार्ग छ र त्यही मार्ग कोरिदिने हामी बाबा-आमा छौँ साथमा । छोरीहरूको खुसी मेरो जीवनको ठुलो शक्ति हो र मलाई यही शक्तिले बाच्न प्रेरित गरिरहनेछ । 
भगवानसँग म यति प्रथाना गर्छु – ‘हामीले जस्तो कसैले पनि शरणार्थी भएर बाच्नु नपरोस्’ ।

जय देश !!

[१. आज यो लेख प्रकाशित भएकै दिन लेखकले सपरिवार अष्ट्रेलियाको नागरिकता ग्रहण गरेका छन्- सम्पादक ]

Leave a Reply

Your email address will not be published. Required fields are marked *