पछाडि हेर्दा

ईश्वर ढकाल
कोलम्बस ओहायो
ढुङ्गाको गारोले ठड्याएको
सिरुको नालले छापिएको
कोदालीले खुर्केर चिल्लो बनाएको आँगन
रातो माटोले छेउ कुना पोतेर
गोवरले लिपिएको सिकुवा
अनि,
बार्दलीबाट हेर्दा
मनोरम चम्पा चमेली र सयपत्रीहरू मुस्कुराइरहेको दृश्य
माटोले बनेको दुई मुखे चुलो
गोलाकार आकारको अगेनो, र
छेवैमा रहेको मूल ओछ्यान
समयको पावन्दी भनौँ वा
विकासको पराकाष्ठा
सुन्दर प्राकृतिक हराभरा गाउँबाट
कृत्रिम सौन्दर्यले सजिएको
आधुनिक विकासले
सताब्दि अघि नै प्रवेश गरिएको आभास हुने
उज्यालो बस्तीमा प्रवेश पाउनु
साँच्चिकै चानचुन थिएन
खोइ कता गए
नाम्लो, बरियो, डोको,थुन्से
पेचा-फुर्लुङ, धिरी, दुँद्यारो
हलो-जुवा, हल्लुँड-अनहुं
राँबो-वसिलो, हँसिया-खुर्पा
डालो-नाङ्लो, तोलुङ्, टेकी-मदानी
जाँतो-हतौडो, ओखली-मुसल
कोदाली-फरुवा, जोतारो, करुवा,आदि
पुर्खाले जीविकोपार्जनमा
प्रयोग गरिएका सर-सामान्हरु
कहाँको गोरु-गाडा
त कहाँको चिल्लो  पँदेरो गाडी
कहाँको बोराले बारिएको पाइखाना
त कहाँको भान्सा कोठासँगै
जोल्टिएको बाथरुम
कहाँको राम, श्याम, सिता, त
कहाँको एरोन, फिनिक्स, जुलिया
जीवन साँच्चिकै एउटा
यात्रा मात्र नभएर
दुख-सुख, पिर र सङ्घर्षको सङ्गम पनि हो रहेछ
एक पटक पछाडि फर्केर
त्यो ढुङ्गाको गारोले बनाएको घर देखि
भाटा र तिर्पाल हुँदै
आज भ्यानाएल र इट्टा सम्म स्मरण गर्नुहोस्
पक्कै पनि यी नयन
नरसाउला भन्न सकिन्न
तर धैर्य रहन सक्यो भने
सर्पले काँचुली फेरे झैँ
जीवनले पनि काँचुली फेर्दो रहेछ
ढिलै भए पनि
हाम्रो जीवनमा वा दिनचर्यामा
चाँदनी झुल्किएको छ
मात्र एउटा प्रश्न चिन्न
भावी सन्ततिले
आफ्नो भाषा, संस्कार र संस्कृतिलाई
कुन अर्थमा हेर्ने हुन र
कुन बिन्दुमा पुर्‍याउने हुन?

Leave a Reply

Your email address will not be published. Required fields are marked *