म पराजित भएको छु
रमेश गौतम
नर्वे
दुई वर्षअघि
खुल्ला घोषणा गरेको थिएँ कि
हजार प्रतिकूलताहरूका बाबजुद पनि
जीत मेरै भएको छ।
समयका ज्वारभाटा समान छन्
सूर्योदय र सूर्यास्त निरन्तर नियमित छन्
यद्यपि
अभिशप्त सपनाहरूभित्र आज
खोजिरहेछु
आफ्नो युगीन अस्तित्व।
अद्यापि
चलिरहेछन् गला दबाउने खेलहरू
निरन्तर कायमै छन् अग्निपरीक्षाहरू
जर्जरताका मार्गभरि
पाइला टेकेर
देउरालीको अपरिचित बिन्दुबाट
नियालिरहेछु
आफ्नो अतीत- भग्नावशेष !
भीषण समरमा हारेको योद्धा जस्तै
हिँडिरहेछु
मनभरि ग्लानि भरेर
आँखाभरि सपना ऊनेर
यद्यपि
बाँकी छ
आफ्नै अस्तित्वदेखि त्रसित-त्रसित
एउटा मूल्यहीन पुरुषार्थ
अर्थहरूको खोजीमा विक्षिप्त !
थाहा छैन
किन उडाउन सकिनँ
आफ्नो हृदाकाशमा परेवाहरू !
लाखौँ प्रयास गरेर पनि
किन बढार्न सकिनँ
बारुदी धुवाँहरू !
हजार चाहना भरेर पनि
किन नियाल्न सकिनँ
हृदयकाननका हरिणक्रीडाहरू !
अनि
थाहा छैन
किन गिज्याउन थाल्यो
झ्याउँकिरीको झ्याउँझ्याउँले आज
किन जिस्क्याउन थाल्यो
जुनकिरीको मोहक किरणले आज
किन निम्त्याउन थाल्यो
एकाकीपनको चाहनाले आज।
मेरो आस्थाको भगवान्
आज एकाएक
रूपान्तरित भएको छ
रावण अस्तित्वमा
र दाउ हेरिरहेछ
म हिँड्ने मार्गहरूमा
मभित्रका सीता अस्तित्व लुट्न!
मेरो आराधनाको सूर्यबाट
आज म केवल
घातक विकिरणहरू अपेक्षा गर्न सक्छु!
मैँले सधैँ पुजेको चन्द्रमा
कैयन दिनदेखि छिपेको छ
खग्रास ग्रहणको अन्धकारभित्र !
यति बेला
आफ्नै अस्तित्वका सामु
आफूलाई उभ्याएर
सोध्नुपरेको छ
कञ्चन हृदय
पहराहरूमा ठोकिएर
कति चोटि टुक्रियो भनेर
मुलायम काय
शिशिर ठिहीहरूमा
कति चोटि नाङ्गियो भनेर
कति चोटि च्यातिए सपनाहरू!
गुलामी र लिलामीमा
कति चोटि साटिए बिपनाहरू!!
यो अप्रिय सत्य
नचाहेर पनि
खोज्नुपरेको छ आज।
जहाँ टेक्यो त्यहीँ
धर्ती डुब्न थालेको छ
अनिश्चितता र निर्णयहीनता
आकासिँदै छन्
कैयन् चोटि
आत्मदाहको
निर्मम सिकार भएका छन्
वसन्ती इच्छाहरू!
मुलायम आकाङ्क्षाहरू !!
तथापि आज
तिमी छौ
म छु
र एउटा द्वन्द्वात्मक परिवेश छ
खण्डित हुँदै छन् आस्थाहरू
विकर्षित हुँदै छन् मान्यताहरू
तिम्रो र मेरोबिच
एउटा समुद्र छ
र नियालिरहेछु
विपरीत किनारबाट
बढ्दै छ पानीको आयतन
र तन्कँदै छ समुन्द्रको चौडाइ।
कैयन् चोटि
अनुत्तीर्ण भएको छु
अग्निपरीक्षाहरूमा
निसासिएको छु
जर्जरतामा
पिल्सिएको छु
विकल्पहीनतामा
र अभ्यस्त छु
पाइला चाल्न यथास्थितिमा।
यति बेला
अब खुल्ला घोषणा गर्नुपरेको छ-
म पराजित भएको छु।
१७ मे २००६
विराटनगर