परिचित अन्जान
सबिन शर्मा
ओहाईयो, अमेरिका
कुनै दिन जब म तिम्रो घर आउने छु
बिर्सिएर सारा तिता- मिठा क्षणहरू
राम्ररी नचिनेको एउटा मान्छेलाई जस्तै व्यवहार गर्नु
साल बिराएर दसैँमा मात्र देखा पर्ने
दूरको कोही आफन्तलाई जस्तै व्यवहार गर्नु।
हेरी नरहनु; हेर्दै-नहेरी कोठामा पनि नबस्नु
बोली नरहनु; बोल्दै-नबोली चुपचाप पनि नबस्नु
पहिले धेरै पहिले जस्तो चिमोटी नहाल्नु मेरो पाखुरामा
म मन थामेर बसेको हुन्छु; तिमी हात थामेर बस्नु।
म हात बाँधेर बसेको हुन्छु; तिमी मन बाँधेर बस्नु।
बिर्सिएर सारा तिता- मिठा क्षणहरू
मलाई भर्खरै बसाइँ आएको छिमेकीलाई जस्तै व्यवहार गर्नु।