परिवर्तनको झूर कुरा

Also called by Yati Raj Nyaupane, Yati Raj Ajnabee is an enthusiast of letters who had to leave his parents, siblings and his homeland in the first year of his teens in 1992. He, who was born in Surey, a village in Southern Bhutan, has been living in Australia since September 2008. The chap is convinced that the language and literature of a community reflect how far it has reached in the road to civilization. According to his inner man, underlining promotion and preservation of culture, language and literature in a foreign country when an exodus leaves its indigenous locale for keeps, is so tough and testing that it turns out to be a knack if one does well in doing so. He can be contacted at yrajanabee@gmail.com.

कवि
कवि

यतिराज अजनबी
एड्लेड अस्ट्रलिया

देशबाट लखेटिँदा पहिलो पल्ट गाडी देख्ने घ्याब्रिंग काका

जम्बो जेट चढेर विश्व भ्रमणमा निस्केकाछन् ,

छिमेकीको बच्चाले ललिपप खाएको देखेर

आमाबाको टाउको खाने नानीहरू

झगडा गर्न छाडिसकेकाछन्

अब के गरिबस्छौ परिवर्तनको

उही अपरिवर्तित पाजी कुरा !<!–more–>

 

जिन्दगीको बसन्तभरि घाँस दाउराको म्याराथनमा

अनवरत दौडेर सधैं प्रथम भएता पनि

पुरस्कार नपाएको गुनासो कहिल्यै नगर्ने

खोर्साने मित बाउ ट्रयाक हराएपछि

दगुरिराखेको भेटिनथालेकाछन् आजभोलि

प्राय फिटनेस सेन्टरको ट्रेडमिलमा

अब के गरिबस्छौ परिवर्तनको

दिक्क लाग्दो कुरा !

 

लोकल कोरली पाल्ने देथांगे दाजु

हाइब्रिड कोरोला पाल्न थालेकाछन् ,

जैविक जोताराहरूले बाँधिएर

हरदम मेलामा नारिरहनु पर्ने बाद्यताले

सिनेमा जान नभ्याएका गामनांगे बा

होम थिएटरमा हेर्दै सुपरम्यान र हनुमानको

अलौकिक शक्तिको तुलनात्मक विचार गर्दैछन्

अब के गरिबस्छौ परिवर्तनको

उही झुर कुरा !

 

रजस्वला हुँदा दिनभर परिवार सबैका लुगा

पांग्रोको गुदी र खरानीले खोलामा

महिनामा एक चोटी धुने सेतु दिदी

घरभित्रै वासिंग मेसिनमा लन्ड्री लिक्विडले

दैनिक पखाल्दैछिन् उसबेला नपखालिएका

लान्छनाका कटकटाउँदा पुराना टाटाहरू ,

गिटीसँगै औंला कुटेर बनाएको अचारसँग भात ख्वाएर

बतासे छोरालाई स्कूल पठाउने सर्केनी साइँली भाउजू

आफैं ल्याँग्वेग क्लास धाउँदैछिन्

अब के गरिबस्छौ परिवर्तनको

उही वाइयात कुरा !

 

घुम ओढेर दिनभर बाउसे गर्ने गोतामे भाई

रेनकोट ओढेर झरीको अर्थ खोजिरहेछन्  ,

मानेको पातमा ओत लागी पर्म तिर्न जाने साइबो

समयको छतमुनि उभिएर जीवन बुझ्दैछ

अब के गरिबस्छौ परिवर्तनको

उही रड्डी कुरा !

 

कुकुर रुँदा कसैको मृत्यु भएको बुझ्ने धिमालनी आमै

एम्बुलेन्सको साइरन सुन्दा झस्किन थालेकिछन् ,

अनुहारमा मोसो लाग्दा, आगो भर्भराउँदा

पाहुना आउने संकेत हो भन्ने पक्वालनी फुपू

कन्भेक्सन ओभन र डिसवासर देखी

संसोधन गर्दैछिन् आफूभन्दा जेठा विवेकशून्य विश्वासहरू

अब के गरिबस्छौ परिवर्तनको

कामै नकाट्ने भुत्ते कुरा !

 

आमाले बाछो झिकुवा लाएर फाँचो पखाली

गाई दुहुन घुँडाले ढुङ्ग्रो च्याप्न लाग्दा

ब्यथा लागेर त्यहीं जन्मिएकी कर्केनी बहिनीले

विमिन एंड चिल्ड्रन हस्पिटलमा भान्जो पाइन

अब के गरिबस्छौ परिवर्तनको

उही वाक्क लाग्दो कुरा !

 

परिवर्तनको भाषण गर्ने ए पाषाण क्रान्तिकारी !

हब्बे आमाको फ्रेन्ड भएर हेर त फेसबुकमा

उनको स्टाटस छिनछिनमा परवर्तन हुन्छ ,

जंगली जडिबुटी र धामी-झाँक्रीदेखि पर्तिर नजान्ने

खरीलाल बा सत्तरी वर्षे अस्ट्रालियन हजुरबा,

केभिन किंग, पिता बने भन्ने सुन्ने बित्तिकै अतालिँदै

भएग्राको खोजीमा नजिकैको सपिंग सेन्टरतिर लागेकाछन्

तिमी आफैं भन अब तिमीले गर्ने गरेको

परिवर्तनको कुराको औचित्य छ कि छैन ?

 

एक चोटी हेरी मात्र हेर त

हमेशा  मस्को हुने चमेलीको हातमा

क्या….दामी मस्कारा छ ,

उसको मस्काराले सिंघारिएको आँखा हेर त

त्यसपछि सधैंसधैं परिवर्तनको बकम्फुसे कुरा गर्ने तिमी सिधै

परिवर्तन र सौन्दर्यको अर्थ बुझ्न उनको

शरणागत हुनेछौ |

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *