पर्खालभित्र

डिल्लिराम रेग्मी
ओहायो, अमेरिका

घामको तापले सुकेर कङ्काल भइसकेको शरीर
चिसो भुइँमा फ्यात्त फालेर
सपना निदाइरहेछ।
रैथाने बगरमा फुटाएका गिटी भटुलेझैँ
नियति जोड्ने क्रममा कैयौँ सपना बगरमै निदाए।

सिमानामा घेरा लगाइएको काँडेतार
अनि त्यस घेरा भित्रको म
त्यस माथि म भित्र लुकेको म
म मेरालागि “म” हु
तर त्यस काँडे तार बाहिर “तँ” मा परिचित छु
हरेक थरी कहानीमा “तँ” भएर भरिएको रहेछु।
अरू कसैको “बिचरा” सम्बोधित
अनि “रेफ्युजि” स्ट्याटस टाँगेर
आधा बालापन र पुरै वयस्क जवानी
धेरैले माटोसँगै घोलेर पिउन बाध्य भए।

भाग, मध्य रातमै भाग
आखिर बचाउने भनेको नै रातले हो
बिहानसम्म पर्खिरह्यौ भने
न तिमी रहने छौ
न त अस्तित्व नै
यिनै चिच्याहटका बिच
ज्यान बचाएर खालि हात
अनुहार र पाइतालामा जलिरहेको किस्मतको खरानी लिएर
राता रात जङ्गल, खोला, पहाड, तराई
सबै एकै सासमा काट्नुको बाध्यता कसैले बिर्सेको छैन।
कसको कति नाम थियो
कसको कति दाम थियो
कसको कति काम थियो
त्यसले केही फरक परेन
यही सोचेर, प्लास्टिकको छानुको मुनि
सयौँको सपना यसै पग्लियो।

भोको पेट पटुकाले बेस्सरी कसेर
सन्तानलाई पेटभरि खाने चामलको दुर्गन्धित भोक ख्वाइसके पछि
भोक नलागेको नाटक गरी
कैयौँले यसै आफ्नू शरीरलाई ओछ्याए।

हामी भित्र थाहै नपाई कति स्वतन्त्रता कैद थियो
स्वतन्त्रता भित्र हामी आफैँ कति कैद थियौँ
सबैलाई थाहै छ
खाली सेतो कागजका पन्ना जस्तै
अस्थायी, असमञ्जस सबैका सपनाहरू
सबै भोगाइका कुम्लो बोकी निस्केका सुकुम्वासी जस्तै!
अनि स्वदेश फर्काउने झुटा कसमहरूको च्यादर ओढेर
अश्लील तापक्रमको छानामुनि
अरमठ्ठिएका चाहनाहरू यसरी हराए
कि खोज्नेले देख्दै देखेन
देख्नेले भेट्दै भेटेन
अनि भेट्नेले चिन्दै चिनेन।

रुमाल लुकाई खेल्ने उमेरमा
दुख लुकाई खेल्नु पर्ने अवस्था सबैलाई ज्ञातै छ
यस्तो बेला झुमरमा (chandelier) मच्चिएर
भोलीको अस्तित्व नै छैन भन्दै, आजै जिइसक्नु पर्छ भनी
पिङ खेल्न मन सबैलाई नभएको होइन
राक्षसी नजरहरूको तल्लो वर्गीय हेपाई
अनि अस्तित्व मेटिने गरी लागेको
परिस्थितिजन्य डढेलो बाट बची
खरानी बाटै फेरि उठेर
आफ्ना हातहरूले आफैँलाई अँगालो हाली
आफ्नै डाढ आफैँले ढपढपाएर
फेरि उठिनै रह्यौँ, बढिरह्यौँ
हिजो अनि आज
र भोलि पनि बढिरहन्छौँ यसै गरी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *