पहिचान

कवि

चोकमान तुम्बापो
एक्रन,ओहायो

जहाँ
धनीहरुले गरीबहरुलाई मान्छे गन्दैनन्
गरीबहरुले
उनीहरुको गोडा नमोले
उनीहरुको चुलोमा आगो बल्दैन/मुखमा माड लाग्दैन
धनीहरुले जे गरे पनि
जे भने पनि
सहनु पर्छ गरीबहरुले
चुपचाप
निमुखाहरुको पक्षमा आवाज निकाल्नेले
कि  त मारिनु पर्छ कि त सामना गर्नु पर्छ जेल नेलको
गरीबहरु सधैँ दबिएका हुन्छन् थिचिएका हुन्छन्
जहाँ
सधैँ हत्या, हिंसा अनि अपहरण भइरहन्छ
आफ्नै छोरीहरु
आफ्नै बाबुहरुबाट

आफ्नै आमाहरु
आफ्नै छोराहरुबाट बलत्कृत हुन्छन्
जहाँ
दिदी अनि बहिनीहरु
आफ्नै दाइ
अनि भाइहरुबाट सुरक्षित हुँदैनन्
हो
म त्यही देशको नागरिक
भन्न पनि लाज लाग्छ
तर भन्नै पर्छ आखिर
आफ्नो पहिचान किन लुकाउने ?
किन कि
यही नै त हो
हाम्रो असली पहिचान
१२ फेब्रुअरी २०१२

Leave a Reply

Your email address will not be published. Required fields are marked *