पूर्णिमा
रमेश गौतम
नर्वे
अहा! के होला त्यो सुन्दरता?
बादलका टुक्राहरू-
त्यो मधुरता, त्यो कोमलता
बादलले ढाकेको चन्द्रमा!
एक छिनमा अँध्यारो भयो
चारैतिर शून्यता, एकाकीपन
अनि फेरि बादलका टुक्राहरू
त्यो मधुर पूर्णिमाको रात?
त्यही चन्द्रमाको वरिपरि
प्रकाशमयावस्था!
अलि-अलि पुष्पाका गुच्छाहरू
छर्लङ्ग पूर्णिमाको रात!
बादलका पुष्पहरू निर्मित
त्यो कति सुन्दर संसार?
भावनाका ती मन्दिरहरू!
बादलका ती आगारहरु!!
कति चित्रमय छ सुनौलो संसार!
हाय! बादलका आगारहरु भत्कन्छन्
अनि फेरि त्यही नीरवता!
अनि फेरि त्यही रजनी!!
बादलले चन्द्रमा ड्याम्म!
अनि फेरि अँध्यारो हुन्छ,
पुष्प-पुञ्ज अन्धकारमा लोप!
कतै गाडीको आवाज-ग्यार्र ग्यार्र।
त्यही निर्जरता, नीरवता!
घडीको आवाज छ्याक्-छ्याक्।
कुकुरहरूको भुकाइ, नजिकैको
पुस्तकमा रगतले पोतिएको मेरो देश!
फेरि बादल उडिसकेकोछ
छर्लङ्ग प्रकाशमय संसार!
आफ्नै सुरमा रेडियो बजिरहन्छ
अनि उद्घोषकको उद्घोषण!
एक्लो दीप बलिरहन्छ-
“वर्तमानलाई रक्षा गर”-
रेडियो बोलिरहन्छ
अनि त्यही सङ्गीत-
“फूलबारीमा ओइलाए कैयन् फूल……”
फेरि मेघ गर्जन! अन्धकार!!
अलि ठूलो आवाज!
बाहिर जुनकिरी उडिरहेछ
जुनकोसामु पनि स्पष्ट!
फेरि घडीको छ्याक् छ्याक्
सबै निदाइसक्दा पनि।
फेरि चन्द्रमाको हीनावस्था!
फेरि चन्द्रमाको नीरावस्था!!
Nov. 25, 2000 को
क्युन्सेल (वर्ष : १५ संख्या : ४६) मा प्रकाशित
लेख राम्रो छ.
मन का तरंग निकाल्ने कसको छबि \
रश रंग भरि लेख्दछन् कवी