पृथ्वी

दिल भुटानी
बेलडांगी, झापा नेपाल

एउटै समयमा
कतै झुल्कछ घाम
कतै अस्ताउछ घाम ।

एउटै पाइलामा
कतै साँझ बोकेर जान्छ
कतै मिरमिरे लिएर आउछ
हो, यसरी हिँडिरहेछ पृथ्वी ।

हिडेरै पृथ्वीले
आदिमकाल पार गरेको हो
कविला वस्तीहरुको फन्को लगाएको हो ।

रोटेपिङ जस्तै हिडेर
पृ्थ्वी आज जहाँ आइपुगेको छ
त्यहाँ विवश छ
भोकानाङ्गाहरुका चित्कारहरु सुन्न
अनि आधुनिक भनिएका कोलोनीहरुमा
बैँसले छिल्लिएका कामुक चेहराहरू सामना गर्न ।

पृथ्वीको
एकातिर काँधमा लोकतन्त्रको उज्यालो छ
अर्कोतिर निरंकुशताको अँध्यारो ।

कतै असमानता छ
कतै शोषणका विशाल पहाडहरु छन्
कतै तानाशाही अग्ला चटानहरु छन्
कतै विभेदका ठूल-ठूला खाल्टाखुल्टी छन् ।

तर
पृथ्वी घुम्दाघुम्दै हो
ठूल-ठूला उथलपुथलहरु भएको ।

हिटलहर र मुसुलिनीहरु गुवा भएको
हो,पटक पटक धूलो चटाउने
आँधीबेरी र सुनामीहरु चलेको ।

जब जब जनता जुरुक्क उठे
बडेमानका क्रूर साशकहरुले
पुरै घुडा टेकेका
त्यस्ता कयौं दिनहरु छन्
हजारौँ इतिहासहरु साँची छन् ।

लाग्छ साउथ पोलमा झुण्डाइएको
भित्ते घडी हो पृथ्वी
दमनका मात्रा निश्चित पुगेपछि सायद
बज्छ आलम क्रान्तिको मेरो देशमा पनि ।

पृथ्वी !
हो यही पृ्थ्वी
घुमेर रोटेपिङ जस्तै
जब एकदिन
मेरो देशमा पनि आइपुग्नेछ
त्यो दिन
फ्रेन्च रिभोल्यूसन आउनेछ
अमेरिकन स्वतन्त्रता संग्राम आउनेछ
अनि अक्टोवर क्रान्ति हुने नै छ
भीयतनामी राष्ट्रिय मुक्ति युद्ध आउनेछ
हो त्यही बेला
सखुवा र सतिसहालहरु ढाले जस्तै
भुइचालो आउदा ढलेको पुरानो घर झै
गर्ल्यामगुर्लुम ढल्नेछ बादशाह
म ढुक्क छु ।I

Leave a Reply

Your email address will not be published. Required fields are marked *