पेरियोडिक टेवल
शिवलाल दाहाल
केन्टकी, अमेरिका
पेरियोडिक टेवल
जसका बारेमा धेरै दिनदेखि सोचिरहेको छु
यो रसायन विज्ञानको एक महाकाव्य
मेरो सानैदेखि विज्ञान पढ्ने रहरको एक हिस्सा
त्यो रहर, त्यो उत्साह
कसरी कसरी निलिदियो गरिबीको भूतले
कसरी कसरी छिनालिदियो देशविनाको अतीतले
अब त सोचेर पो कहाँ पुगौँला
तर पनि सोचिरहन्छु
यो आणविक युद्धको संघारमा पुगेको धर्तीमा
कोरियाली प्रायद्वीपमा आगो बल्न लागेको समयमा
यो पेरियोडिक टेवलको महत्ताको गुण किन नगाउने
फेरि पनि उही पेरियोडिक टेवेलको कल्पना गर्दछु
हुन त मैले अब रसायन शास्त्री बन्नु छैन
असलमा यो कवि हुने रहर पनि होइन
तथापि म सोचिरहेको छु
उही पेरियोडिक टेवलका बारेमा
जो आफैँमा एउटा महाकाव्य हो
जो आफैँमा एउटा ब्रम्हाण्ड हो ।
फेरि पनि जिन्दगीमा
एकबार विद्यार्थी भइदिएको छु
बिना रहरले
बिना चाहनाले
कहिलेकहीँ म काहीँ न पुग्ने बाटो पनि हिँडिदिन्छु
किन भने मैँले पुग्नै पर्ने गन्तव्य नै छैन सायद
यो एउटा सानो एक पृष्ठभित्र
कति थोक आँटेको छ
सृष्टिको उदयदेखिको कथा
संसारको सम्भावित प्रलयसम्मको कथा
सूर्य, चन्द्र, ग्रह नक्षेत्र
हावा, पानी, आकाश
मानिस, रुख–बिरुवा, आवास
खाद्यान्न, औषधि, विनास
यही हो पेरियोडिक टेवल
पोहोर सिरियामा भएको रसायानिक हमला,
सात दशक अघिको हिरोसिमा र नागासाकी
अहिलेको उत्तर कोरिया र इरान
हिट्लरको ग्यासच्याम्मबरको मानव चित्कार
यी देशका सिमाना र निसानाहरु
यी परदेशका अटालिका र आलिसन भवनहरू
यहीँ छ अमेरिका, रुस, बेलायत
यहीँ छ भारत, पाकिस्थान र चिन
यहीँ छ तिनको शक्ति र सामर्थ्य
यहीँ छ तिनको हुङ्कार र गर्जन
यहीँ छन् मेन्डलीफ, बोयल
यही छन् आइन्सटाइन, प्याल्यङ्क
मेडम कियुरी र अरूहरू
यस्तो लाग्छ पेरियोडिक टेवल छ र नै
संसार छ, विश्वब्रम्हाण्ड छ
देश र सिमानाहरु छन्
हतियार छ, युद्ध छ
भोक र गरिबी छ
रोग र निदान छ
यहीँ छ भौतिक उन्नति र विकास
यहीँ छ समृद्धि र विनास
त्यसैले म भन्छु पेरियोडिक टेवल एक महाकाव्य
सृष्टि, स्थिति र प्रलयको महागाथा ।