बहिनीलाई चिठ्ठी
बुद्धमणि ढकाल
केन्टकी, अमेरिका
तिमी र म
एउटी आमाका सन्तान
पहाडको छात्तीमा उभिन सिक्दै
ताते तातेको आवाजमा अभिप्रेरित
आस्थाको बलियो औंला समातेर
दुई इन्च भुईँ हिँड्न खोज्दै
मातृ-स्नेह बाँडेका थियौँ ।
आजकल मैँले सुनेको छु
तिमीले त
आमाको मायालाई बिर्सिएकी छ्यौ रे
आफूलाई शिक्षित ठान्दैमा
जीवनको सार्थकता सम्झेकी छ्यौ रे
नारी भेद्भावको विरुध्द
आवाज उराल्ने तिमी
आज एकताको नारा लगाउन सकिनौ।
त्यसैले,
कसरी म भनूँ
तिम्रो र मेरो वेदना एउतै हो भनेर ।
अब त तिमी,
पुरुष समाजको पिञ्जराभित्र थुनिएकी छैनौ
सिकुवा र मझेरीमै दिन बिताएकी होइनौ
इतिहासले तिमीलाई
संसारका विरंगना चिनाएको छ
भूगोलले कोरेको सिमानाहरूमा
हाम्रो देशको मानचित्र
देखेकी छ्यौ र
माटोको महानता बुझेकी छ्यौ
त्यसैले,
पश्चिमी रङ्गीन दुनियाँको खोल ओडेर होइन
आफ्नै गाउँकी आदर्श नारी बन तिमी
लाली-पाउडर र नङ पालिस लिएर होइन
मन वचन र कर्मकी खानी बन तिमी
भूटान आमालाई
कर्तब्यनिस्ठ छोरा मात्र होइन
सङ्घर्षशील छोरीको पनि खाँचो छ ।
कुपण्डोल, ललितपुर
माघ २०५१