बा !
दुर्गा रिमाल
अष्ट्रेलिया
मेरी श्रीमती मेरी आमासँग बस्छिन्
अनि म श्रीमतिसँग बस्छु
हाम्रा दुई छोरीहरू हामीसगैँ बस्छन् ।
म
यिनै नारीहरूकको बिचमा एक्लो बाँचेको छु
अन्धकारमा दीप बनेर
तिर्खामा पानी बनेर
मन्दिरमा थाली बनेर
खुसीमा हाँसो बनेर
दु:खमा आँसु बनेर
तर कहिल्यै अपुरो सोच्नु परेन
कारण
यिनै नारीहरूले मलाई जीवनमा पूर्ण बनाइदिएका छन् ।
त्यो दिन…
आमाले मलाई आँगनछेउमा जन्म दिएपछि
तपाईँका बाबा-आमाले
गाउँका सारा साधु, सन्तहरूलाई डाकेर
ऊ-बेला खुबै भोज खुवाउनु भयो रे
र परिवारमा छोरो जन्मँदाको उत्सव मनाउनु भयो रे
बहिनी जन्मिँदा चाहिँ थोरै तिरस्कार पनि गर्नु भयो रे ।
यी दुवै क्ष्याणमा
बा…!!
तपाईँ केही बोल्नु भएन रे
तपाईँका आमा – बालाई साथ पनि दिनु भएन रे
र यता आमासँग खुसी पनि बाँड्नु भएन रे ।
जब म बढ्दै गएँ
पासाङ ल्हामोको साहस देखेँ
पारिजतको गजल लेखेँ
सिता र भृर्कुटीको भूमि टेकेँ
र
चन्द्रमामा पाइला राख्ने नारी भेटेँ
म आफू को हुँ बिर्सिएँछु
नारीको सहास प्रति एकोहोरिएँछु ।
केही वर्ष अघि
मेरी श्रीमतीले हाम्री दोस्रो छोरीलाई जन्म दिएपछि
मेरी आमाले सारा छिमेकीलाई डाकेर भोज खुवाउनु भयो
र नातीनीलाई अँगालोमा लिएर
चुम्बन वर्षाउनु भयो ।
यही क्षाण
मैँले मेरी आमाको ओठमा
पहिलो पटक मुस्कान देख्ने सौभाग्य पाएँ ।
आमाको आशिर्वाद शिरमा अटाउँदा अटाउँदै
श्रीमतीको मायामा हराउँदा हराउँदै
छोरीहरूको खुसीमा रमाउँदा रमाउँदै
म मेरा छोरीहरूको असल बाबु बन्ने रहरमा
मैँले आफ्नो स्वर्थहरू निमोठेको छु ।
जब बिहान हुन्छ
मेरो ओछ्यानमै आएर छोरीहरू मुस्कुराउँछन्
कहिल्यै आलाम सेट गर्नु परेन
बिहानको नित्य पूजा त झनै गर्नु परेन
दुनिया बिउँझाउने गरी घन्टी बजाउनै परेन
यी सबै सबैको चहाना
छोरीहरूले पुरा गर्दिँदैछन्
बिहान जागिरमा जाने बेलाको स्पर्श
र
बेलुका कामबाट फर्किँदाको न्यानो स्वागत
थोरै अस्पष्ट तर तोते बोलीमा
आफू लठिँदा लठिँदै
मैँले तपाईँको बाटो हिँड्न चाहिनँ
त्यसैले बा
माफ गरिदिनु होला
मैँले वंश बचाउन चाहिनँ
मैँले मेरो कुल जोगाउन चाहिनँ ।