बाँच्नलाई

कवि
कवि

बुद्धमणि ढकाल
केनटुकी, अमेरिका

वर्षा यामको भेलसरि
अनियन्त्रित आफलिएको
छताछुल्ल,
पोखिएको छ जिन्दगी
मान्छे आस्थावान हुँदोरहेछ –
र बाँच्न खोज्दोरहेछ
तोते बोली मै,
आस्था उम्रदो रहेछ

बाँच्नु पर्छ मान्छेले
तर बाँच्नलाई सङ्घर्ष गर्नुपर्छ
आस्था नभए सङ्घर्ष गर्ने हुति कसको र ?

सडकबाट उठाएर
बाँच्नुपर्ने रहेछ जिन्दगी
बगर निचोरेर
बालु-कणबाट तेल झार्नु
आस्थाको पराकाष्ठमा
जीवन सङ्घर्ष हो-
यही हो जिन्दगी बाँच्नलाई ।

बटुल्नु छ साना खुसीहरू
जुनकिरीसँग लुसिफेरिन पैंचो मागेर
थोरै उज्यालोमा
आफूलाई डोर्याउनु छ
घोर अन्धकारभित्र
जीवन रथ हाँक्नु छ
बाँच्ने प्रयास गर्नु छ अलिकति हाँसेर ।

रचना: २०५८, काठमाडौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *