बाबाको कथा

कथाकार
कथाकार

दुर्गा रिमाल
अल्बेरी, अष्ट्रेलिया

कामबाट थकित अनुहार लिएर घर छिर्ना साथ सोफामा म थचक्क बसेँ ।

आफ्नो लोग्ने आउँने बेला भयो भनेर होला मेरी अर्धाङ्गिनीले कफि बनाएकी रहिछिन । मलाई ल्याएर दिइन् ।

उनले बनाएको कफि मलाई खुब मन पर्छ । तर आज यो कफि पिउँने जाँगर पनि छैन मसँग ।
उनी रिसाउलिन कि भन्ने डरले जवर्जस्ति पिइदिएँ । आमाले दिनु भएको भए त आज म पिउदिन भन्ने थिएँ तर त्यसो भन्न सकिनँ ।

हरेक दिन असहाय मानिसहरूको सेवामा खर्चिने मेरो समय जीवनको सबै भन्दा फलदायक क्षण हो । कामबाट फर्कँदा म कहिल्यै निराश हुनु परेको छैन आजसम्म सायद तिनै असहायको आशीर्वादले होला । यो मेरो अष्ट्रेलिया बसाइको दोस्रो जागिर र आजसम्म मैँले गरेका जागिरहरूमध्ये मन पर्ने प्रथम जागिर हो । लाग्छ, यही जागिरमा मेरो बाँकी जीवन समर्पित गरौँ ।

कथा थोरै मोडेँ ।

म बसेको सोफा छेउकै ढोकामा राखिएको ‘डोर बेल’ बज्यो । …टिरिरिरिरिरि…………..

मैँले ढोका खोलिन । उठ्ने जाँगर नै छैन मसँग ।

मेरीअर्धाङ्गिनीले सानो स्वरमा खै के के भन्दै मलाई आँखा तरेझैँ गरेर ढोका खोलिन् । मैँले पनि देखीदेखी नदेखे झैँ गरिदिएँ ।

बाबा भित्र पस्नु भो । जागिर सकेर आउनु भएछ । मेरै छेउँमा बस्नु भयो झोला नजिकैको कुर्सीतिर फालेर ।

वहाँ पनि थकित हुनु भएछ क्यार !

“कम्पनीको काम कुनै- कुनै बेला निक्कै गाह्रो र कठिन हुन्छ” – बाबा यसै भन्नुहुन्छ । आज त्यही भयो बाबालाई सायद…!

बाबाले बुहारीलाई चिसो पानी मागेर घटघट पिउनु भयो खुब मज्जासँग । केही बेरपछि मलाई हेर्नु भयो र सोध्नु भयो – “किन निराश?”

बाबा थोरै बोल्नुहुन्छ तर गम्भीर कुरा गर्नुहुन्छ । मेरो मन मिल्ने साथी पनि हो मेरो बाबा ।

मैँले जबाफ फर्काएँ – “खास केही हैन, निक्कै गलेँछु आजको कामले ।”

“मलाई थाहा छ, तँ किन चिन्तित छस् ?” – बाबा बोल्नु भो ।

मेरो आँखामा हेरेर म माथि के बितिरहेको छ भन्ने कुरा बताउन सक्ने क्षमता छ बाबामा ।

भो, यो कुरा पनि छोडौँ !

हिजो मेरीअर्धाङ्गिनीको २६ औँ जन्मदिनमा निक्कै रमाइलो गरेका थियौँ परिवारले । छोरीहरूले लाएको मिठाइ र आइस्क्रिमका दागहरू भित्तैभरि जता-ततै प्रस्ट देखिन्छन् अझै पनि । यो शनिवार घर सफा गर्ने सहमति गरेका छौँ हामी लोग्ने-स्वस्निले । अरू दिन त जागिरले गर्दा भ्याउनै मुस्किल ।

बेलुका कोठा छिरेपछि मैँले मेरो विश्वास र भरोसा माथि कुठाराघात गरिएको गुनासो उनलाई सुनाएको थिएँ । बाबा र आमा “सिटिंग रूम” मै हुनुहुन्थ्यो । सबै कुरा सुन्नु भएछ क्यार ।

“के थाहा पाउँनु भयो ?” मैले जवर्जस्ति हाँस्दै प्रश्न गरेँ ।

बुबा मुसुक्क हाँस्नु भयो तर बोल्नु भएन । नजिकैको टि टेवलबाट पानीको गिलास तान्नु भयो । दुई घुड्की पानी सुरुप्प पार्नु भयो ।

हातको गिलास पुन: टि टेबुलमा राख्दै बाबाले एउटा कथा सुनाउनु भयो –

“एक पटक निक्कै सावधानीका साथ एउटा चोर दोकान लुट्न गएछ ।

सबैतिर हेरेर कोही नदेखेपछि भएको सामानहरू सबै लुटेर भाग्न के लागेको थियो दैलो छेउमा एउटा क्यमेरा आकारको खेलौना देखेछ र उक्त खेलौनालाई क्यमेरा सम्झी टुक्रा टुक्रा पारी फुटाएर झट्याएछ तर आफ्नै हातमा अल्झिएको सि सि क्यामेरालाई भने खेलौना सम्झिएर भुइँमा मिल्काएर आफू बाटो लागेछ । अन्त्यमा त्यही क्यामेराको सहायताले पक्राउ खाएछ । ”

“हेर् कान्छा ! हाम्रो इमान्दारीता नै हाम्रो जीवनको सि सि क्यमेरा हो । आफ्नो स्वर्थपूर्तिको लागि आफ्नो इमान्दारितालाई बेच्ने गरियो भने भोलि आफैँलाई पश्चतापको रापले पोल्नशिवाय अरू केही प्राप्त गर्न सकिन्न ।” – बाबा यसो भन्दै भान्सा कोठातिर लाग्नु भयो ।

बाबाको यो कथामा जीवनको रहस्य र सत्यता दुवै लुकेको छ । मलाई थाहा छ, जानी-जानी गरेको गल्तीमा जति नै सावधानी अप्नाए पनि काहीँ न काहीँ आफू चुकिन्छ । अन्जानमा गरेका हरेक गल्तीहरूमा माफ मिल्छ ।

म त्यतिकै सोफामा घोरिएर बसिरहेँ । मलाई उनीहरूको यस्तो व्यवहारदेखि मन साह्रै खिन्न भएको छ । मैँले जसलाई अन्धभक्त भएर आफ्नो इज्वतको पनि कुनै प्रवाह नगरी एकोहोरो विश्वास गरिरहेँ उसैबाट कुठाराघात भएको छ मेरो सहनशीलतामा ।

मेरी अर्धाङ्गिनीले खाना खान बोलाइन् । म झस्किएँ । आँखाको डिल पुछ्दै भान्साकोठातिर लागेँ ।

आमा टेवलको एक छेउमा बसेर खाना खाँदै हुनुहुन्थ्यो । म आमा नजिकै गएर बसेँ ।

मलाई आमाको अनुहार हेर्ने बितिकै बेग्लै आनन्द आउँछ । केही ऊर्जा मिल्छ । केही गर्ने आँट आउँछ ।

उनीले खाना पस्केर ल्याइन् । खान पनि मन नभई नभई खाइदिएँ ।

“कान्छा, बाघको छाला भिर्दैमा गधा कहिल्यै बाघ हुँदैन”- बाबा उखान, तुक्कामा पनि निक्कै खपिस हुनुहुन्छ ।

आफू चुप लाग्नुमा यो होइन कि अरूले जिते ।

“जसरी पुजारी मन्दिर रक्षाको लागि संयम हुन्छ त्यसरी नै एउटा सेवक आफ्नो फुल्दै गरेको वृक्षको रक्षाको निम्ति संयम हुनु पर्दछ ।” मैँले आफूलाई समाल्ने प्रयास गरेँ ।

एक दुई जनाको गद्दारीमा सबैले मिलेर रोपेको वृक्षलाई मलजल गरेर उमार्न कहिलेकाहीँ हारेको बहाना गरेर पनि जित्नु पर्छ जीवनमा ।

मैँले मेरो बाबाको कथाबाट सिकेको पाठ……

(लेखन :-१५-०८-२०१५)

Leave a Reply

Your email address will not be published. Required fields are marked *