बाबाले सुनाएको कथा दोहोरिँदै छ
शिवलाल दाहाल
केन्टकी, अमेरिका
बाबाले बेलाबेला
सुनाउनु हुन्थ्यो
उहिलेनैको गाउँको कथा
हामी अचम्म मानेर सुन्थ्यौँ
अगेनाका डिलमा बसेर
पत्याउनै गाह्रो हुन्थ्यो
अपूर्वीले कति घरै रित्तिएको, कति गावैँ रित्तिएको कुरा ………
मर्नेहरूलाई बाँच्नेहरूले सकेसम्म बारीका डिलसम्म घिसार्दै पुर्याउँथे रे
फेरि बाबाले भन्नु हुन्थ्यो
एक बेला गार्इको रोगले
महिनौँसम्म साम्चु वारिपारि आवत–जावत् गर्नै नपाइने भो रे
सुइसिला पारेर मरेबाँचेको थाहा हुन्थ्यो रे …………………………
आज मलार्इ
ठूली छोरी सोध्ने गर्छे ………..
‘कोरोना कुन कुन देशमा फैलिसक्यो?’
म भन्छु ‘सय नाघी सक्यो’
सानो छोरो भन्छ ‘चाइनिज पिपल आर लक्डाउन’
सानी छोरी भन्छे ‘आज त बजार लग्नु है’
म भन्छु बाहिर निस्कनु हुँदैन
उ भन्छे ‘हुई आर ए डिफ्रेन्ट कन्ट्री, कोरोनाभाइरस कान्ट कम हियार’
म अकमक्क हुन्छु, खै के भनौँ ………….
बाबाले उहिलेनैको कथा सुनाएझैँ
अचेल म छोरा– छोरीलाई भविताको कथा सुनाउँदै छु
‘कुनै समय
तिमीहरू र म एकैसाथ बिरामी भयौँ भने
डाक्टरले सूचि बनाउने छन्
कसलाई बचाउने कसलाई उसै छोडिदिने’
खोइ के भनौँ आज
बाबाले सुनाएको कथाभन्दा
त्रासदीपूर्ण र दर्दनाक कथा लेखिँदै छ
आधुनिक सहर र बस्तीहरूमा ………………….