बिछोडिएको कलिलो त्यो पिरती
यज्ञ काश्यप
नर्थ डाकोटा, अमेरिका
एक निश्चल मायाको भण्डार
थिइन् मायाको पूजारी
जो मनमा सल्केका प्रेमरूपी अग्निका झिल्काहरू
मेरा जीवनमा कोरी निभाउने
मनका कौतुहलता मेरा
जीवनमा सारी निको पार्ने
यस्ती उनीको
एक भारी बसन्तपल्लवी बैँसलाई
छोडी हिँडेको म एक फिरङ्गी—
तर अहिले
भरिएर छताछुल्ल भई पोखिएर उनको बैँस
लाजले चाहाइरहेको होला
त्यो प्यासी मनको झ्यालबाट।
त्यो डम्फु खोला
त्यो कुटी डाँडा
रिसले
उचालिएर पछारिएर त
कहिले दयामा पग्लिएर
उनको उन्मुत्त बैँस छोप्न
एक अँगालो छहारी
सापटी दिन्छन् होला
र फेरी छिनमै खोस्छन् होला।
कोकलेको गीत
डम्फु खोलाको छङ्छङ् बगेको पानीको सङ्गीत भएर
हावाको वेगमा उड्दै उड्दै
पानीमा बग्दै बग्दै
तिमी सम्म पुगिने भए
तिम्रै काखमा पल्टिएर
सारा बैँस बिसाउँथेँ
लाज पखाल्थेँ
तर
तिमी र तिम्रो अजंगको शहर
मेरो मनको झ्यालबाट देखिन्छ र पो कहाँ?
सानु आज भोलि
म पनि सोच्दछु
यसरी भोक चपाएर
वदन चिसो सिरेटोमा सुकाएर मान्छेले
अरूको दयामा पग्लिएर त
कहिले
शिशिर ऋतुको सिरेटोमा र तुसारोमा
बैँस चिस्याएर
अहँ
म सहन सक्दिन
बरु
भोकले मलाईभिखारी बनाउला
शोकले मलाई अँासु कवि बनाउला
यो सत्य हो
न म भोकलाई भुलाउन सक्छु
न शोकलाई बगाउन नै
तर अब
भोकको विज्ञापन गर्ने छैन
शोकको प्रदर्शनी हुने छैन
म यस्तो भोक विरुद्ध
अमृतमय जलरूपी सागरको आविष्कार गर्नेछु
र यो चट्टान फोड्नेछु
त्यो उजाड जिबनरूपी काँडाघारी उखेल्ने छु र
मेरो प्यासी मनलाई तृप्त गराउने छु|
त्यसो त सानु
मलाई तिम्रो मोह र
तिम्रो सहरको प्यास छ
तर
प्यासी, प्यासी रहेर
भोकहरू सही
कतिन्जेल म तिमी र तिम्रो डम्फु बजारलाई पर्खन सक्छु?
अब म सिरेटो र
भोकको खडेरी छल्न
तिमी र डम्फु बजारको भर पर्ने छैन
कृपया धोकेबाजको पगरी नलगाइदिएस् है——