भत्किएको पुर्खौली बस्ती

कवि
कवि

दुर्गा रिमाल
अल्बेरी, अष्ट्रेलिया

हिजो मेरो सपनाको झुपडी भत्किँदा
लाग्थ्यो संसार भत्किएको छ
तिरस्कारका बन्चराहरू प्रहार गर्नेहरूसगँको
प्रतिसोधका ज्वालाहरू दन्किएको छ
गुनासो माटोसँग होइन, माटो टेक्नेहरूसँग छ
एक हुल तिरस्कार बोक्नेहरूसँग छ
मानवता कुल्चिएर हाँस्नेहरूसँग छ
लाग्थ्यो सपना मिच्नेहरूसँग छ,
तर
आज, मेरो जिन्दगीको भग्नावशेष भत्किनुभन्दा ठुलो पिर
मेरो पुर्ख्यौली बस्तीहरू भत्किनुमा छ
मेरो गुनासो माटो टेक्नेहरूभन्दा
प्राकृतिसँग छ
मभित्र दया
बिचरा! देश हाक्नेहरू प्रति जागेको छ
विपतिमा महंगी बढाउँनेहरू प्रति जागेको छ
मानवताभन्दा तल गिरेर सहयोग पचाउनेहरूसँग जागेको छ
भन्नेहरूलाई लाग्दो हो
मभित्र नेपालको माया छैन भनेर
नेपाल भत्किँदा मेरो छाती भत्किएको छैन भनेर
देखाउँ म कसरी ?
चिरा परेको छातीको वेदना
म भित्रको पुर्खौली बस्ती दुःखेको वेदना
यो बेला दोष रोपेर देश रूवाउँने बेला होइन
माटो लुटेर आमा बलत्कार गर्ने होइन
महंगी बढाएर गरिब मार्ने होइन
यो बेला हामी सबै जुटेर
देश निर्माण गर्ने हो
नयाँ नेपाल बनाउँने हो
दह्रो छाती बनाएर नयाँ युगको सुरुवात गर्ने हो
हिम्मत राखेर अघि बढ्ने हो
अब फेरि धरहरा उभ्याउनु छ
नयाँ इतिहासको निर्माण गर्नु छ
अब म मेरो सपना भत्किएकोमा गुनासो गर्ने छैन
विसौं वसन्त शरणार्थी भएकोमा पछुतो गर्ने छैन
देश पुर्ननिर्माणमा साथ दिएर
मेरा नेपाली दाजु-भाइ दिदी बहिनीलाई
शरणार्थी हुनुको अनुभूति गराउने छैन
जिउँदो लास भएर बाँच्नुको कथा दोहोर्याउँने छैन
मात्र मैंले साहस बटुल्नु छ
नेपाल रुँदा यो मन रोएको छ
मेरो भत्किएको सपना भन्दा
मेरो पुर्खौली बस्ती भत्किँदा
यो मन भत्किएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *