भयवादः साहित्यमा एक उज्यालो उर्जा
देवेन्द्र शक्तेन-पाँचथर, नेपाल-
केही वर्षअघि, एउटा पत्रिकामा ‘नेपालमा प्रतिपादित साहित्यिक वादहरु’ शीर्षकमा विमर्शगरिएको एउटा लेख पढेको थिएँ । त्यसमा वादहरुको निकै लामो नामसूचि पनि थियो। सूचिकृत एउटा वादमा आँखा पर्दा नबुझेको एउटा रहस्यले र नसुनेको एउटा नामको नौलोपनले अलमल्ल पारेको थियो मलाई । आज अचानक, त्यही वादको अवधारणा–पत्रहात परेको छ र केही प्रतिक्रिया दिन तम्सेको छु म । तर प्रथमतः मैले आफ्नो सीमा प्रष्ट्याउन नै पर्छ । के भने म विचारको खन्तीले खोस्रेर कुनै वादको जरो कुरा उखेल्न सक्ने या विश्लेषणको छुरीले चिरेर कुनै दर्शनको गुदी-सत्य उजागर गर्नसक्ने समीक्षक होइन । कति मात्रै हो भने, कुनैबेला म केही गम्भीर पुस्तकहरु पढ्न खूब रुचाउँथे । तर आजभोलि आफ्नो उमेर र व्यवहारको सापेक्षतामा ती रुची र चाहनाहरुलाई समाहित गर्न नसक्ता एककिसिमले अज्ञानको आइसोलेशनमा पछारिएको छु म । मेरो पढन्ते लतलाई आलस्यकोकुलतले खाइदिँदा मभित्र कताकता बिव्लियो फोविया हुर्किरहेको शंकाले त्रसित पनि छु । तर यो अवधारणा-पत्रलाई बडोचाख र स्वादका साथ पढें । भयवादलाई यति गहन चिन्तनद्वारा चिनाइएको र यसको वैचारिकीलाई यति वृहत् वौद्धिक विमर्शद्वारा विश्लेषण गरिएको प्रस्तुत विषयमाथि लेख्ता आफ्ना तर्क र टिप्पणीहरु विषयवस्तुको मूलप्रवाहवाट विच्छेदित भएर विसंगत भंगालाहरुमा बगेर जाने या त विश्रृंखल सूत्रहरुमा उन्निएर भीरको चिण्डो उँधो न उँभोको पेण्डुलममा झुण्डिनसक्ने भयवोधले मलाई नकमाएको छैन।
‘भय’ भनेको के हो भनेर सोद्धा, सवैको मुखबाट मिल्ने साझा जवाफ हुन्छ-डर र त्रासको अनुभूति ! विशेष किसिमको विष्मय र विभीषिका बोध ! लुकाउन नसकिने र लुकाउनेठाउँ नै नपाइने अचम्मको थोक ! भय शब्दको सम्प्रेष्य बोध निश्चय नै त्यति दुर्वोध्य त छैन, तर यसको व्याकरण यति व्यापक हुन्छ भन्ने कुरा सोचेको थिइनँ मैले । यसलाई त मैले भाववाचक शब्द-संज्ञाले मात्रै अर्थ्याइरहेको रहेछु, अनि विष्मयवोधक चिन्हलेमात्रै चिनिराखेको रहेछु । सबैलाई थाहा भएर पनि अथाहाको रुपमा बेवास्ता गरिएको त्यहीउपेक्षित चीज भय- देशजीको लेखनमा दर्शनको दीप बनेर उज्यालो जलेको रहेछ । र, त्यही उज्यालोमा भयको विषद परिचयलाई प्रष्टाइएको रहेछ । यसको असरको आयाम र आयतनलाई आंकलन गरिएको रहेछ । यसको प्रभावको घनत्व, गुरुत्वलाई, यसको प्रवाहको प्रवेग र गतीलाई छामिएको रहेछ । साथै भयको उत्पत्ति र पुनरावृत्तिका कारण र कारकहरुलाई केलाइएको रहेछ । अनि देश, काल, परिस्थितिअनुसार उदाउने यसका स्रोत सिर्जना र सापेक्षतालाई यसकै पुनरावृत्ति प्रवृत्तिको परिधिभित्र रहेर परिशीलन गरिएको रहेछ ।
त्यतिमात्र हैन, भयवाट मुक्ति पाउन गर्नुपर्ने सङ्घर्ष, भिर्नुपर्ने हतियार र पछ्याउनुपर्ने पथ र उपचार विधिसमेत सुझाइएको रहेछ । यो ग्रन्थ वास्तवमा भयको चेतना, संज्ञान र यसको सर्वव्यापकतालाई सुन्दर ढंगले चिरफार गरिएको एउटा विशाल महाकाव्य जस्तै छ, जसका प्रत्येक अध्याय र सर्गहरु, तर्क र तुलनाका अकाट्य तुकवन्दी तथा विश्लेषण र विमर्शका वौद्धिक श्लोकहरुद्वारा विन्यासीकृत छन् । यो ग्रन्थ तयार पार्दा उहाँले गर्नुभएको बृहत् अध्ययनको पक्ष सारै स्तुत्य छ । वेद, उपनिषद, त्रिपिटकलगायत प्रमुख धार्मिक ग्रन्थहरु, देशी-विदेशी विद्वानहरुद्वारा प्रतिपादित दार्शनिक, राजनीतिक र साहित्यिक ठेलीहरु, शिक्षा, मनोविज्ञान, इतिहास, समाजशास्त्र, चिकित्साशास्त्र, अर्थशास्त्र,व्यवस्थापन तथा ज्ञान-विज्ञान र उद्विकाससम्बन्धी प्रसिद्ध पुस्तकहरु पढेर, तीबाट निश्रृत सार र निखारलाई आफूद्वारा प्रतिपादित भयवादको वैचारिकीलाई प्रामाणिक आधार प्रदान गर्नुभएको छ । सम्भवतः नेपाली लेखनको क्षेत्रमा यती मिहेनतका साथ तयार पारिएको मेनिफेस्टो यो नै पहिलो हो । विस्तार र व्यापकताको हिसाबले भयवादको प्रयोजन साहित्यिक लेखनमा मात्र नअटाउने देखिन्छ । यसले जीवनका वहुविध पक्ष र पाटाहरुलाई समेत प्रभाव पार्ने देखिन्छ । देशजीको यो भयवादी वैचारिकीले विषय विशिष्टीकरणको बारलाई भत्काउने हुँदा यो स्वयं एउटा नवीन ग्र्याण्ड न्यारेटिभ हुनसक्छ ।
भय वास्तवमा प्रत्येक प्राणीहरुमा अन्तरनिहित भौतिक चैतन्यको आधारभूत तहबाट उठेको वोध हो । प्राणीहरुमा चेतनाको अविर्भावसंगै, भयको उद्भव पनि हुँदै जान्छ । भय आदिम चेतनाको एउटा जीवित ज्वाला हो, जो हिजो थियो, आज छ र भोलि पनि हुने नै छ । तर यो प्राथमिक चेतना होइन । जैविक चेतनाले भयलाई रोपण गर्दै लान्छ । जस्तैः निर्वोध बालकमा भोकको चेतनाबाहेक अन्य चेतनाहरू त्यति सबल देखिन्नन् । तर उसमा चेतन ग्रन्थीहरु विकास हुँदै जाँदा, विविध घटना-परिघटनाहरुसँगको टकराव र साक्षात्कारको परिणामले उसको कोमल मानसमा भयवोध प्रत्यारोपण हुँदै जान्छ । मानवहरुले भोगेका र सामना गरेका प्राकृतिक विपत्तिहरुको अज्ञात ऐतिहासिकता, भयका डरलाग्दा अध्यायहरुले भरिएका अर्वाचिन इतिवृत्त हुन्, जसको कुनै तत्थ्यपरक लेखाजोखा छैन । मात्र अनुमानहरु छन् र ती अनुमानहरुले हाम्रो मनमा भयानक चित्र प्रक्षेपण गर्दछन् । प्रसंगले मलाई एउटा भयानक विपत्तिको बेलीविस्तार लगाउन बाध्य पारेको छ । त्यो हो प्लेटोको ‘वार्ता’ मा वर्णित एटलान्टिस सभ्यताको विनाशको कथा । केवल एकै रातको डरलाग्दो ज्वालामुखी र भयानक भूकम्पद्वारा समुद्रमा डुबेको एटलान्टिसको विलुप्तिको कथा संभवतः विश्व इतिहासकै सर्वाधिक त्रासदीपूर्ण भय विवरण हो । पछिबाट इजियन सागरनेर भेटिएको क्रेटरको अध्ययनबाट के देखियो भने त्यहाँ पैंतीस सय वर्षअघि विष्फोट भएको ज्वालामुखी रंगको भूकम्पको संहारक क्षमता, हालको ५०० वटा अणुबम बराबरको थियो । यो भयानक तथ्य थाहा पाउँदा मानिसहरुको भयकम्पित मनमा अझै त्रासका तरंगहरु उठ्ने गर्छन् । मैले यो प्रसंग किन जोडें भने भय कुनै स्वैरकाल्पनिक चीज हैन । यो त एकदमै वास्तविक प्रकृतिक र सांस्कृतिक परिघटनाहरुको प्रत्यक्ष र परोक्ष टकरावबाट निसृत अनुभूति हो । तर घटनाहरुको प्रत्यक्षता र परोक्षताका परिणात्मक असरद्वारा मात्रै भयका लहर र तरङ्गहरु फैलिने होइनन् ।
भ्रम र मिथ्याभास (Dellusion and hallucination)पनि भयका स्रोत नै हुन् । सायद त्यही मानसिक रोगको रहस्यमय अन्धकारलाई चिर्न नसक्ता भय प्रचीनकालदेखि नै नबुझिने भएर गएको हुनुपर्छ । तर कालान्तरमा भयलाई झन रहस्यमय चीज बनाउँदै लगियो । यसको वास्तविकतालाई अधिभूतवादी व्याख्याहरुमा ढाल्ने काम पौराणिक पुरोहितहरुले गर्दै लगे । उनीहरुको स्वार्थको दुनो त राम्ररी नै सोझियो तर, आम मानिसहरु धर्मको भयबाट नराम्ररी थचारिए । शुरुमा श्रम, सीप र सिर्जनाले सुसज्जित, कला, कौसल र सौन्दर्यले सुशोभित, शान्ति, सौहाद्रता र सद्भावपूर्ण व्यवहारले भरपुर तथा दया र मायाको मुहान अनि करुणा र प्रेमको पारदर्शक प्रतिविम्बको रुपमा कल्पना गरिएको विवेकशील र प्रिय पथप्रदर्शक ईश्वरीय अस्तित्वको अमूर्ततालाई समेत डरलाग्दो भयको अवतारको रुपमा मूर्तिकरण गरियो । यसको सग्लो उदाहरण बौध तथा हिन्दशास्त्रीय कलाकृतिहरुमा निकै प्रष्टरुपमा देखा पर्दछ । तर क्रिस्चियन र हेलेनिक आर्टसहरुमा अलि कम । यसरी प्राकृतिक संघटनाबाट निसृत भयको वास्तविकता, धर्म र ईश्वरमा प्रत्यारोपण हुनपुग्दा त्यो झन भयावह र रहस्यमय बन्नपुग्यो । तर देशजीले ती सबको रहस्यलाई प्रष्टताका साथ पर्दाफास गर्नुभएको छ । भयको वास्तविक संज्ञानलाई समुचित समीक्षा र सचेतन समालोचना गर्नुभएको छ । जन्मिदै मानिस भयको ज्ञात-अज्ञात जाली र जञ्जिरभित्र जाकिन्छ र ब्रम्हाण्डका सबै थोकहरु भयका अनन्त स्रोत हुन् भन्ने उहाँको बुझाइ छ । हामी अधिकांशलाई के लाग्न सक्छ भने भय अज्ञात वस्तुहरुको अनुपस्थितिको शून्यताबाट होइन, ज्ञात वस्तुहरुको उपस्थितिको प्रत्यक्षताबाट मात्रै जन्मिन्छ । किनभने त्यस वस्तुसंग कतै न कतै टकराव हुन्छ र त्यो टकरावको परिणाम या प्रतिक्रियात्मक असरलाई चेतनाले आँकलन गर्दा भयवोध विस्तारित हुँदै जान्छ । प्राय हामी सबैको यो ठम्याइलाई ठुन्क्याउँदै देशजीको भयवादी सन्धानले दरिलो आधारसहितको नवीन चिन्तनको किल्ला उभ्याएको छ । यसरी दृश्यमान पदार्थहरुको प्रत्यक्षता र घटनाहरुको परिणाम मात्रै भयका कारक नहुने हुँदा भयको क्षेत्र र भूगोल पनि विशाल हुँदो रहेछ । यसको वृत्त र परिधिभित्र सबै थोकहरु बाँधिएका हुँदा रहेछन् अनि यसको केन्द्र र गुरुत्वद्वारा सबै कुरा तानिएका हुँदा रहेछन् । ‘भयमण्डल’ देखि ‘भयको कारण र कारक’ हुँदै ‘भयको विश्वरुप’शीर्षकहरुमा ती कुराहरुको विषद व्याख्या भएको छ । भयको उत्पत्ति र उपस्थितिमा तथा यसको वृद्धि र विस्तारमा हुनेगरेका परिवर्तनका प्रक्रियाहरु तथा उतार चढावका जटिल प्रकटनहरुलाई देशजीले ‘भय युग’ मा सुन्दर तरिकाले वर्गीकरण गर्नुभएको छ । त्यहाँ भय अनुभवहरुको क्रमानुगत विन्यासको इतिवृत्त छ । भोगिएका भयवाहेक भ्रममय भयहरु, ससंकेतक प्रवृत्तिद्वारा उत्पादित भयहरुलाई राम्ररी चिनाइएको छ र अज्ञात भयहरुको अदृश्य संभावनाहरु समेतलाई सचेत अनुमानले छामिएका छन् । तर भयको खासा चिनारीचाहिँ भयकै चेतना र संज्ञानद्वारा र कतिपय ससंकेतक प्रवृत्तिद्वारा मात्र हुन्छ भन्ने वहाँको ठोकुवा कुराले सबैलाई स्वीकारको शीर हल्लाउन र समर्थनको ताली पड्काउन लगाउँछ । त्यसैले भयलाई चिन्न भय-चेतनाको चेस्माले भयकै आँखीझ्यालवाट चियाउँदा मात्र सम्भव हुने रहेछ ।
भयको सर्वकालिकता र सर्वव्यापकताको चर्चा गर्दा हामीले हाम्रै जैविकताको ऐना चियाए पुग्छ । दिमागमा झ्वाम्म झड्का दिने भय हामीसंग आजन्म बाँधिएरै आएको छ । जस्तोः जैविकतासंग रुग्णताको भय छ, तारुण्यसंग वार्धक्यको भय छ । त्यसरी नै राम्रो रुपको आकर्षणसंग यौनजन्य हिंसा र वलात्कारको भय छ र, कुरुप मुहार जिउडालको अनाकर्षणसंग निर्मोही बेवास्ताको भय छ । सबभन्दा चोटिलो र खरो रुपमा जन्मसंगै मृत्युको भयानक भय गाँसिएको छ । भयको सूत्र अझ सजिलोसंग हाम्रो सांस्कृतिकतासंग कसिलो गरी बाँधिन्छ । जस्तोः मित्रतासंग शत्रुताको, सम्पत्तिसंग चोरीको, विकाससंग विनाशको, शान्ति सुरक्षासंग विग्रहको भय पलपल चियाइरहन्छ र सबभन्दा माथि राजनीतिक स्थिरतासंग क्रान्तिकारी परिवर्तनको भय छ । भयहीनताको अवस्था कतै छैन । छ भने कथित अध्यात्मवादीहरुको अभयवादी दर्शनमा मात्र छ । माया र मोह, लोभ र लालच, तृष्णा र लिप्सा, कुत्सा र जुगुप्सा तथा काम र क्रोधजस्ता कुराहरुलाई जितेको खण्डमा मात्रै मानिस अभयको अवस्थामा पुग्दछ । अभयको अवस्था भनेको त्यो पारदर्शक अवस्था हो जहाँ सम्पूर्ण कुराहरुको गुण र दोष, आयाम र आयतन तथा सार र आकार एकैचोटि देखापर्दछ । जसले गर्दा रहस्य भन्ने थोकको विलोप हुन्छ र त्यो विलुप्तिको स्थिति नै अभयको अवस्था हो । प्रचीन ऋषिमुनी र सिद्ध योगीहरुको अनुभवले त्यही कुराको सन्देश सम्प्रेषण गर्दछ । वर्तमान साइको साइवरनेटिक्स् जस्ता प्राविधिक कुराहरुले पनि सायद त्यही कुरालाई पुष्टि गर्यो होला । तर विडम्बना ! व्यक्ति एकजना अभयको अवस्थामा पुग्नसक्छ तर, सिङ्गो संसार भयमुक्त हुनसक्तैन । प्रसङ्गवश देशजीको ‘ईश्वर, धर्म रशान्ति’ शीर्षकको लेखमा यो कुरा प्रष्ट देखिन्छ । अध्यात्म र ईश्वर फरक थोकहरु हुन् । ईश्वर त एक प्रतीक हो । असल-खराब जे पनि हुनसक्छ प्रतीकमा उन्निएको ईश्वर । तर अध्यात्म एक सबल चिन्तन हो । अध्यात्मबाट अन्धविश्वास र अधिभूतवादी व्याख्याहरुलाई खुर्केर फाल्ने हो भने यो धेरै भरपर्दो हतियार हुनसक्छ निर्भय मार्ग निर्माणमा । यसको उपयोगिता यो अशान्ति र अस्थिरतायुक्त वर्तमान मानव समाजमा सही मानवभएर बाँच्ने शैलीको अंगीकरणमा छ । यो एउटा वैसाखी हुनसक्छ जसद्वारा हामी जटिल परिस्थितियुक्त उकालो उक्लन सक्छौं ।
यसको मतलब के हो भने, व्यक्तिगत सत्चरित्रता, सामाजिक सद्भावना, साम्प्रदायिक समन्वयात्मकता, सृजनात्मक सौन्दर्य तथा सौहाद्र, सौम्य संस्कृतिले मात्र संसारलाई सार्थक संगतिमा बाँध्छ । यो कुरा सबै भय संज्ञान र भय व्यवस्थापनद्वारा मात्र सम्भव छैन । धर्म भनेको असल धारणाहरुको धारण हो । असल कुरा धर्ने धर्मको मात्र खाँचो छ । यदि त्यही उत्प्रेरणाको उज्यालोले संसारलाई झलमल्ल पार्ने कुनै ईश्वर छन् भने उनलाई कस्ले नपुज्ने ? तर विडम्वना ! हामी त्यो उदात्त धार्मिक ध्येय प्राप्त गर्न, निधारमा फोका उठ्ने गरी पशुपतिनाथको ढुङ्गे लिङ्गलाई ढोग्छौं । रिङ्टा लाग्ने गरी बौध र स्वयंभूको प्रदक्षीणा गर्छौं । स्वर सुक्ने गरी गिर्जाघरमा कोरस गाउँछौं र घोक्रो च्यातिने गरी मस्जिदमा नमाज पढ्छौं । तर हामी त्यो ध्येय प्राप्त गर्दैनौं न त त्यो सर्वविवेकशील ईश्वर नै भेट्छौं । ईश्वर त त्यहाँ मात्र भेटिएला, जतातिर देवकोटाको ‘यात्री’ कविताले इंगित गर्दछ । धर्महरुको सारमाथि विमर्श गर्नुहुने देशजीका तर्कहरु कताकता एकलकांटे पनि देखिन्छन् । वहाँका अनुसार सबै धर्महरु भयका विस्तारण र प्रत्यारोपण गर्ने हतियारहरु हुन् । सबै ईश्वरहरु भयका अवतारहरु हुन् र सबै साधुसन्तहरु भयद्वारा त्रस्त पलायनवादी भगोडा जत्था हुन् । र, वैराग्य–भाव सबैभन्दा ठूलो भयवोध हो । त्यो डरछेरुवा वोधले मान्छेलाई प्रगतिपथबाट पछारेर, उन्नतीवाट उछिट्याएर जंगल या मठ-मन्दिरको एकान्त कुनामा विस्थापन गरिदिन्छ । यो कुरालाई शतप्रतिसत सत्य मान्ने हो भने गौतमबुद्ध संसारका सबैभन्दा डरछेरुवा भगोडा थिए भन्ने निष्कर्ष निकाल्नुपर्ने हुन्छ । बुद्धकै प्रसंगमा देशजी आफ्नो तर्कबाट एक ठाउँ चिप्लिनु भएको छ । वहाँका अनुसार,‘शान्तिका दूत’ मानिने बुद्धले कतै पनि शान्तिको सन्देश दिएका छैनन् ।’ मेरो बुझाइमा यो अपव्याख्या हो ।
प्रवृत्तिवादी रुसी विद्वान प्यावलभको ससंकेतक प्रवृत्ति (Conditional reflex)को सारसंकेतलाई भयवादमा सुन्दर ढंगले संयोजन गर्ने क्षमता भएका देशजीले यहाँ डोठ्याङ खानुभएको छ । अहिंसा शब्दको अन्तर्भुत अर्थवोधलाई देशजीले खुट्याउन सक्नु भएन भन्दा असुहाउँदिलो हुनसक्छ । अहिंसा बुद्धको मूलमन्त्र थियो । त्यसकारण त्यो शब्दले प्रत्याभूत गर्ने आशय सिधै शान्ति हो कि होइन ? फूल भन्ने बित्तिकै त्यसको ससांकेतिक अर्थवोधले सौन्दर्य र सुवासको विम्बलाई प्रक्षेपण गर्दैन र ? के गुलाव र गुराँस, वेली र चमेली भनीराख्नै पर्छ र ? मलाई लाग्छ यस्ता विशेष शब्दहरुले अर्थ र आशयहरुको विरोधाभास भिरेका हुन्नन् र तिनीहरुलाई डेरीडाको ‘द्वैध विपरितअनुक्रम’ (Binary opposition) मा राख्न नसकिएला पनि । कतै देशजीले बुद्धको ‘संघम शरणं गच्छामि’ लाई पनि मठमन्दिर तर्फकै पलायनवादी आह्वान हो भनेर बुझ्नु भएको त छैन ? संघ शब्द वास्तवमा बुद्धको गणतन्त्रवादी सोचको सचेत संकेत थियो । तर बुद्ध रोगको भय, बृद्धापनको भय र मृत्युको भयवाट त्रसित थिए भन्ने वहाँको सन्धान चाहिं सत्य हो । नभन्दै बुद्धलाई त्यही भयले वैराग्य प्रदान गर्यो अनि त्यो वैराग्यले निर्वाणको निर्भयतासम्म पुर्यायो । देशजी सबै धर्महरुको सार्थक व्याख्यामा सन्तुलित देखिनु भएको छ । तर तीतो सत्यको कडा बेस्वादले हामीलाई भन्न बाध्य पार्छ–सबै धर्म र पन्थहरुले संसारलाई आजसम्म शान्ति र समृद्धिको सतहमा अवतरण गराएका छैनन् । एकतिर शान्तिको सन्देश अर्कातिर भयको स्वार्थारोपण हुन्छ भने होस् पनि कसरी ? पूर्वजन्मको फल, पुनर्जन्मको आश, आत्माको अमरत्व तथा निर्विकार, निराकार ईश्वरीय अस्तित्वको अलौकिकता जस्ता रहस्यमय कुराहरुमा मात्रै धर्म घुम्छ भने शान्ति आउने कहाँबाट ? वर्तमानमा मान्छेहरुले जेजस्ता फलहरु भोगिरहेछन्, ती सब नियोजित नैसर्गिकताका परिणाम हुन् भनेर बुझ्दा भय भागेर पर जाँदैन । त्यसैले प्रलय र संहारका भयावह आख्यान र व्याख्यान पस्कने यावत पौराणिक काल्पनिकीहरु वास्तवमा मान्छेका दिमाग भुट्ने तातो तावाका नून-भुटुन मात्र हुन् र हुन् उनीहरुलाई भ्रम र भयको भाङ-धतुरो खुवाउने प्रायोजित पाखण्डका पोका-पन्तेरा ! भयबाट मुक्तिको नाममा ‘ईश्वरमा समर्पित हुनु भनेको अल्छिपन र पलायन हो’ भनेर भन्नुभएको छ देशजीले । नभन्दै यावत धार्मिक सिद्धान्तहरु जडसूत्रको साँचोमा ढालिएका छन् र ती सबले आफ्नो चिन्तनको सारलाई सत्यको अन्तिम भित्तो हो भनेर ठोकुवा गर्दछन् । तर विश्व फेरबदलको चक्रमा लपेटिएको छ । प्रतिपल परिवर्तनको प्रक्रियावाट गुज्रिरहेछ यो । अथवा विश्व स्थिर स्थायित्वमा होइन अस्थिर गतिशीलतामा छ । त्यसैले कुनै पनि थोक अपरिवर्त्य अवस्थामा रहिरहँदैन । यदि छ र छन् भनेर ठोकुवा गरिन्छ भने तीहरुसंग परिष्कार र परिमार्जनको गुन्जाइस पनि रहँदैन तथा प्रयोगको औचित्यमाथि प्रश्नचिन्ह पनि ठडिन्छ । देशजीले माथिको निचोड निकाल्नमा तिनै जडसूत्रवादी सोचहरु जिम्मेवार देखिन्छन् । तर यहीँनेर विचारणीय कुरा पनि छ– के भने ‘मालिक नैतिकता’ को अवधारणामा ‘महामानव’ को कल्पना गर्ने निहिलिस्ट नित्सेको वैचारिकीले नाजीवादी हिटलर जस्ता निकृष्ट, निर्भयी र निर्दयी नरद्वेषीलाई जन्मायो जसले मानवतालाई नर्ककुण्डमा जाक्ने काम गर्यो । देशजीले त्यसतर्फ पनि ध्यान दिनैपर्छ । यहीँनेर फेरि ‘हिग्सबोसन’ नामक कथित गड पार्टीकल पत्ता लागेको कुरा वैज्ञानिकहरु ठोकुवा गर्दैछन् । यदि त्यो सत्य हो भने त्यसले देशजीकै शब्दमा अर्को भयलाई जन्माउने छ । नभन्दै परमाणुको चालक शक्ति के हो भन्ने द्विविधायुक्त भयले इलेक्ट्रोन, प्रोट्रोन, न्युट्रोन हुँदै क्लार्क र न्युट्रिनोकणसम्म पुगेको भौतिक शास्त्रले गड पार्टीकल पत्ता लगाउँछ भने त्यसले रहस्यको विशाल सागरलाई सुकाउला र सत्यको सतहलाई देखाउला । त्यो भयको भूकम्पले हाम्रा धारणाका धरहराहरु धराशयी बन्नेछन्, हाम्रा मान्यताका महलहरु भत्किनेछन् तथा हाम्रा यावत सोचका महाआख्यानहरु मर्नेछन् ।
अब म पुनः यो अवधारणा-पत्रको माउ प्रसंगतर्फ मोडिन्छु । ‘भयको परिचय’ शीर्षकमा भयलाई चिनाउन देशजीले बीसवटा बुँदाहरुमा आफ्ना अवधारणाहरु राख्नु भएको छ । धेरै बुँदाहरु घतलाग्दा तर्क र चित्त वुझ्दा विश्लेषणहरुले भरिएका छन् । अन्तिम बुँदा ‘भय मनोवैज्ञानिक असरहरुको संयुक्त रुप हो’ भनेर वहाँले भयको वास्तविक स्वरुप र सारलाई विस्तृत व्याख्या गर्नुभएको छ । नभन्दै भय मानसिक असरहरुकोसमुच्चय नै हो । मनोवैज्ञानिक असरले ल्याउने परिवर्तनलाई केवल मानसिक विकार र विकृतिमा मात्रै सीमित गर्न नसकिने रहेछ । अथवा यो (Mental pathology) संग मात्रै सम्बन्धित छैन । त्यसैले यो सिग्मण्ड फ्रायडको चेतन, अचेतन र अर्धचेतनमा जीवित यौन-मनोविज्ञानको पाटो मात्र हैन, न त कार्लयुङग र जेस्टाटडीय मनोविश्लेषण नै । संसारको साँस्कृतिकतालाई समग्रताको सारमा चियाउँदा देखिने कारकतत्व र उत्प्रेरक उर्जा केवल भयवाहेक अरु छैन भनेर देशजीले दर्शन दिनुभएको छ हामीलाई ! भय अनन्त भएकोले यसले ल्याउने असर पनि अनन्त छ भन्न सकिने रहेछ । अब म आफ्ना असहमतिका केही बुँदाहरु कोट्याउँछु । किनभने यो अवधारणा-पत्रमा उल्लेख भएका तथ्यहरु सबै स्वीकार्य छैनन् । तर संसारमा सर्वस्वीकार्य थोक केही नै हुन्न । त्यसैले देशजीको हाइपोथेसिस गम्भीर चिन्तनमा डुबेको र बृहत विचरणमा विस्तारित भएको हुँदाहुँदै पनि जोसुकैले यसमा स्वीकारको राइट रेजा हान्ने तथा नकारको क्रसकट्टा कोर्ने ठाउँहरु प्रसस्तै हुनसक्छन् । वहाँले भयलाई अन्तरिक्षको अज्ञात र अद्भूत रहस्य हो भन्नुभएको छ । मलाई लाग्छ भय त्यति ठूलो रहस्य होइन । त्यो त दैनन्दिनको भौतिक परिघटनाबाट प्रत्युत्पन्न मानसिक धक्का हो । जुन कुरा अनुभवबाट जन्मिन्छ, त्यसको प्रत्यक्ष असर र सारलाई सजिलै खुट्याउन सकिन्छ । अथवा ग्रन्थीय चेतनाबाट निसृत अनुभूति र भौतिक परिघटनाको टक्कर र साक्षात्कारबाट प्राप्त प्रतिकृयात्मक वोधलाई हामी केस्रा केलाउन सक्छौं । तर रहस्य त रहस्य नै हो, जसको सजिलै चिरफार हुन सक्दैन । तथापि भय प्रकटनको कुनै तोकिएको तिथिमिति या समयसारिणी छैन, न त कुनै निश्चित माध्यमको मापदण्ड नै । यसको उद्भव र उपस्थितिका अनन्त सम्भावनाहरु हुने भएकोले यो प्रायः अज्ञात गर्भभित्रै लुकी बस्छ । देशजीले त्यही कुराको संकेतार्थ त्यो शब्दावलीको प्रयोग गर्नुभएको हुनुपर्छ । त्यसरी नै ‘भय सौन्दर्य हो’ भनिएको छ । यो वाक्यको ससंकेतक अर्थलाई सपाट सरलतामा ग्रहण गर्नेले त भय भन्ने थोकसंग सौन्दर्यको कुनै साइनो हुन्न भन्न सक्छन् । नभन्दै भय स्वयं रौद्र रुपको घनघट्टकुरुप अन्धकारको कालो रुप हो । भय र सौन्दर्यबीच आकर्षणको सोल्टिनी साइनो थपक्कै नहोला । तर कुरुपताको भयले सौन्दर्यको चेतना दिन्छ र सुन्दर काम गर्न उत्प्रेरित गर्छ भनेर देशजीले गर्नुभएको ठोकुवा कुराले भय र सौन्दर्यबीच प्रत्यक्ष सम्बन्ध रहेको तथ्यलाई नस्वीकारी धर छैन । कुरुप अरस्तुले ऐना हेरेर सुन्दर सोच निर्माण गरेको प्रेरक प्रसङ्गलाई यहाँ जोडन सकिन्छ । देशजीले ‘भयलाई’ ब्रम्हाण्ड, अन्तरिक्षको कालो सुरुङ, शक्तिशाली हतियार, सबैभन्दा ठूलो कानून, नियन्त्रक यन्त्र, उज्यालो प्रकाश तथा सबै कृयाकलापको कारकको रुपमा प्रतिस्थापन गर्नुभएको छ । त्यसरी नै बुँदा नं ११ मा ‘भय महाशक्ति हो’ भनिएको छ । यसको पुष्टि गर्न, बिपत्तिको बेला मान्छेले छानाबाट हामफालेको, चितुवाभन्दा छिटो दौडेको उदाहरणहरु पेश गरिएका छन् । तर ती अद्भूत करामतहरु भयको उर्जाद्वारा एक्सिलरेट नभएर स्पाइनल कर्डद्वारा निर्देशित कारनामा हुन् भनेर कसैले विमति बोल्लान् ! सारमा भन्नुपर्दा देशजीले भयलाई यावत सभ्यता र संस्कृतिको सर्जक, सारा सृजना र सौन्दर्यको स्रोत, आम आविष्कार र उपलब्धिको उन्नायक तथा प्रत्येक प्रगति र परिष्कारको पृष्ठपोषक मान्नुभएको छ । ती प्रतिस्थापनाहरुलाई पुष्टिगर्न वहाँले तागतिला तर्क र तुलनाहरु पेश गर्नुभएको छ, दरिला दृष्टान्त र सबूतहरु दाखिला गर्नुभएको छ अनि विश्वासिला विमर्श र विश्लेषणहरु बोल्नु भएको छ । तर सबै स्वीकार्य नहोलान् । यदि भयलाई सबैथोकको प्रत्यक्ष परिचालक मान्ने हो भने उदात्त उत्साह, उच्च-उत्प्रेरणा, अदम्य इच्छाशक्ति, भगिरथ-प्रयास, भीष्म-प्रतिज्ञा तथा प्यार र अनुरागजस्ता मानवीय स्वभाव र विशेषताहरुलाई चाहिँ कता राख्ने ? अनि यौन चेतना चाहिँ कुन भयको उपज हो त ? वास्तवमा यौन जैविक निरन्तरता र अस्तित्वजन्य अविछिन्नतालाई टुट्न नदिने सार्विक सूत्र हो । तर यसको सार्वभौमिकतालाई केवल तृष्णा र लिप्साको मोहरुपी सेलमात्र हो भनेर खुम्च्याउनेहरुले यसलाई सांस्कृतिक र नैतिक भयले बाँध्ने काम गरे । नभन्दै यौनको मामलामा स्वच्छ र पवित्र नैतिकताको ढोल ठटाउँनेहरु पनि भयको भासमा जाकिएका भेटिन्छन् । मेरो मतलब के हो भने यौन जैविक नैसर्गिकतासंग सिधै गाँसिएर आएको छ । यो कुनै भयको उपज होइन । तर यसको प्रकटन या कार्यव्यापारको वरिपरि चाहिँ जहिल्यै सांस्कृतिक र नैतिक भयको भुमरी मँडारिरहेकै हुन्छ । यसरी यो भयवादीय अवधारणाका केही पक्षहरुमा राम्रो तालमेल नमिलेजस्तो भान पनि पर्नसक्छ । हुन त जुनसुकै हाइपोथेसीसहरु हवाइ कल्पनाका वायूपंखी घोडा पक्कै होइनन् न त मनचिन्ते लड्डु पेंडाका गुलिया र मीठा भ्रम नै । दन्ते कथालाई प्रायः हामी उडन्ते कल्पनाको पोका मात्रै मान्छौं । तर भनिन्छ प्रत्येक वैज्ञानिक आविष्कारका जननी दन्ते कथाहरु रहेका छन् । किनभने तिनीहरुकै उत्प्रेरक उर्जाको उज्यालो पहिल्याएर विज्ञान बामे सर्दै अघि बढेको हो । दन्ते कथाहरुले वाइपंखी घोडा नउडाएको भए विज्ञानले फलामे जहाजलाई आकाशमा उडाउने थिएन होला । विशाल तालको बीचमा स्फटिकको खम्बासहितको राच्छेस या राजकुमार बस्ने मायावी महलको कल्पना नगरिएको भए, सायद सामुद्रिक वन्दरगाहहरु वन्ने थिएनन् होला । र, देशजीले पनि भयको सागरलाई गम्भीर चिन्तन मननको मदानीले फिट्दा जे प्राप्त गर्नुभएको छ, त्यो पस्कनु भएको छ । र, पस्कनु भएको परिकार कसैलाई मीठो र पाच्य लाग्ला, कसैलाई नमिठो र अपाच्य पनि । तर यो सोह्रैआना स्वाभाविक पनि छ । किनभने मीठो र नमिठाको सापेक्ष सन्तुलनले मात्रै स्वादको सार्थकतालाई त्यसको सार्विकतासित जोड्दछ । त्यसैले भयलाई कसैले अनुभुत भ्रमहरुको भवसागर मात्रै ठान्लान् त कसैले जीवन र जगतको आधारभूत उर्जा ! तर यसलाई ‘आ… केही होइन हामीलाई कहिलेकाहीँ झस्क्याउने थोक’ मात्रै मान्दा, हामीलाई हाम्रै टिप्पणीले भयावह अज्ञानताको भासमा जाक्ने रहेछ । त्यसैले जहिल्यै भन्ने ठाउँ के हुँदोरहेछ भने भयवोध, भयचेतना र भयसंज्ञान चाहिन्छ, किनभने प्रत्येक कुरामा कतै न कतैबाट भयको प्रत्यक्ष र परोक्ष प्रभाव परेकै हुन्छ र त्यो क्षणिक होइन सर्वकालिक हुनेगर्दछ ।
भय र निर्भयको कुरा गर्दा प्रायः सिकन्दर र नेपोलियन अनि चंगेज खान र हन्निवालका प्रसंगहरु आउने गर्छन् । मिश्री अभियानताका नेपोलियनका लाखौं सेनाहरु प्लेगको महामारीले सोत्तर भए । तर उनी ती मृत लाशहरु थान्को लाउने काममा खटिरहे । उनी कुनै भयवोधद्वारा अत्तालिएनन् । बरु भनी रहे ‘प्लेग कायरलाई मात्र लाग्छ ।’ यहाँ एउटा गतिलो मनोवैज्ञानिक कडीले काम गरेको छ । र, त्यो कडी भयका दुईवटा कारणवाट गुजुल्टिएको छ । अर्थात नेपोलियनले सामना गरेका दुईवटा भयका रुपहरु यहाँ देख्न पाइन्छ । पहिलो हो अंग्रेज साम्राज्यवादबाट हारिने डर होइन हराउन सकिन्न कि भन्ने गतिलो शंकाको भय र अर्को आफूहोइन सबै सेनाहरु मर्लान कि भन्ने संभावनाको भय ! ठूलो चोटले सानो घाउको दुखाइ मारिदिएजस्तै होला नेपोलियनले भोगेको भय पनि । तर प्रश्न उठ्नसक्छ- उनको अदम्य साहस र शौर्य तथा अदभुत आँट र बहादुरी के भयकै देन हो त ? र, कुन भयले गर्दा उनले १५ वर्ष युरोप हल्लाए त ? राम्ररी विचार गर्ने हो भने नेपोलियनको आँट र साहसको प्रदर्शनमा कुनै पनि भयको प्रत्यक्ष प्रभाव नदेखिन सक्छ । तर ती वीर व्यक्तिलाई वृटीश यम्पाएरलाई पराजित गर्न सकिन्न कि भन्ने शंकाले नराम्ररी थचारेको थियो र त्यो शंकामा भयले भूभिका खेलेकै देख्छौं हामी । त्यसैले सारमा हामी के भन्नसक्छौं भने साहस र शौर्य, वीरता र अदभुत करतुतजस्ता कुराहरु पनि भयका परोक्ष प्रभावद्वारा उत्प्रेरित हुँदा रहेछन् । तर सबै कुराहरु भयका प्रत्यक्ष असरद्वारा अनुप्राणित हन् भनेर किटान गर्न अलि मुस्किल पर्ला जोसुकैलाई ! मलाई शुरुमा त के लाग्थ्यो भने ‘भय’ र ‘शान्ति’दुवै निरपेक्ष स्थितिमा रहने थोकहरु हुन् । तर, यो ग्रन्थ पढेपश्चात मैले के बुझेँ भने तिनीहरु त समानान्तर सापेक्षतामा पो बाँच्दारहेछन् । जब भय नजिक आउँछ शान्ति कतै गायब हुन्छ । जब शान्ति स्थापना हुन्छ भय भागेर पर-पर जान्छ । एउटा अचम्मको सत्य के रहेछ भने भयवाट मुक्ति पाउन भयकै भर्याङ नचढी धर रहेनछ । अथवा भयका भयानक भड्खालाहरु ननाघेसम्म, यसका उत्तप्त मृत्यु–मरुस्थलहरु क्रस नगरेसम्म शान्तिको शीत्तल सतहमा पाइला नटेकिने रहेछ । नभन्दै नेपालको दशवर्षे जनयुद्धलाई नजिकैबाट नियालेका, व्यहोरेका र खेलाएका हामीले के थाहा पायौं भने युद्धको भीषण विभीषिका र भयानक विभत्सता नचाखिन्जेल, शान्तिको सर्वकालिक आवश्यकता र यसको सार्वभौम मूल्यवत्ता थाहै नहुने रहेछ । भनिन्छ सूर-वीर सम्राट अशोकको क्रुर मनमा शान्तिको प्रकटन बोध-बोधिसत्वको अहिंसात्मक आह्वानद्वारा होइन, भयानक विभत्सताको क्रुर कारणवाट भएको थियो । नभन्दै सयौं शत्रुहरुलाई सखाप पार्दै हिँडेका ती वीर सम्राट, कलिङ्ग युद्धको भयानक विभत्सता देखेपछि त्यहाँको हाहाकार रुवाइ र चित्कारको चित्त काट्ने संगीत सुनेपछि रोए । उनको कठोर हृदयलाई करुणाको भूकम्पले क्षत-विक्षत बनाइदियो । त्यसपछि उनले हातहतियार फ्याँकिदिए र आफ्नो कथित वीरताको गाथालाई थुकिदिए । आफ्नो साहस सौर्य र स्वाभिमानको अहंकारलाई डकारीदिए । अनि त्यो विशाल वैभव र सबल साम्राज्य त्यागेर वैराग्यको बाटो पछ्याए । मैले यो प्रसंग यहाँ किन कोट्याएँ भने क्रुर मानिसहरुको भुत्ते विवेकलाई भयानक विभत्सताले ब्युताउँदो रहेछ । तर विडम्बना ! वीरताको गीत गाउने हामीहरु त्यो कथित वीरतालाई उद्दिपन गर्ने क्रुरताको कुरुप पाटोलाई नदेख्दा रहेछौं । जबकि क्रुरता स्वयंमा डरलाग्दो भयबाहेक केही होइन । त्यसैले भयको सौन्दर्य र प्रयोजन भनेको त्यसको सचेत संकेत र सग्लो संज्ञानको अवलम्बन हो भन्ने देशजीको ठम्याइलाई सलाम नठोकी धर छैन ।
यहाँ टिप्पणीयोग्य अर्को थोकलाई थोरै चर्चा गर्छु अब । के भने अर्थशास्त्रमा पुँजी र लगानी, श्रम र स्वामित्व, मूल्य र माग, बजार र वित्त तथा आवश्यकता र आपुर्तिबीचका विविध ह्रास रवृद्धि अनि वहाव र विचलनका अवस्थाहरुलाई विभिन्न रेखाचित्रद्वारा प्रष्ट पारिएको हुन्छ । त्योगणितीय पुष्टिकरणले शाब्दिक व्याख्यामा आधारित सैद्धान्तिक सार–तत्वलाई सम्प्रेष्य बनाइदिन्छ । त्यसरी नै यो पुस्तकमा पनि भयको उत्पत्ति र उपस्थितिलाई त्यसका विविध रुप र आयामहरुलाई अनि त्यसका असरका आयतन प्रभावका घनत्वलाई, सुहाँउदो रेखाचित्रद्वारा प्रष्ट पारिएको छ । सम्भवतः दर्शनलाई यसरी गणितीय पद्दतिद्वारा पुष्टिकरण गरिएको यो नै पहिलो घटना होला । यहाँ विभिन्न शीर्षक र उपशीर्षक अन्तरगतका उपकल्पनाहरुमा निकै त्यसता त्रिभूजीय पिरामीड, वृत्तिय तथा कोणिक प्रदर्शन, लम्ब तथा क्षितिजीय रेखाचित्र, बक्रचित्र, तालिका र सुचिकरण तथा विभिन्न मोडेलका डायग्रामहरु प्रयोग भएका छन् । ती सबको ध्येय भयवादको चिनारी र चिरफार तथा त्यसको प्रयोग र प्रयोजनको प्रदर्शनमा केन्द्रित छन् । तर ‘भय कुनै ठोस कमोडिटी होइन न त कुनै मूल्यगत क्रय विक्रयको मौद्रिक एकाई नै’ भनेर केही सपाट अर्थशास्त्रीय सोच बोक्नेहरुले विमति ओकल्लान् । त्यसरी नै ‘भय भनेको त मानव–मनमा अस्तित्वमान भौतिक चैतन्यद्वारा निसृत आनुभाविक तरङ्ग मात्रै हो । त्यसैले त्यसको असर र प्रभावको आँकडा कुनै ठोस गणितीय प्रविधिद्वारा पुष्टिकरण हुन सक्दैन’ भनेर कतिपय साइकियाट्रिक सोच राख्नेहरुले आलोचनाको औंलो ठड्याउलान् । त्यसो त भयको भोल्युम र त्यसले ल्याउने असर मापनको कुनैस्थिर मानक नहोला पनि । अथवा ती थोकहरुबीच हर र अंशको समानुपात खुट्याउन मुस्किल काम होला । किनभने यो नितान्त व्यक्तिपरक छ । जस्तो कोही बिरालो देख्दा छुलुमुतु हुन्छन् त कोही सामुन्नेमा बाघ देखा पर्दासमेत आत्तिँदैनन् । कोही दिनदाहाडै तर्सिन्छन् त कोही रातबिरात जहाँतहीँ निर्धक्क डुल्छन् । यद्धपि चित्रहरु सबै चित्ताकार्षक छन् । र, तीद्वारा चिनाइएका थोकहरुलाई विमर्शका थप विश्लेषणद्वारा प्रष्ट पारिएका छन् । अर्थात डायग्राम र डिस्कोर्सद्वारा विषयलाई पारगम्य बनाइएको छ । तर केही नमिले जस्ता कुराहरुले नघोच्ने भन्ने छैन । जस्तै चेतना–चक्रको कुरामा, चेतन र अवचेतनका टुक्राहरु जीवनमा कसरी दोहोरिन्छन् भनेर देखाइएको छ । तिनीहरुको पुनरावृत्तिको प्रकृया तथा पुनरावर्ती प्रकृतिलाई लिएर देशजीले केही मेटाफिजिकल लजिकहरु पेश गर्नुभएको छ । ती कुराहरुको विश्वासको आधार के के ? तर सबभन्दा ठूलो कुरा त के हो भने एकजना नेपाली सर्जकले आफ्नो चिन्तनलाई सबैको सामु विश्वासका साथ पस्केका छन् । वहाँलाई जे सत्य लागेको हो, त्यसलाई वकालत गर्ने अधिकार वहाँसंग हुन्छ र हामीलाई जे लाग्छ, सत्य लागेकैले बोलेका लेखेका हुन्छौं । तर चेतनामा उन्निएको अनुभूति र नैसार्विक सत्य हो भनेर गरिने ढिपी संभवत मानवको सबभन्दा ठूलो त्रासदी हो । किनभने हामी कथित सत्यलाई जोखतौल गर्दा रहेछौं तथ्यको तराजुमा । र, हाम्रो ढिपीको ढकले तराजुको कमानीलाई ढल्काएरै छाड्छ, अनि तथ्यहरुले हामीलाई जहिल्यै स्टाटिस्टिकल भ्रमहरु मात्रै बाँडेका छन् । जबकि सत्य र सारतत्व भन्ने थोकहरु जहिल्यै अस्थिरतामा बगेर जाने रहेछन् । त्यसैले वस्तु या पदार्थको कुनै प्रत्याभूत परिचय छैन । यध्यपि यावत थोकहरु आफ्नो वस्तुगत सम्पूर्णतामा त रहेकै हुन्छन्, तर त्यसको सम्पूर्णता र विशिष्टताको पारगम्य परिभाषा शाब्दिक विश्लेषणबाट असम्भव जस्तै हुन्छ । त्यसैले वस्तुको प्रथम उपस्थिति त्यसकै विघटनको प्रथम कारक पनि हो । किनभने हामी त त्यसको उत्पत्ति र उपस्थिति तथा आकार र प्रकृतिको सापेक्षतामा त्यसको मौलिकताको व्याख्या गर्न थाल्छौं । तर व्यख्या पनि व्यक्तिपरक छ र व्याख्या अनुसारको वोध ग्रहण गर्न बाध्य छौं हामी । आइ.बी. दाजुको शब्दमा ‘थोक एउटालाई द्रष्टा धेरैले फरक देख्ने भएकैले त्यसो भएको हो । अर्थात वस्तुको वास्तविकता हाम्रो वोधबाट जहिल्यै अंशपृक्त हुँदै जान्छ । शब्दले बोकेको अर्थ बिलिएर जाने खिइएर जाने प्रवृत्तिलाई ज्याक डेरिडाले द्वैध विपरित अनुक्रम भने, लंकाले अनिश्चित तथा सस्यूरले संकेतक र सांकेतित ।
देशजीले विश्व दर्शनमा ‘भयवाद’ शीर्षकमा विभिन्न दार्शनिक, भाषाशास्त्री, अथशास्त्री, राजनीतिशास्त्री, मनोवैज्ञानिक तथा जीवविकास व्याख्यताहरुसंगै धर्म र सम्प्रदायका विविध पक्षहरुमा भयको बृहत विमर्श गर्नुभएको छ । विशाल क्यान्भासमा विस्तारित ती पक्षहरुको टिप्पणीयहाँ असम्भव छ । त्यसैले म यहाँ थोरै‘उत्तर आधुनिकतामा भय परिधि’ भित्र छिर्ने कोशिष गर्छु । शुरुमै डा. संजीव उप्रेतीको सुन्दर भनाइ उद्धरण गरिएको छ-“डरलाग्दा त्रासदीका आगमनले उत्तर आधुनिक खेलपूर्ण हाँसोहरुलाई, मृत्युको भयावह चित्कारमा रुपान्तरित गरिदिन्छ ।” यहाँ चारवटा वृत्तभित्र मानिस पूर्णरुपले बन्दी भएको देखाइएको छ । ती चारवटा बन्धनलाई महाआख्यान, धर्मसंस्कार, इतिहास र केन्द्रियतारुपी लिफ्ट भनेर व्याख्या गरिएको छ । देशजीले ती लिफ्टहरुलाई यातनागृह भन्नुभएको छ । अथवा बन्धनको भय र बन्धनबाट मुक्तिको प्रयासलाई वहाँले उत्तराधुनिक चिन्तन भन्नुभएको छ । यो वहाँको आफ्नै तर्क हो र हामीले लगाउने अर्थ अर्कै हुनसक्छ ।
किनभने उत्तर आधुनिक चिन्तन भय र बन्धनमुक्तिको प्रयासार्थ जन्मेको दर्शन होइन । यो त अविश्वास र वितृष्णाबाट निसृत सांस्कृतिक परिपाटी थियो । तर अविश्वास र वितृष्णालाई पनि भयले जन्माएको मानिन्छ भने देशजीको तर्कसंग सहमत हुन सकिन्छ । नभन्दै जुनसुकै वादहरुले कतै न कतैबाट भयलाई जन्माउछन् भन्ने वहाँको निचोड सही देखिन्छ । यो उत्तरआधुनिक चिन्तनमा अझ खरो देखापर्छ । सन १९७९ मा ज्याँ फास्वाँ ल्योतारको ‘द पोष्टमोर्डन कन्डिसनः अ रिपोर्ट अन नलेज’छापिएपछि उत्तरआधुनिक चिन्तनले जीवन र समाजको वहुसांस्कृतिक पक्षलाई प्रभाव पार्यो । त्यसपछि नै ‘महाअख्यानहरुको मृत्युको घोषणा गरियो, इतिहासको अन्त्य भइसकेको दावी गरियो र लेखक पनि मरिसकेको ठोकुवा गरियो । र, विविध वैज्ञानिक प्रविधि र आविष्कारका विरोधाभासहरुद्वारा अपघटित सत्यको सार्विकतामाथि सवालका औंलाहरु ठड्याइयो । तर यहीँनेर फेड्रिक नित्सेलाई बिर्सन मिल्दैन । मलाई लाग्छ नित्से उत्तराधुनिक चिन्तनका प्रथम अघोषित प्रवर्तक थिए । ल्योतार, डेरिडा, फूको र रोलाँ वाथहरु भन्दा झण्डै सयवर्ष अघिनै उनले ईश्वर मरेको घोषणा गरिसकेका थिए । तर्क र परिश्रम, विज्ञान र इतिहास तथा संस्थागत विश्वास र संज्ञानजस्ता थोकहरुका भद्दा आवरणद्वारा वास्तविक ज्ञान छोपिएको र तीनै घटकहरुद्वारा सत्यको उज्यालो निभिसकेकोले कथित सत्य भुत्ते भइसकेको छ भन्ने तर्क थियो उनको ।
उनी भाषाभन्दा पर सत्यको अस्तित्व हुनसक्दैन भन्थे । तर तीनै महान विचारकको वैचारिकीले पछिल्लो शताब्दिको पूर्वाधमै समग्र सभ्यताकै सर्वाधिक भयानक त्रासदीलाई जन्मायो । यो कुरा माथि नै उल्लेख भइसकेको छ । महामानवको हाइपोथेसिस कथ्ने तीनै नित्सेको संशयवादी विचार उत्तर संरचनावादी मिसेल फूको, विनिर्माणवादी डेरिडा र रोलाँ वाथहरुको लेखनमा पुनः प्रतिविम्बन भयो । रोलाँ वाथले त स्वीकारेका पनि छन् । उनले भनेका थिए, “चिप्लो असंगतिमा रहने थोकहरु र इतिहास-इतर वस्तुहरुलाई श्रृङखलामा बाँध्ने काम असजिलो छ तर, बाध्यता हो ।” उत्तर आधुनिक समयमा रचना नै सम्भव छैन भन्ने वोद्रिलाका अनुसार त अब सबै साहित्यहरु महान आख्यान रहेनन् । र, लेखनहरु ‘अनुकृति’र ‘टुक्रे लेखन’ मात्रै रहे । त्यसैले लेखक मरेको घोषणार्थ यीनै शब्दहरुको एकोहोरो शंख बजाइयो । यी माथिका विचारहरुले डरलाग्दो भयलाई भिरेका छैनन् त ? भयहीनता र भयमुक्तिका हतियार त अवश्य नै हैनन् ती । र, तिनीहरुले ल्याउनसक्ने भावी विध्वंशको भय चाहिँ के त ? ती सम्भावित भयलाई देशजीले आइन्दा खुट्याउनु राम्रो होला । रुपलाई अरुपको कुरुप अमुर्ततामा उन्दा, यावत योजनाहरुलाई संयोग मात्रै मान्दा, उद्देश्यहरुलाई ‘हाँसोपूर्ण खेल’ मात्रै ठान्दा, इतिहास र ज्ञानको वस्तुगत श्रेणीक्रमलाई ‘द्वैध विपरित अनुक्रम’ हुन् भन्दा मानवका श्रम र संघर्ष, वास्तविक लक्ष्य र योजना तथा इच्छा आकांक्षा, सपनाहरुको हालत के हुने ? त्यहाँ चियाउने भयंकर भयको सम्भावनालाई कसले देख्ने ? त्यसैले धर्म, इतिहास, महाआख्यान र केन्द्रियता तथा संस्थागत संज्ञानको भयले उत्तर आधुनिकतालाई जन्मायो भन्नु त्यति सुहाउँदो नदेखिएला । धेरै विद्वानहरुका अनुसार त यो वादको वास्तविक भय समाजवादी चिन्तनधारा र सामाजिक रुपान्तरणको प्रकृयासंग थियो । त्यसैले यसले भूमण्डलीकरणको नाममा रैंदालो मच्चाउने नव साम्राज्यवादी संस्कृतिलाई स्वीकरण गर्छ, अनि उपभोक्तावादी लतलाई नशा-नशामा प्रवाहित गर्छ । नभन्दै वहुराष्ट्रिय निगमका भयावह आर्थिक समुन्द्रमा यावत प्रतिभा, क्षमता, सीप,शैली, र दक्षताहरु खुद्रा मूल्यमा किनाबेच सजिलैसंग भएका छन् । कवि स्वप्निल स्मृतिको शब्द सापट लिएर भन्नुपर्दा उपभोक्ता लडी मर्ने भीरजत्रा सुपरमार्केटहरुमा नपाइने थोक अब के छ ? तर एउटा कुरालाई नस्वीकारी धर छैन । प्राधौगिकीको विष्फोटक विकास भइसकेको वर्तमान विश्वमा सञ्चार सफ्टव्येरको कल्पनातित प्रगतिले, आख्यानमा वर्णित अलौकिक चमत्कारलाई हातहातमा नचाइदिएको छ । सञ्चारले अब शब्दको भर्याङ चढ्नु पर्दैन, संकेतले नै सारा संसारलाई एउटा साँघुरो सन्दुकमा अँटाइदिएको छ । यस्तो अवस्थामा ज्ञाननिर्माण, ग्रहण र हस्तान्तरणका पुराना प्रविधिहरु अब सदाका लागि भुत्ते भइसकेका छन् । त्यसैले संस्थागत संज्ञान बोकेका महाआख्यानहरुप्रति घोर अविश्वास जन्मेको हो । ज्ञानको क्रम विन्यास गुरु प्रभुत्व प्रणालीबाट फेल भइसक्यो । अर्थात hieararchy/historyको अन्त्यको विन्दु यहीँनेर कतै होला । र, देशजीले किनारीयता, दमित निमुखाहरुको आवाजलाई उत्तराधुनिक भयका उपज हुन् भन्नुभएको सही ठहर हो । केन्द्रको क्रुर कारवाही र निरंकुश नियन्त्रणको भयचेतनाले किनारीकृतहरुको चहलपहल बढायो । एकल अधिनायकवादी आधिपत्यको हैकमवादी भयले समावेशीकरणको संस्थागत सम्वलन गर्यो तथा घोर बेवास्ताको विवेकहीन भयले सवाल्टर्न आवाजहरुलाई उराल्यो । यो प्रसंगमा उत्तर औपनिवेशीक सोचका एडवर्ड सइद र गायत्री स्पिभाकहरुको भूमिकालाई भुल्न मिल्दैन । तर सकल संयुक्ततामा हैन एकल विच्छेदनमा, सग्लो सम्पूर्णतामा हैन सिंगल विसम्बन्धनमा अनि सामूहिक सद्भाव र भाइचारामा हैन एकांकी अराजकताका मतिभ्रममा मात्रै सिर्जनाको सार खुट्याउने एकपाटे सोचप्रतिको विमति मात्रै हो हाम्रो । तर उपसंहारमा देशजीले ज्याक डेरिडाको साह्रै सुन्दर भनाइहरु राख्नुभएको छ । मर्ने बेलातिर डेरिडाले लेखेका ती भनाइहरु पनि भयका पूर्वपरिणाम तथा भावी संकेत हुन् भनेर ठम्याउनु भएको कुरा पनि त्यतिकै सुन्दर छन् ।
सारै खुशीको कुरा देशजीले आफ्नो दर्शनको आधार पूर्वेली चिन्तन परम्पराभित्र रहेको उपेक्षित थोकलाई बनाउनुभएको छ । ‘अभयवाद’ पूर्वको हो । तर, भयवाद त्यसको फोटोकपी हैन न त त्यसको काउण्टर पार्ट नै । त्यो त देशजीको मौलिक सोच र सन्धानमा आधारित छ । हामी प्राय सबैजसो पश्चिमेलीहरुको प्रभावलाई सजिलै ग्रहण गर्छौं । हाम्रो ग्रहणशील मन मानौ त्यो एक किसिमको मेल्टिङ्ग पट हो जहाँ खराब प्रवृत्तिहरु पनि सजिलैसंग एसिमिलेट हुन्छन् । तर प्रभावका परिणामहरु सधैं प्रदुषणरहीत हुन्छन् कि हुँदैनन् भन्ने भयचेत हामीसंग कम छ । महाभारत पूर्वको हो । र, त्यो विश्वकै व्यापक सोचमा आधारित महाआख्यान हो । भयवादका जीवन्त वीजहरु महाभारतमा जति अरु कुन ग्रन्थमा होला ? तथा यसले जतिको सिमान्त भय र अनन्त क्रुरताको व्याख्या गर्ने अर्को ग्रन्थ संसारमा कुन होला ? र, अन्तमा देशजीको ‘भयवाद’ वहाँका उपन्यासहरुमा कसरी प्रतिविम्बन भएको छ, मलाई थाहा छैन । वहाँका कविता र आख्यानहरु मैले नभेटेरै पढ्न नभ्याएको हो । तर यो अवधारणा पढेपश्चात भयवादको प्रयोजन नेपालमा जति अन्य कहीँ खट्केको छैन भन्ने ठहरले मलाई नराम्ररी घोरिन बाध्य बनायो । हामीले के देखेका छौं भने भयका समृद्धशाली सौदागरहरु नेपालमा जति अन्यन्त्र कहीँ हुर्केका छैनन् । ती सौदागरहरु साधारण जनता हैनन्, राजनीतिकर्मी र धर्माधिकारीहरु नै हुन् । नेपालमा कांग्रेस र कम्युनिष्ट जातथर धरेका तथा नेता, मन्त्री र नोकरशाह नाम भिरेका मनुवाहरु भयको खेतिपाती गर्ने र सौदावाजी गर्ने अब्बल दर्जाका एक्सपर्ट देखिएका छन् । ती सब भयका संज्ञान र भय चेतनाले प्रदिप्त महामहिमहरु हुन् । तर कर्तव्य, दायित्व र साझा सरोकारको सवालमा सारै भन्दा सारै निर्भयी प्राणी ! त्यसैले देशको भाग्य कोर्ने सम्बिधान तुहाइदिन समेत कुनै भयले छोएन उनीहरुलाई । हामीले के देखेका छौं भने, भयको खेतिपाती मानिसहरुको निर्वोध चेतनाको पटबाँझो जमिनमा र उनीहरुको त्रसित अनुभूति र आक्रान्त मनका सुख्खा फाँटहरुमा साह्रै राम्ररी सप्रिँदो रहेछ । हौसला र खुशियालीका हरियाली हैन हाहाकारका टुसामात्रै लहलहउने, आशा र उत्साहका खाद्धान्न हैन घोर निराशाका बालाहरुमात्रै झुलाउने अनि प्रगति र उन्नतिका अनाज हैन फोस्रा आस्वासनका फोस्रा फलहरु मात्रै फलाउने ती नामुद भय चेतका निर्भयी हली र बाउसे, कोदाले र रोपाहरहरुको मनमा भयानक भूँइचालो ल्याउने खालका भयवादी लेखन आजको आवश्यकता हो । त्यसैले देशजीले ती महामहिमहरुको निर्भय मनमा अमिगदाला ग्रन्थीलाई लेखनद्वारा प्रत्यारोपण गर्नसक्नु पर्यो या त्यही ग्रन्थीको हार्मोनल इन्जेक्सन कलमद्वारा दिनसक्नु पर्यो । मेरो यो अपेक्षा देशजीप्रति सफलताको सुभेच्छा पनि हो ।