भरोसा

आभास रिखाम मगर 
नर्थ-क्यरोलिना, अमेरिका

भरोसा त मलाई
कसैको पनि लाग्दैन
साला जाबो
आफैसँग हरपल जिस्किँदै हिँड्ने
आफ्नै छायाले पनि
कुनै बेला सातै खाने गरी तर्साउँछ

युद्धमा
दुस्मनको कन्चटमा ताकेको बन्दुक
पड्काउनलाई ठिक्क पारेको गोला-बारुद
नपड्किन सक्छ
युद्धपोतको निसाना सही ठाउँमा
नलाग्न सक्छ

प्रेममा विश्वासघात
आजकल कुनै नौलो कुरा होइन
आफन्तबाट धोका पाएर
घरबार विहीन भएर
सडकमा भिख माग्दै
हिँडेको पनि देखेकै हो यो समाजमा

विज्ञान पनि
मैले नदेखेको होइन
विज्ञानका कति असफल प्रयासहरू
मैले मेरै सामु लज्जित हुनु परेको
धेरै पटक देखेको छु
त्यो छ नि
कल्पना चावलाको मृत्यु
विज्ञानले जन्माएको
दुखद इतिहास हो

युद्धले भन्छ- मेरो भरोसा गर
आफन्त भन्छ- मेरो भरोसा गर
प्रेमले भन्छ- मेरो भरोसा गर
विज्ञानले भन्छ- मेरो भरोसा गर
सोच्न बाध्य हुन्छु
म कसको भरोसा गरौँ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *