भूटानमा नेपाली साहित्यको विगत र वर्तमान स्थिति
(भूटान साहित्य परिषदद्वारा आयोजित समकालीन नेपाली साहित्यमा भूटानको उपस्थिति र बदलिँदो सन्दर्भ विषयक बिचार गोष्ठीमा प्रस्तुत कार्यपत्र)
शिवलाल दाहाल
पृष्ठभूमिः
चीन र भारत जस्ता दुई शक्तिशाली राष्ट्रहरुका बीचमा रहेको भूटान जनसंख्याको अनुपातमा ठूलो हिस्सा नेपाली भाषीहरु बसोबास गरेको मुलुक हो । भूटानमा नेपाली भाषीहरु प्रवेश गरेको झण्डै चारसय वर्ष हुन लागेछ । सायद नेपालबाट (भारत बाहेक) बसोबासका लागि तेस्रो मुलुकमा नेपाली भाषीहरुको बसाइँ सर्नेक्रम भूटानबाटै सुरु भएको हो सन् १६२४ मा । गोर्खाका तत्कालीन राजा रामशाह र नव भूटानका निर्माता धर्मराजा साब्ड्रुङ नावाङ नाम्ग्यालबीच ऐतिहासिक सम्झौता भएपछि नेपालीहरु भूटानमा वैधानिक रुपमा प्रवेश गरेका थिए । भूटान आप्रवासीहरुको मुलुक हो । भूटानका सार्छोप, ङालोङहरु र अन्य भोटिया जातिहरु तिब्बतबाट विभिन्न समयमा भागेर आएका हुन् भने डोयाहरु नेपालको सिम्रौन्गढबाट विस्थापित भएर भूटान छिरेका हुन् । यसरी हेर्दा नेपालीभाषीहरु मात्रै दुई देशका राजा–महाराजा बीच वैधानिक सम्झौता गरेर गएको तथ्य स्पष्ट हुन्छ । तत्कालीन समयमा गएका नेपालीहरुको नेतृत्व विशुन थापा मगरले गरेका थिए । विशुन थापा मगर राजा पदवी पाई पूर्वी भुटानको तिब्बत लासा जाने बाटोमा तिब्बतबाट हुने आक्रमणको सामना गर्न खटिएका थिए भने उनीसँगै गएका सेतु उपाध्याय ‘गुरु गोस्वामी’ भएका थिए अनि पिर्थु आले र बिर्जु गुरुङ चाहिँ काजी र सिम्फोन । यसरी उनीहरुले एक ऐतिहासिक समयमा भूटानको सार्वभौमसत्ता रक्षा गर्नुका साथै प्रसाशनिक जिम्मेवारी समालेका थिए । त्यसै समयदेखि नेपाली भाषा र संस्कृति पनि भूटानमा प्रवेश गरेको हो । विशुन थापा (कतै बुधिन थापा पनि भनिएको छ) मगरको नेतृत्वमा भूटान जानेहरुमा विभिन्न थरका ६० घर मानिसहरु थिए । सिलिगुडीबाट प्रकासित वाडुली पत्रिकामा छापिएको र पछि ‘अमर भूटान’ (सन् १९९३) पत्रिका सौजन्य गरी प्रकाशित “भूटानमा नेपाली प्रवेशका पुराना पाना” शीर्षक सामाग्री नै भूटानका सन्दर्भमा पाइएको सर्वप्राचीन अभिलेख हो ।
“ॐ नमः गणपति शाके संवत १४८२ फागुनः शुक्ल ५ तिथी
ॐ नमः गोर्खानाथ
ॐ नमः मणिपमे हुँ
ॐ नमः कामरुप कामाक्षे”
त्यसपछि आधुनिक नेपाली भाषामा रुपान्तरण गरेर लेखिएको विवरणको केही अंश —
उप्रान्त हामी हिजो गोर्खाका थियौं, आज हामी धर्मराजका छौं । धर्मराजका रीतिथिति मान्ने संकल्प गरेका छौं । उँभो तिष्टा, उँधो बंगाल करम पतन दक्षिण गोहाइ ढिप, उत्तर भोट जाने हिमाल भित्रको रेखदेख गर्न र दुश्मनलाई खलबल पार्न, देशमा छिर्न नपाउने गरी बुधिन थापा मगर, सेतु पाध्या, कालु पाध्या, बीरु गुरुङ, मोन मुर्मी, सुने मुर्मी, विष्णु जैसी, सेतुमान नेवर, न्यहुले नेपाल, जिम्ले खम्बुकिराँती, नैमी पाँडे,जिमु आलेमगर, सन्ने कामी तीन कोरी (६०) घर थर मिलेर धर्मराजा मनि सुरक्षा पाएका छौँ …….आदि र त्यसपछिको विस्तृत विवरणले उक्त लेख गोर्खाबाट गएका साठी घर मध्येकै कसैबाट लेखिएको पुष्टि हुन्छ । यद्यपि माथि उल्लिखित संवत १४८२ नभएर १५८२ हुन पर्ने हो । उक्त लेखको पाचीन रुप (यथारुप), लेखकको नाम एवं मिति अनुसन्धेय छ । तत्काली समयमा यति ठूलो संख्यामा नेपालीभाषीहरु भूटान प्रवेश गरेको भए पनि उनीहरुको झण्डै चारसय वर्षको इतिहास विलयन गरेर सत्तासीनहरुको एकपक्षीय इतिहासमात्र अहिलेसम्म प्रकाशित भएको छ । त्यसै वेलादेखि नेपाली भाषा आन्तरिक र बाह्यसम्पर्कको भाषाका रुपमा रहँदै आएको कुरा भूटानको भू –राजनीतिक स्थितिबाट स्पष्ट हुन आउँछ ।
सन् १६४० मा पनि थप मानिसहरु गोर्खा (नेपाल)-बाट भूटान लगिएको थियो । त्यस समयदेखि नेपाली भाषीहरु भूटान जाने क्रम चलिरह्यो । पछि फेरि दालचन गुरुङले वि.सं १९३९ वा १९४०मा दोस्रो सम्झौता गरेको देखिन्छ । गुरुङले पारु महाराजा छिचुसंग सम्झौता गरेर दक्षीण भूटानका केही भागमा नेपालीहरुको ठूलो संख्या बसोबास गराउने क्रममा नेपाल तथा भारतबाट नेपाली भाषीहरु भूटान गएका हुन् । दालचन गुरुङका छोरा गर्जमान गुरुङले पुनः वि.सं १९६० मा दक्षीण भूटानका थप भाग सम्झौता गरेर ठेक्कामा लिएका थिए । भूटानका प्रान्तीय शासक गर्जमान गुरुङसंग सम्बधित बेनामी लेखकको वंशावली पनि फेला परेको छ । कवितात्मक शैलीमा लेखिएको उक्त वंशावली नै भुटानको सन्दर्भमा पाइएको पहिलो कविताको नमुना हो । उक्त वंशावलीमा पारुका महाराजा छिचुलाई भेट्न र सम्झौता गर्न गएको प्रसंगलाई यसरी खुलाइएको छ –
आठदश हजारको भेटि राखी तहाँ
बिन्ती चढाया त हजुर महाँ
महाराजको दर्शन पनि गर्नलाई
इच्छा थियो र महाराज पनि आज आई ।। (२१)
महाराजले सोधे कुन काम महाँ
आयौ तिमिले यति दुर महाँ
बाटो पनि यो अति बिकट भयाको
काम केइ होला तिमि यहाँ आएको ।। (२२)
औसर माफ भया तै पनि केहि यहाँ
बिन्ती गरदो हउ हजुर महाँ
भनुला माहा जछ केहि धोका
इच्छा हुनाले आयाँ हजुरका ढोका । (२३)
यो वंशावली सन् १९३०को दशकमा लेखिएको थियो भन्ने अनुमान लगाउन भने त्यसभित्रका पात्र र प्रशासकहरुको नामावली सहायक हुन आउँछ । त्यो समयमा बनिएका घर–जग्गासंग सम्बन्धित कागजात, अदालतीय नियम, हुकुम आदि सबै नेपाली भाषामा नै लेखिएको पाइन्छ । त्यसो त दक्षीण भूटानमा नेपालीभाषालाई सरकारी कामकाजको भाषाका रुपमा सन् १९९० को दशकसम्म नै प्रयोग गरियो । स्मरणीय के छ भने भूटानको गृहमन्त्रालयले सन् १९८०मा अघि जोङ्खा भाषामा लेखिएका ऐन कानूनका किताब– विवाह अधिनियम, भू-अधिनियम पनि नेपालीभाषामा अनुवाद गरेर प्रकाशित गरेको थियो ।
भूटानमा नेपाली भाषाको उच्चस्तरीय अध्ययनका लागि शैक्षिक प्रतिष्ठानहरु त खोलिएनन् तर सन् १९६०को दशकदेखि विद्यालयीय पाठ्यक्रममा भने प्राथमिक तहमा अनिवार्य र निम्नमाध्यामिक तहमा ऐच्छिक विषयका रुपमा राखिएको थियो । पहिले पहिले दार्जीलिङ, कालेबुङमा पढाइने गरेका पाठ्यपुस्तक नै भूटानमा पढाइन्थ्यो । पछि भूटानको आफ्नो छुट्टै पाठ्यक्रम बन्यो जसमा भारतीय साहित्यकार पारसमणि प्रधानको उल्लेखनीय भूमिका रहेको छ । भूटानको शिक्षा विभागमा नेपाली विषय हेर्न निरिक्षक समेतको व्यवस्था गरिएको थियो । सन् १९८७ देखि नेपाली विषयलाई पाठ्यक्रमबाट हटाइयो र नेपाली विषयका किताब पनि जलाइयो । जोङ्खा भाषाद्वारा नेपाली भाषालाई प्रतिस्थापित गरियो । यसरी नेपाली भाषालाई शैक्षिक पाठ्यक्रमबाट अवसान गराइयो । सन् १९८० उत्तरार्द्धदेखि नेपाली भाषी भूटानीहरुलाई लक्षित गरेर अनेक षड्यन्त्र र राज्यातङ्कका श्रृंखला मच्चाइयो । नेपाली भाषी, नेपाली संस्कृति र जातीय पहिचान मेटाउने कडीका रुपमा ‘वान पिपल वान नेसन’ र वर्गीकरणकारी जनगणना नीतिको घोषणा भयो । फलस्वरुप सन् १९९०को प्रजातान्त्रिक आन्दोलन उर्लियो । सरकारले आन्दोलनलाई निस्तेज पार्न सफल भएपछि हजारौं नागरिक वलपूर्वक देशबाट लखेटियो । त्यसपछिको २२ वर्ष भूटानमा नेपाली भाषा बोलीचालीको भाषाका रुपमा मात्र सीमित भएको छ । नेपालीभाषीहरुका महत्वपूर्ण चाडपर्वमा समेतमा सरकारी विदा दिइँदैन । कतिपयः स्कूल र कलेजमा नेपालीभाषा बोल्न प्रतिबन्धित छ भने सरकारी कार्यलयमा नेपाली भाषामा लेखिएका कागजात चल्दैन । यसरी नेपाली भाषा, संस्कृति मास्ने तथा सत्ताधारीहरुको ङलोङ संस्कृति हरेक जाति र वर्गमा इम्पोज गर्ने काम भइरहेछ ।
भूटानमा नेपाली साहित्यको विकास र प्रगति हुन नसक्नुको मुख्याकारण नेपाली भाषीहरुप्रतिको सरकारको संकालु दृष्टिकोण, जनताको मातृभाषाप्रति चेतनाको कमी, शैक्षिाक प्रतिष्ठानको अभाव जिम्मेवार छन् । तथापि असामान्य, असहज र अन्योलपूर्ण स्थितिमा पनि साहित्यको जग बसाल्न केही न केही पहलकदमी चालेको देखिन्छ । भूटानको नेपाली साहित्यको इतिहासलाई सन् १९९० पूर्व र सन् १९९० पछिको गरी दुई काल खण्डमा विभाजन गरेर अध्ययन गर्न उपयुक्त हुन्छ ।
सन् १९९० पूर्वको साहित्यः
माथि भूमिकामा उल्लेख गोर्खाबाट नेपालीभाषीहरु भूटान गएको प्रसंगसहितको लेख तथा दक्षीण भूटानका प्रान्तीय प्रशासक (छोटा राजा) गर्जमान गुरुङ्संग सम्बन्धित वंशावली नै प्राथमिक रचना हन् । नेपाली भाषीहरुको ४०० वर्ष जति लामो इतिहास बोकेको भूटानमा नेपालीभाषाका अन्य सामाग्रीहरु पनि प्राप्त हुन सक्ने प्रचुर सम्भावना छ । भूटानको लोक साहित्यको पनि छुट्टै पाटो छ । लोक भाका र गीत नै त्यस समयका अभिव्यक्तिका माध्य हुन् ।
लोक साहित्यको केही नमुना हेरौं –
…खरी छैन मादलको ताल मात्रै
साम्ची बजार पैसाको काल मात्रै
गयो मादल खरी है झरेर
साम्ची बजार आउँदिन फिरेर…
(मुगलान उपन्यासबाट)
……………………………..
फुन्छोलिङ् गहिरो गेदुको पहिरो
तक्तीमा लागे घाम
राजाको अडर मन्त्रीको हुकुम
दुई महिना भयो काम
झम्पलको बाजा सातुको खाजा
कुल्लिले खाइन्छ
नौतनै कुल्ली बदला आए
घर जान पाइन्छ,
तीन रुपयाँ सेरको खसीको मासु
छ रुपियाँ नौनी घिउ
जुम्लुङ्को ढुङ्गा हम्मरले हान्दा
थङथिलो भयो जिउ…
(भूटानी नेपाली लोक साहित्यको एक चित्रबाट)
भूटानका गाउँ–घरमा विभिन्न अवसरमा मुलतः रामायण, महाभारत, श्रीकृष्ण चरित्र, गणरत्नमाला जस्ता धार्मिक गन्थहरु पढ्ने चलन भएको हुनाले त्यस समयमा भाषालाई जिउँदो जाग्दो राख्न र आप्mनो धर्म–संस्कृतिको बचाउ गर्न ती ग्रन्थहरुले महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । सन् १९६० पूर्व भूटानमा व्यक्तिगत रुपमा शिक्षकहरु राखेर संस्कृत तथा नेपाली भाषाको शिक्षा दिने काम पनि भएको पाइन्छ । सन् १९६४ देखि सुकमान राई र भीमकुमार राईको सम्पादनमा भूटानको एक मात्र समाचार पत्र क्युनसेलको प्रकाशन आरम्भ भयो । जनतालाई सुसुचित गर्न र भाषालाई सजीव राख्न क्युन्सेलको महत्वपूर्ण योगदान रहेको छ । सन् २००१÷२००२ सम्म नेपाली क्युन्सेलको प्रकाशन सुचारु रहेको पाइन्छ । सन् १९७१ मा वानरसबाट भूटान छात्र कल्याण संगठनकोमाध्यमबाट हरिप्रसाद अधिकारीको सम्पादनमा निस्केको “अमरभूटान” पहिलो नेपाली साहित्यिक पत्रिका हो । यद्यपि पहिलो अङ्कको प्रकाशनसंगै उक्त पत्रिका भूटान सरकारबाट प्रतिबन्धित गरियो र छापिएका प्रति कब्जामा लिइयो । सन् १९७९ मा भूटानको सुचना विभागको सरकारी पहलमा ड्रुक लोसेल (भूटान प्रतिबिम्ब)को प्रकाशन आरम्भ भयो । यो नै भूटानको माटोमा जन्मेको पहिले साहित्यिक पत्रिका हो । ‘भूटानमा आधुनिक पत्रकारिता क्षेत्रमा नयाँ प्रयास’ भन्ने नारा राखेर जनतालाई सुसुचित गर्न, विकास निर्माण बारे जानकारी गराउन, भूटानको संस्कृति, इतिहास आदिको जनतालाई बोध गराउन प्रकाशन गरिएको उक्त त्रैमासिक पत्रिका कवि गौरिशंकर अधिकारीको सम्पादनमा सन् १९८३ सम्म प्रकाशित भएको पाइन्छ ।
सन् १९९० पूर्व छापिएका कृतिहरुमा धार्मिक, नैतिक चेतना व्याप्त रहेको पाइन्छ । साथै समसामयिक युग चेतना, राजभक्ति, देश प्रेम, राष्ट्रिय जागरण, प्रेम र रोमान्टिकता पनि तत्कालीन समयको कवितात्मक अभीष्ट बनेको देखिन्छ । कतिपय कवितामा परिवर्तन र स्वतन्त्रतका भावनाहरु पनि प्रतीकात्मक रुपमा व्यक्त भएका छन् । सन् १९७९ मा भूटानको राजधानी थिम्पूबाट निस्किएको ड्रुकलोसेल त्रैमासिक पत्रिकामा छापिएका कपिपयः रचना, तिनीहरुले उठाएका विषयवस्तु, सिर्जनाधर्मीता, शील्प–सौन्दर्य एवं वैचारिक भावभूमिलाई हेर्दा त्यसै समयदेखि भूटान, समकालीन नेपाली साहित्यिको एक हिस्सा बनेको स्पष्ट देख्न सकिन्छ । पि.वी शर्मा, बी.पि शर्मा, महेश घिमिरे, लोक नाथ प्रधान, गौरीशंकर अधिकारी, डी.बी खत्री जस्ता सर्जकहरुको उपस्थितिले त्यस समयको साहित्यिलाई दिशाबोध प्रदान थियो । तथापि त्यस समयमा प्रकाशित कृतिहरुमा घनश्याम रेग्मीको कल्पत्रयी (खण्डकाव्य,वि.सं २०४५), गौरीशंकर अधिकारीको हिमाल कवितासंग्रह (सन् १९८७) र शंकर महाकाव्य (सन् १९८७), डा. हरिप्रसाद अधिकारीको सामाजिक चिन्तन (कवितासंग्रह, १९८८) र सांसारिक चिन्तन (खण्डकाव्य, १९८७), नारायणप्रसाद लुइटेलको शिवालय महात्म्य (सन् १९७२), ज्ञान दर्पण (सन् १९८५), माध्यम शोडषी र नारायणोपदेश को मात्र जानकारी प्राप्त भएको छ ।
सन् १९९० पछिको साहित्यः
सन् १९९० पछिको भूटानको नेपाली साहित्यिक भूगोल देशको भूगोलभन्दा पनि बढ्ता बाहिर भौँतारिएको पाइन्छ । यस समयमा देशभित्रबाट एकाध कृतिमात्र बाहिर आए भने साप्ताहिक समाचारपत्र क्युनसेलको प्रकाशन केही समयसम्म भएको पाइन्छ । सन् १९९० को आन्दोलनमा बन्दी बनाइएका टिकाराम राई र तुम्बेहाङ लिम्बूले सन् १९९२ मा जेलभित्रै क्रमशः खोरको भेडो र मृग विलापजस्ता शक्तिसाली कविताको सृजना गरेका थिए । पछि जेल मुक्त भएपछि तुम्बेहाङ लिम्बूले सन् १९९८ मा भग्न पर्खालको सयपत्री (कवितासंग्रह) प्रकाशन गरी भूटानमा वर्गसंघर्ष र जनक्रान्तिको उद्घोष गरे । यसै बीच सन् १९८० देखि कविता साधनामा लागेका डी.बी. खत्रीको सत्यानुशरण खण्डकाव्य सन् १९९६मा प्रकाशित भयो । भूटान भित्र नेपाली भाषाको अस्तीत्व विलय भइसकेको बेला सन् २०१०मा थिम्फुबाट छत्रपतिफुयलको नेपाली भाषा शिक्षक प्रकाशित भएको छ । यसबाट भूटान भित्र नेपाली भाषाको समुल अझै पनि नष्ट भई नसकेको संकेत हुन्छ ।
यता सन् १९९० को मानव अधिकार र प्रजातन्त्र स्थापनाका लागि गरिएको आन्दोलन सरकारले निस्तेज पारेपछि एक लाखभन्दा बढी नेपालीभाषी भूटानीहरु निर्वासित औ राज्य विहीन बन्न पुगे । नेपालमा शरणार्थी क्याम्पको स्थापना भएपछि निर्वासित भूटानीहरुले नेपाली भाषाको औपचारिक एवं अनौपचारिक अध्ययन गर्ने अवसर प्राप्त गरे । सन् १९९३मा शरणार्थी अवस्थामा नेपाली भाषा–साहित्यको संरक्षण, सम्बर्धन तथा विकास गर्ने, जातीय संस्कृतिको जगेर्ना गर्ने, निरक्षर भूटानीहरुलाई साक्षर गराउने, पत्र–पत्रिको प्रकाशन गर्ने र जनजागरण गर्नेजस्ता उद्देश्यहरु राखी हाम्रा केही भाषा-साहित्य प्रेमी सज्जनहरुले नेपाली भाषा परिषद, भूटानको गठन गरे । परिषदले नेपाली साहित्य प्रचार समिति सिलगडीसँग सम्बन्धन गरी भाषा प्रभाकरदेखि ( कक्षा ४) साहित्य अलंकार (बि.ए) सम्मका नेपाली भाषा–साहित्यका अनौपचारिक कक्षा सञ्चालन गरी झण्डै ८००० जति भूटानीहरुलाई शिक्षाको अवसर प्रदान गर्यो । परिषदले कोपिला साहित्यिक पत्रिका र भूटान जागरण खबरपत्रिकाको पनि प्रकाशन गर्यो । भाषा–साहित्यकै सेवा गर्ने क्रममा भूटान गजल मञ्च, नेपाली भाषा उत्थान मञ्च, साहित्य साधना अलंकार गुठी, रुवाइ मञ्च, विश्व भूटानी साहित्य संगठन जस्ता साहित्यिक संघ-संस्थाको पनि शरणार्थी क्याम्पमा उदय भएको पाइन्छ ।
पत्र–पत्रिकाको विकास नभई साहित्यको विकास हुन सक्तैन । यस समयमा शरणार्थी क्याम्पहरुबाट प्रकाशित भएका साहित्यिक पत्रिकाहरुमा कोपिला (वार्षिक, सन् १९९७ देखि, सन् २००७ सम्म), स्वर्ण दीपक, भूटानी नवसन्देश, फूलबारी, मानस, एञ्जलस टाइम्स् , मूल्यबोध (वि.सं २०६७, पहिलो अङ्क मात्र) आदि रहेका छन् भने समाचार पत्रिकामा भूटान जागरण र सन्देश (साप्ताहिक) रहेका छन् ।
नेपालमा शरणार्थीका रुपमा प्रवेश गरेपछि भूटानीहरुमा भाषिक जागरण, ज्ञान र चेतनाको विस्तार एवं साहित्यिक सृजनाशीलताको अभिवृद्धि भएको स्पष्ट देख्न सकिन्छ । नेपालको साहित्यिक परिवेश, उच्च शिक्षाको अवसर, नेपाली लेखकहरुसंगको बढ्दो सम्पर्क र आदान–प्रदानले गर्दा भूटानीलाई साहित्य सिर्जनातर्फ क्रियाशील हुन अभिप्रेरित गरेको पाइन्छ । सन् १९९० को दशकमा आएका सिर्जनाहरु विचार, चेतना र शिल्पका दृष्टिले निकै कमजोर देखिए पनि पछिल्लो समयमा आएका सिर्जनाहरु विषय वस्तुको विविधता, वैचारिक पौढता, शिल्पगत विशिष्टताबाट सुशोभित छन् । सन् १९९० पूर्व र त्यस पश्चातको भूटानको नेपाली साहित्यिक इतिहास भनेको कविता-काव्यको इतिहास भन्दा फरक पर्दैन । अन्य विधामा भने थोरै मात्र सिर्जना आएका छन् । कविता-काव्य विधामा यस समयमा शरणार्थी क्याम्पबाट प्रकाशित भएका प्रमुख कृतिहरुमा पशुपति तिम्सिनाको पशुपति कविता संग्रह (सन् २०००), डिल्लीराम शर्माको चट्याङ (गीति कविता २०००), मातृभूमि (महाकाव्य २००१), सरिता (खण्डकाव्य २००३), राधा (महाकाव्य २००३), वसन्त (महाकाव्य २००२) र कस्ता छन् यी कविता ? (कविता संग्रह), प्रतिमान सिवाको डोबहरु (कविता संग्रह वि.सं २०५८), लक्ष्मण रसाइलीको गरिमा खण्काव्य (वि.सं २०६३), टिकारामराई, मणिराम राई र लिला निशाको संयुक्त कविता संग्रह पहिलो पाइला, डम्बर खरेल, नारद खरेल र डम्बर ओस्तीको संयुक्त कविता संग्रह त्रिवेणी, डेन्जोम राई र अन्य दुई भारतीय कविहरुको संयुक्त कवितासंग्रह वास विनाको गाँस (सन् २००४), शिवलाल दाहालको आकाश–गंगामा तरङ्गिएको पानी जहाज (कविता संग्रह सन् २००४) र तुर्सा कविता संग्रह (सन् २०१२) पुरानाघरेको प्रलयाग्निको संघारबाट कवितासंग्रह (सन् २००८), कवि सञ्चमान खालिङको धनेहरु निरन्तर हिँडिरहे ! कविता संग्रह (२००९), कवि वादल थापाको आश्ना कवितासंग्रह (२००८), मणिराम धिमाल दिपीतको अविरल आँशु, कवि शिवलाल दाहालको संपादनमा निस्केको भूटानीहरुको प्रतिनिधि कविता संकलन संझनाका खण्डित आकृतिहरु (२०१०), विदुर कालेको बसाइँ सरेको देश (कविता संग्रह सन् २०१२),आदि हुन् । माथि उल्लिखित कविहरु बाहेक पनि थुप्रै कविहरुले कविता लेखेका छन् । यी कविहरुमा याम थुलुङ, ओमप्रकाश खोरिया, विज्ञान, विप्लव आचार्य, भोलानाथ साप्कोटा, नैनसिंह सारु मगर, रमेश गौतम, टंक बयलकोटी, प्रकाश धमाला, मणि बोक्खिम, गणपति दाहाल, टी.आर रेग्मी, रुपनारायण पोख्रेल, भक्त धिमिरे, सविन शर्मा धिमाल, एल्.बी.रिखाम मंगर, देउकुमार तामाङ्, आदि पर्दछन् ।
वर्तमान समयमा युवा पुस्ता गजल र रुबाइ लेखनमा प्रवृत भएको देखिन्छ । छोटो र चोटिलो अभिव्यक्तिका रुपमा गजल र रुबाइले युवावर्गको मन आकृष्ट गरिरहेको छ । यस समयमा गजल र रुबाइका कृतिहरुमा याम थुलुङ्को आँसुका थोपाहरु (सन् २००३) र अरक्षित यात्रा (२०६२), कृष्णदास भण्डारी चौसठ्ठी चोक (२०६२) राजु सुब्बाको छालहरु (२०६३), ममता राई (मोक्तान)को वेदना (२०६३), केशव आचार्यको परिवर्तनका छालहरु, प्रेम मैनाली “चिन्तन”को विद्रोहको आवाज (२०६४), टंक वयलकोटीको अनुभूति (२००८), सञ्जु गिरीको चोइटिएको जून (२०१०), दिनेश चामलिङ्को लक्षित पाइलाहरु (वि.सं २०६८), प्रवासी कृष्ण घायलको जून नउदाएको रात (रुबाई संग्रह,२००८),अशोक राईको अन्तिम पत्र (रुबाइकाव्य) र उनकै संपादनमा निस्केको शव्द अस्त्र (रुबाई संग्रह २०११) आदि हुन् । गजल र रुबाइ लेख्नेको जमात निर्वासित भूटानीहरुमा निकै ठूलो रहेको छ । यसबाट युवा पिडीको भाषा, साहित्य र सिर्जनाप्रतिको मोह निसन्देह झल्किन्छ । कविता इतरका विधामा भने खासै प्रगति हुन सकेको देखिँदैन । कविता जुन रुपमा लेखिरहेका छन् त्यही रुपमा कथा, निबन्ध, उपन्यास, नाटक आदि लेखिएको छैन । उपन्यासका एक दुईवटा कृति प्रकाशित भएका छन् तर निबन्ध र नाटकका कृति एउटै पनि छापिएका छैनन् । कथा, निबन्ध र एकाङ्की नाटक लेख्ने परम्परा भूटानको “ड्रक लोसेल” (१९७९) बाट थालनी भएको हो । सन् १९८० को दशकमा लेखिएका गौरीशंकर अधिकारीका “समाज” नाटक र “दन्तेकथा” कथासंग्रह छापिन सकेनन् । ड्रूक लोसेलका विभिन्न अङ्कमा केही कथा र निबन्ध छापिएका छन् । कतिपय ती रचनाहरु ड्रुक्पाभाषीहरुले पनि लेखेका छन् । सन् १९९० पछि प्रकाशित भएका “भूटानी कोपिला”, “भूटानी नव सन्देश” जस्ता पत्र–पत्रिकामा छिटफुट रुपमा देखा परेका कथाबाहेक मणिराम थुलुङको “नफुटेको सत्य कथा” कथासंग्रह र डिल्लीराम शर्माको “परिवर्तनका मोडहरु” मात्र प्रकाशित भएका छन् । यसै सन्दर्भमा नेपाली भाषा परिषद, भूटानले पनि सन् २००३ मा कोपिला कथा अंङ्क निकालेको छ । यद्यपि कथा अङ्कमा प्रकाशित धेरै कथामा कथाको रुप र संरचना भेटिंदैन ।
उपन्यासको सन्दर्भमा चर्चा गर्दा गौरीशंकर अधिकारीको नाम लिनैपर्ने हुन्छ । सन् १९८० को दशकमा “नारी” उपन्यास लेखिएको थियो । यद्यपि यो उपन्यास अझैसम्म पनि अप्रकाशित नै रहेको छ । सन् १९९० पछि हालसम्म जम्मा तीनवटा औपन्यासिक कृति प्रकाशित भएका छन् । ती उपन्यासमा इन्द्र खवासको “आमाको गुनासो” (१९९५), विजय राईको “ऐनाभित्र” (२००१) र गोपाल लेप्चाको जिन्दगी हुन् ।
यस सन्दर्भमा टेकनाथ रिजालको आत्मसंस्करणात्मक कृति “निर्वासन” पनि उल्लेखनीय छ । यस कृतिमा आस्थाका बन्दी रिजालले भूटानको जेल जीवनमा भोग्नु परेका यातना र निरंकुश राजतन्त्रका मानवता विरोधी व्यवहारको नाग्गो चित्र खिचेका छन् । यस किसिमका रचना नेपालीभाषामा अन्य भूटानी लेखकहरुबाट नआएका हुँदा, यो कृतिले भूटानको सन्दर्भमा लेखनको एउटा नयाँ पाटोको खोजीलाई संकेत गर्दछ ।
शरणार्थी जीवन भनेको सामान्य र सहज जीवन होइन । त्यससंग अनेक समस्या र जटिलता गाँसिएका थिए, छन् । शरणार्थी अवस्थाको अभावग्रस्त, अन्योलपूर्ण र विश्रृंखल जीवनमा साहित्य साधानमा समर्पित हुनुभन्दा पनि जीवनका अन्य आधारभूत आवश्यकता पूरा गर्नेतर्फ लाग्नु परेकोले साहित्यिक विकासमा अवरोध उत्पन्न भइरह्यो । तथापि दुई दर्जन जति कृति प्रकाशनमा आए । यस समयमा पनि कविता-काव्य विधा नै अगाडि आयो । मूलभूतरुपमा यस समयका कविता-काव्यमा देशबाट विस्थापित हुनु पर्दाको पीडा, भटानको निरङ्कुश शासन सत्ताबाट भएका अन्याय,अत्यचार र मानवता विरोधी प्रवृतिको भण्डाफोर, शरणार्थी अवस्थाको कुण्ठित जीवन, उकुसमुकुस, छटपट्टि र निराशा, पराधीन अस्तित्व, देशको सम्झना र माटोको माया, प्रकृतिप्रेम, क्रान्ति,विद्रोह, स्वतन्त्रताप्रति चाहना आदि अभिव्यञ्जित भएको पाइन्छ । शरणार्थी अवस्थाको आरम्भतिर लेखिएका कवितामा भने भाषिक चेतनाको कमी, परिस्कार र कला चेतनाको अभाव स्पष्ट देख्न सकिन्छ । यद्यपि पछिल्लो समयमा आएका कविता अलिक बढी परिस्कृत, प्रतीकात्मक, बिम्बात्मक र स्तरीय छन् । यी कवितामा विषयवस्तुको विबिधता छ । समसामयिक युगचेतना, विश्वचेतना, राष्ट्रिय परिस्थिति, अस्तित्व र परिचयहीनता, अन्योल र अनिश्चितता, सांस्कृतिक रुपान्तरण, यान्त्रिक जीवन, विज्ञान र प्रवृतिले ल्याएको जटिलता, परिवारिक विछोडले जन्माएका पीडा, मातृभूमिको सम्झना, अतीतको याद, प्रेम र रोमान्टिकता, स्वतन्त्रताकोप्रतिको अभीष्ट, आदि वर्तमान समयमा लेखिदै गरेका कवितात्मक संवेदना र चिन्तन हुन् ।
अबको बाटोः विद्धुतीय साहित्य
सत्रवर्षको शरणार्थी जीवनको एउटा युगलाई अन्त्य गर्दै, तेस्रो देश पुनर्स्थापना कार्यक्रमले निवार्सित भूटानीहरुको जीवनमा अर्को एउटा तरङ्ग ल्याइदिएको छ । जहाँ हिजोको सामाजिक-सांकृतिक संरचना र भौगोलिक सामीप्यता मात्रै होइन समग्र जीवन भोगाइ, मान्यता, चिन्तन, आवश्यकता र वस्तुस्थितिमा समेत परिवर्तनको ठूलो भुइचालो गएको छ । समयको यो जटिल मोडमा साहित्यिक गतिविधि अवरुद्ध हुन नदिन साइबरको सहारा लिइयो । सन् २००९ मा स्थापित हुन पुगेको भूट्निज लिटिरेचर डटकम (bhutaneseliterature.com) ले निवार्सित भूटानीहरुको साहित्यिक गतिविधिलाई एउटा मञ्च प्रदान गर्दै छापाखानाको युगबाट पार हुँदै विद्धुतीय दुनियामा प्रविष्ट गरायो । हिजोको नेपाली साहित्य परिषद, भूटान(नेपाली भाषा परिषदबाट सन् २००४ मा रुपान्तरित) परिवर्तित समयमा रुमान्तरित भएर सन् २०१०बाट भूटान साहित्य परिषद बन्न पुग्यो । अबको साहित्यिक बाटो विद्धुतीय हुन बाहेक अरु विकल्प पनि रहेन । भूट्निजलिटिरेचर डटकमले चार वर्षको अवधिमा विभिन्न विधाका झण्डै १३०० रचना आरकायीब (विद्धुतीय अभिलेखीकरण) गरिसकेको छ । अघिल्लो दुई दशकको साहित्यिक यात्रालाई रचनाको संख्यात्मक हिसावले मात्रै होइन, गुणात्मक हिसावले पनि विद्धुतीय साहित्यले निकै पछि पारिसकेको छ । एक हिसावले कवितालाई मात्रै अंगालेर हिँडिरहेको साहित्यले अब कथा, संस्मरण, समालोचना र विश्लेषणतर्फ पनि प्रविष्ट गरेको यस वेवसाइटमा छापिएका रचनाहरुले संकेत गर्दछन् ।
उपसंहारः
नेपालीभाषीहरुको झण्डै ४०० वर्ष पुरानो इतिहास बोकेको भूटान भाषा–साहित्यको विकासमा भने निकै पछि परेको कुरा माथिको विश्लेषणबाट स्पष्ट हुन आउँदछ । सन् १९७० को दशकबाट मात्रै भूटानमा साहित्यिक चहलपहल शुरु भएको हो । साहित्यिक गतिविधि बढ्न थालेको २० वर्ष नबित्तै भूटानमा नेपाली भाषीहरुको दुर्दिनको शुरुवात भयो र नेपालीभाषाको विकासमा सदाका लागि अंकुश लाग्यो । कुनै समय पाठ्यक्रममा समावेश भएको अनि सरकारी कामकाजको भाषा समेत रहेको नेपालीभाषा भूटानमा आज गाउँ–घरमा बोलीचालीको भाषाका रुपमा मात्र सिमित हुन पुग्नु विडम्बना हो । निर्वासित अवस्थामा भने भाषा–साहित्यप्रति जागरुक्ता र चेतना आउन लाग्दा नलाग्दै फेरि तेस्रो देश पुनर्वास क्रार्यक्रमले अर्को एउटा समस्या र चुनौति थपिदिएको छ । यद्यपि नेपाल बसाइका यी २० वर्षे दिनहरु साहित्यिक विकासका लागि कोसेढुङ्गा साबित भएका छन् । यस समयमा भूटानी नेपाली साहित्यले ठूलै फड्को मारेको छ । इतिहासको कुनै कालखण्डमा नेपाल भूमिबाट भूटान पसेको नेपाली भाषीहरुको एउटा झुण्ड कालान्तरमा त्यस देशको निरङ्कुस शासन सत्ताबाट प्रताडित र उपेक्षित भई पूर्खाको भूमीमै एक चोटि शरण लिन आइपुगेर त्यहीदेशलाई पारवहन बनाउँदै अहिले विश्वका विभिन्न मुलुकमा गाँस र बासको खोजी गर्न हिँडिरहेको छ । यो अन्त्यहीन बसाइँ सराइसँग हाम्रो पहिचान र अस्तित्वको मूल्य अन्तर्गर्भित छ । यो बसाइँसरइमा विगत ६० वर्षदेखिको भूटानीहरुको स्वतन्त्रता र न्यायको लडाइँ सौदाबाजी भएको छ । अब भिन्न संस्कृति भएका मुलुकहरुमा पुनस्र्थापित भूटानीहरुलाई आफ्नो भाषा–साहित्य र संस्कृतिको संरक्षण गर्न ठूलै चुनौति आइलागेको छ । भूटानको भूगोलभन्दा धेरै टाढा रहेर लेखिइरहेको आजको भूटानी साहित्य साइबरको सहारा लिँदै आफ्नो छुट्टै पहिचान र आकार खोज्दै देशदुनियामा भौतारिइरहेको छ । यस्तो यायावरीय साहित्यको समग्र नेपाली वाङ्मयमा के मूल्य होला ? यही प्रश्नले अहिले वहस र छलफल माग गरिरहेको छ ।
अस्तुः-
सन्दर्भ सामाग्रीः
अधिकारी, हरिप्रसाद (सम्पा) अमर भूटान (सन् १९९३)
ढुङ्गेल, विपिनदेवः ज्ञान विज्ञानको दिशा
दाहाल, शिवलालः सम्झनाका खण्डित आकृतहरु (कविता संग्रह वि.सं २०६७)
……………….. ः भूटानी नेपाली लोक साहित्यको एक चित्र ( अप्रकाशित लेख )
……………….. ः भूटानमा नेपाली साहित्य (वि.सं २०६७)
भट्टराई, गोविन्दराजः मुगलान
सुचना प्रसारण विभागः प्राचीन अर्वाचीन भूटान–नेपाल मैत्री सम्बन्ध, ड्रुक लोसेल अङ्क २–३,(१९८२)
कमलपोखरी, काठमाडौँ
२८ पुस २०६९
साह्रै राम्रो कुरा ! खुशी लाग्यो, तर कति प्राय नयाँ पुस्तकहरु पनि निस्केका छन वर्तमान समयमा जुन कुराको उलेख गरिएको छैन ! जानकारी नभएर पो हो कि ?