भो ! नउठा
बाबाको बानी राम्रो थिएन । मेलापात र घरको सबै काम आमाले गर्नुप¥थ्यो । हामी सानै भए पनि आमाको दुःख देखेर म मनमनै संधै पिरोलिन्थें । मैले नसक्ने कामहरू पनि गर्न खोज्दा कहिले आफै घाइते पनि हुन्थें, कहिले उल्टै आमाको गाली र थप्पड खान्थें । भाइ झन् सानो थियो । काम संगसंगै भाइको स्याहारमा पनि आमाले व्यस्त हुनु पर्थ्यो । भोकले र आमाको तिर्सनाले भाइ रोइरहन्थ्यो । म उसलाई फुल्याउन खोज्थें, सकि नसकी बोकेर घुमाउँथे । एकपल्ट यसै गरि काखीमा बोकेर डुलाउन खोज्दा भाइ र म दुवै जना कान्लाबाट ढुन्मुनियौं । भाइलाई त बाहिरी चोट केही देखिएन, मेरो भने देब्रे, कुइनो नराम्रंो गरि पिल्सियो । त्यो घटना आमा नभएको बेलाको थियो, भाइ पनि डरले हो कि मेरो मायाले हो, पटक्कै रोएन । कत्ति दिन सम्म मैले त्यो घाउ थोत्रे बाउलाले छोपिरहें ।
बाबा प्रायः सधै नै रक्सी खाने र मातेर आमासँग झगडा गर्ने गर्नु हुन्थ्यो । अर्काको घर बनाउने काममा जान्छु भने पनि प्रायः आमा बाबाको झगडामा आम्दानी नल्याएकै कुरा हुन्थे । बाबाले आमालाई पिट्न थाले पछि म चाहिं भाइलाई लिएर घरको कुना तिर लुक्न जान्थें । भाइ पनि डरले मेरो छातीमा लुपुक्क टांसिन्थ्यो । भरेसम्म नै जीउ लगलग कामिरहेको हुन्थ्यो । बाबाले जति कुटे पनि आमा ‘सुँक–सुँक’ मात्र गरिरहनु हुन्थ्यो ।
दशै तिहारका बेलामा त झन् धेरै झगडा हुन्थ्यो । कत्ति कत्ति दिनसम्म बाबा घरै आउनु हुन्न थियो । बाबा घर नआएको कुराले आमा नराम्ररी पिरोलिनु हुन्थ्यो । रिसाएरै भए पनि आमाले बाबाको ‘माया’ गरेको जस्तो लाग्थ्यो । एक्लै भुतभूताउनु हुन्थ्यो—
– ‘कता अन्भरिनु पर्दाे रहेछ कुन्नी ! स्वास्नी छोराछोरीको कहिलै खोजीनिति छैन । कस्तो निष्ठूरी मुर्दाेसँग भगवानले जोडी बाँधिदिएछन् कुन्नी !’
– जे पायो तेही खाएर, आफ्नो जीउ बिगारी सके । त्यस्तो राम्रो मान्छे ! अचेल हेर्नै नहुने भइसके ।
– काम नगरे पनि पैसा नकमाए पनि बेलैमा घर त आइदिनु ! आँखिरी सप्पै थोक मैले त गरेकै छु नि ।
एक्लै आमाले बोलिरहेको सुन्दा मन कस्तो कस्तो हुन्थ्यो । म सानै भए पनि बुद्धि जस्तो कुरा पस्न थालेको थियो होला । म केटाकेटी जस्ती हुनै पाइनँ । मेरा उमेरका साथीभाईसँग कहिलै खेल्न रुचि पनि भएन । वास्तवमा मेरा त्यति धेरै साथी पनि भएनन् । साथी भने पनि जे भने पनि त्यही म भन्दा सात वर्ष कान्छो भाइ हुन्थ्यो मसँग सधै । यो भाइ भन्दा माथि अरु दुईटा जन्मेको केही दिन मै मरेका थिए । आमालाई ती वितेका छोराहरूको पनि गहिरो पिडा थियो । यो सानो भाइ जन्मी सके पछि बाबाले थाहै नपाई आमाले गाउँले स्वयंसेवी दिदीहरूको सहयोगमा ल्याप्रोस्कपी गर्नु भएछ, यो कुरा उहाँले धेरै पछि, मेरो विहे भइसके पछि बताउनु भएको थियो । भन्नु हुन्थ्यो—
– ‘तेरा बाबुलाई केहीको जिम्वेदारी थिएन । जे भा पनि मैले एक्लै खप्नु पर्ने अनि के गर्नु त ?’
तर एकदिन एकदम नै नराम्रो खवर आयो घरमा । काममा गएका बाबा, डोकोमा इँटा बोकेर कच्ची सिंढीबाट माथि चढ्दा चढ्दै डोकैसँग तल झर्नु भएछ । तलको ढुङ्गा र रोडामाथि आफैंले बोकेको इँटाले समेत थिचिएर ठाउँको ठाउँमै बित्नु भएछ ।
सोच्दै नसोचेको त्यो घटनाले हामी माथि ठूलो आपत्ति आयो ।
विस्तारै हामीले यस घटनालाई खप्दै गयौं । बाबाको घरमा ठूलै आर्थिक टेवा नभएकाले उहाँको अनुपस्थितिले आमालाई थप मार खासै परेन । सधैकै सरह काम गरिरहनु भयो, तर जस्तै भए पनि बाबु भएको, लोग्ने भएको, घरको अर्थ अर्कै हुँदो रहेछ । बाबा बिते पछि र म पनि हुकिंदै गएपछि बुझ्दै गएँ, आमालाई हामी भुरासँग मात्र रात बिताउनु गारो रहेछ । मातेका बाबाका साथीहरू अनेक बाहना गरेर राति आउने र आंगनमा के–के भनेर कराइरहने । कोही बाबाले खाएको रिन तिर् भन्ने, कोही आफूसँग विहे गर् भन्ने ।
स्कूल पढ्न पाउने त कुरै थिएन । तर हामी आमाछोरीले मिलेर भाइलाई भने स्कूल पठायौं । स्कूलमा शुल्क त लाग्दैनथ्यो, तर खाता किताव र लुगा किन्न पैसा नहुने । जेभा पनि हाम्रो सानो भाइ चिटिक्क भएर स्कूल जान थालेको उसलाई परसम्म पुगेको हेरेर मन कत्ति खुशी हुन्थ्यो ।
हामी हुर्किदै गयौं । भाइले पनि मलाई सारै माया ग¥थ्यो । उसले मान पनि ग¥थ्यो । ऊ भन्दा सात वर्ष जेठी भएकाले होला उसले कहिलै ‘तँ, तिमी’ भन्नै जानेन । उसले स्कूलमा सिकेका कुराहरू मलाई सिकाउँथ्यो । उसैबाट मैले पनि साधारण लेखपढ गर्न सिकें ।
थाहै नपाइ म ठूली भइछु । आफूलाई पनि त्यस्तै लाग्न थाल्यो । एकदिन आमाले कस्तो कस्तो अनुहार बनाएर भन्नु भो—
– ‘हेर नानी ! मायाले थाम्दैन । संसारको चलन हो । तँ अब ठूली भइस् । हाम्रो दुःख संधै यस्तै हो । म तँलाई सधै यसरी आफूसँग राख्न सक्दिन । तँलाई माग्न आएका छन् । तँ केही नभन्– अब विहे गर्नु पर्छ । सोर वर्ष भनेको कम होइन । मेरो त एघार वर्षमै भएको थियो । तेरो बिहे भयो भने म र भाइलाई पनि ज्वाइँ सम्धी सम्धीनीको टेवा हुन्छ, हामीलाई हेप्नेहरू पनि डराउँछन् ।’
म केही बोलिनँ । मेरो मनमा ‘हुन्छ–हुँदैन’ केही आएन । नभन्दै त्यही वर्ष छिमेकी गाउँको म भन्दा झन्डै दश वर्ष जेठो, अघिल्ली स्वास्नी मरेकीको लोग्ने सँग विहे भयो । मेरो रोजाइ र छनौट केही थिएन ।
मेरो विहे पछि घरको कामको भार भाइको काँधमा थपियो । त्यसो त ऊ पहिला पनि मसँग सँगै काम ग¥थ्यो । उसले सधै मलाई सघाउँथ्यो । तर अब त पूरै जिम्मा थियो उसलाई । स्कूल र घरको दोहोरो बोझ थियो उसलाई । यता आमामा एउटा नयाँ खाले रोग थपिएको थियो । त्यो कुरा भाइलाई थाह थिएन । आमालाई महिनै पिच्छे अत्यधिक रगत जान थालेको थियो । पहिला जस्तो केही पनि गर्न सक्नु हुन्न थियो । तर मलाई अचम्म लाग्छ, हाम्रो भाइ कसरी यति ज्ञानी भयो होला ! ऊ बाबाको ठीक विपरित थियो, नरिसाउने, नझर्किने, झगडा नगर्ने । जे होस् उसले आमालाई सकेसम्म सहयोग गरिरहेको थियो ।
मेरो विहे भएको पाँच वर्ष भइसक्दा पनि म भर्खर एक्काइस वर्षकी मात्र भएकी थिएँ तर घर परिवार र गाउँमा भने मेरो संतान नभएकामा चर्चा चल्न थालेको थियो । म छक्क पर्थे । अहिलेसम्म पनि त मेरो विहे नभएको हुन सक्थ्यो । भर्खरै त मेरो विहे गर्ने उमेर हुँदै थियो– तर कति चाँडो सन्तान चाहिएको यिनीहरूलाई ।
त्यो वर्षको तीजमा आमाले एकदुई दिन पहिलै आइज न ! भनेर बोलाउनु भएको थियो तर यता सासू विरामी, लोग्ने विदेश र देउरानी दुईजीउकी भएकाले मलाई दुई दिन बस्ने गरी आउन फुर्सद मिल्ला जस्तो लागेको थिएन । तर भाइले मेरी सासूलाई आमाको कुरा सुनाउँदै ‘आमा पनि थलिनु भएको छ’ भने पछि सासूले गहभरि आँसु पारेर भन्नु भो–
– ‘हुन्छ गीते ! तँ जा । एकदुई दिन बसेर आइज । आमाको मन राखिदे । म पनि आमा हुँ । मेरी छोरी पनि नमरेकी भए तँ जत्रै हुन्थी । त्यो कत्ति फस्र्याइली थिई, ज्ञानी थिई, तँ जस्तै । मलाई के भाको छ र ? एकदुई दिन त पकाएर खान सकि हालिन्छ । कान्छीलाई पनि लिन आए भने पठाइदिन्छु ।’
त्यो दिन मैले सासुलाई ‘आमा’ जस्तै देखें । मेरा आँखा भरिएर आए । संसारै झललल भए झैं लाग्यो । सासूका गोडा ढोगेर बाटो लागें । भाइ नौ कक्षाको विद्यार्थी थियो उसले पढाइ छोडेको थिएन तर कक्षामा ऊ अरु भन्दा धेरै तेज हुन नसकेको गुनासो ग¥थ्यो । घरको कामले गर्दा पढ्न नपाएको पिडा थियो उसलाई ।
तीजको राति दर खाने चलन । भोलि पल्ट ब्रत लिनु पर्ने हुनाले राति टन्न खाएर अर्काे दिन निराहार बस्नु पर्ने । तीजका लागि खासै केही बन्दोबस्त रहेनछ । आमाले भन्नु भो—
– ‘तेरो मुख मात्र हेर्न बोलाएकी नानी । खासै केही खानेकुराको जोहो गर्न सकेको छैन । भाइले अलिकति घ्यू, धानको चामल, काक्रो, चिनी र आलु ल्याएको छ । भन्थ्यो– थोरै भए पनि दिदीलाई अघाउने गरी ख्वाउनु ।’
– ‘खै त भाई ?’ ऊ त्यो राति घरमा थिएन ।
– ‘ऊ त मतानमा गएको छ । खसी छन् दुईटा । दशैंको मुखमा चोर्लान भनेर राति उतै जान्छ सुत्न ।’
– ‘जति भए पनि त बाँडेर खानु हुन्थ्यो । त्यसलाई राति आउनु है भनेको भा हुन्थ्यो नि आमा ! भाइलाई नख्वाई मैले मात्र के खानु ? उसले उहाँसम्म पुगेर मलाई लिएर आएको छ ।’
मैले भनें– ‘आमा म भाइलाई बोलाउँ ?’ आमा केही बोल्नु भएन । मैले भाइलाई बोलाउन ढोका खोलेर बाहिर निस्कें । अँध्यारोमा कालो थुप्रो जस्तो केही देखेँ आटमा बसेको । तर्से झैं भएर बोलें– ‘को हो !’
विस्तारै आवाज आयो – ‘दिदी ! म हुँ ।’
भाइ पो बसेको रहेछ अघिदेखि नै अँध्यारोमा एक्लै धुमधुम्ती । उसैले भन्यो– ‘ सुत्न खोजेको निन्द्रा लागेन अनि…………………।’ उसले कुरा पुरा गर्नै सकेन ।
मेरो भने उसलाई त्यहाँ त्यसरी देख्दा जीउ कस्तो लल्याकलुलुक भयो । शरीर भरी पानी भरिए जस्तो लाग्यो । आँखाबाट शरीरको सप्पै पानी बगे झैं लाग्यो । कहाँकहाँ, कहिलेकहिलेदेखि उसप्रति दबिएर बसेको माया एकै चोटी उर्लिएर आयो । सोचेँ – ‘कठैबरी मेरो भाइ ! मैले यो ढोका न खोलेको भए रात भरि यही बसिरहन्थिस् होला नि……!’
त्यहीँ ढिङ्ग उभिएकी उभिएकै भएँ । भित्र आमा बोलिरहनु भएको थियो—
—‘ त्यो मस्त निधाएको होला गीता ! नउठा । भोलि विहान खान्छ, राखिदिनु ।’
dhanyabad, hajur ,very nice ,,,,,,,,,,,,,,,,,,,,,,,,,,
गला अबरुद्ध भयो यो लेख पदिसक्दा