भ्याम्पायर र ड्रेकोलाले खुब सताएकै छन्
टीकाराम राई (आँशु)
खुदुनाबारी
लाग्थ्यो संसार निकै ठूलो छ
तर अब त सानो भइसक्यो !
सानो घरको सुखी परिवार झैंँ
मिलिजुली बाँच्नु पर्नेमा
आज डार्बिनको सिद्धान्त रे,
बाँच्नलाई संघर्ष’मा झैं
शक्तिशालीले मात्र बाँच्न पाउने भयो
सायद यो विज्ञानले दिएको ऊर्जा हो,
या मानवीय स्वर्थ र दम्भ
मान्छे-मान्छे बीचमा खैलावैला छ
जहाँ पनि भिडन्त छ !
साँगुरो खोरका उन्मत्त साँढे झैं
कसैको ज्यान लिनु छ,
कसैले ज्यान दिनु छ
यहाँ न्याय कसले दिने ?
यहाँ न्याय किन खोज्ने !
यहाँ त मात्र हल्ला छ
यहाँ हल्ला मात्र छ-
यो त्रस्त- त्रस्त समय
गोली पड़्केको छ,
मान्छेको ढाड कुल्चिएको छ गरप-गरप
सिपाहीका बुटहरूले !
एक थरी जीतको उत्सव मनाइरहेछन्
अर्को थरी ढलिरहेछन् बगरमा
देश खोज्दै !
झण्डा खोज्दै-
माटो सुँघ्दै !
यतिखेर,
भ्याम्पायर र ड्रेकोलाले खुब सताएकै छन्
हामीलाई
यस दुनियामा-
लाग्थ्यो संसार निकै ठूलो छ
तर अब त सानो भइसक्यो !