मातृभूमिमा पुर्खा

के सी सान्दाइ
साउथ अस्ट्रेलिया

उत्तर हिमाल शिखर उच्चा पहरा दिएका
दक्षिण भारत तराई बिच भूटानी रोएका ।
पसिना रगत बगाई पुर्खा बनेथे स्वदेशी
खोजेर गढी लाल किल्ला बाँधी हटाए विदेशी।।

ती अग्ला हिमाल पवित्र हावा स्वर्गको आभास
स्वदेश आफ्नो सम्झेर पनि त्यो रैछ प्रवास ।
हिमालमा डाँफे मुनाल रुन्थे मुहार हेरेर
प्रवासी हामी बिछोड हुने भविष्य देखेर ।।

नेपाली मूलका भुटानी कठै! श्रद्धा र भक्तिले
भुटान सुन्दर बनाए त्यहाँ पुर्खाकै शक्तिले ।
त्यो शैल शिखर भुटान भित्र रगत छ पुर्खाको
बनाई गुम्बा,मस्जिद, मन्दिर संस्कृति हुर्काएको।।

त्यो घना जङ्गल पहाड फोर्ने बहादुर प्रसाद
विकास गर्ने नेपाली होइन भन्दैन रगत ।
नखाई मरे निर्माण कालमा भन्ज्याङमा चिहान
त्यै रगत त्यहाँ खोज्दथ्यो रुँदै सुनौलो बिहान ।।

विकास गर्ने हेतुले ठुला पहरा फुटाए
तीन मोहर ज्याला थापेर बरा! परिश्रम जुटाए।
थिएन बक्खु न डिग्लाम नाम्जा दौरा र धोतीमा
त्यो लेक बेँसी कन्दरा पाखा चम्काए ज्योतिमा।।

विश्वलाई दङ्ग गराई देशमा विकासको गठन
तराई हिमाल यातायात खोली बनाए जापान।
त्यो स्वास्थ्य चौकी विद्यार्थी भवन प्रचार प्रसार
रगतले ठुला सायनबोड लेखि झुन्ड्याए हजार।।

तराई देखि हिमाल बिचका उकाली ओराली
द्यौराली भन्ज्याङ छहरा नाग्दै खेलेर जुवारी।
दौराको फेरमा बोकेर सातु गोगुने पाखैमा
बनाए देश सुन्दर शान्त बुद्धको काखैमा ।।

हिम्मतले त्यहाँ फरुवा हान्न गरेनन् अलमल
औँसी झैँ कालो त्यो भूमिलाई बनाए झलमल।
सर्वत्र विकास गरेर देश मनोहर बनाए
यो मातृभूमि हाम्रै हो भन्दै विश्वलाई चिनाए ।।

ती परिश्रमी पुर्खा थिए कठै! भूटानी निर्माता
आहुति जीवन दिएर मरे डोर्‍याई प्रभात ।
विश्वले पनि भुल्दैन त्यस्तो पुर्खाको शक्तिलाई
सम्झेर आँसु नझार्ने कोछ पुर्खाको भक्तिलाई ।।

रचना काल सन् १९९१

Leave a Reply

Your email address will not be published. Required fields are marked *